संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति संसद भवनमा (तस्बिरहरू) – Nepal Press

संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति संसद भवनमा (तस्बिरहरू)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले केहीबेरमा संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन् । त्यसका लागि उनी संसद भवन पुगेकी छन् ।

नेपालको संविधानको धारा ९५ बमोजिम तीन बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बोलाइएको हो ।

राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् ।

यस्तै राष्ट्रपति भण्डारीले शनिबार अपराह्न ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर