भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै, प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो दिने
काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन् । दुई दिने नेपाल भ्रमणको क्रममा उनी सोमबार काठमाडौं आउन लागेका हुन् ।
नेपाली समकक्षी भरतराज पौडेलको निमन्त्रणामा उनी काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रचण्ड नेतृत्वको सरकार गठन भएसँगै अमेरिका, भारतलगायतका देशको उच्च अधिकारीको नेपाल भ्रमण बाक्लिको एछ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सचिव पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने उल्लेख छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायत राजनीति दलका नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ । .
विदेश सचिव हुनुअघि उनी नेपालमै राजदूत थिए । प्रचण्ड प्रधानमन्त्री भएपछि भारतबाट भएको यो औपचारिक उच्चस्तरीय भ्रमण हो । यो भ्रमणका बेला क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निम्तोसमेत दिने बताइएको छ ।