रवि दाइलाई खुलापत्र- तपाईंलाई युवाहरूको आशामाथि खेलवाड गर्ने छुट छैन
प्रिय रवि दाइ,
सर्वप्रथम त ढिला गरी यो पत्र लेखेकोमा माफी माग्छु । हजुरको पत्रकार सम्मेलनको प्रतिक्रिया कुरेरमात्रै यो लेख लेख्ने भन्ने किञ्चित नसोची दिनुहोला । आफ्नै दैनिकीको व्यस्तताले गर्दा केही ढिला हुन गएकोमात्र हो । आज छुट्टीको दिन अनि शहरबाट टाढा रहँदा यो लेख नलेखी बस्न सकिनँ । हजुरको पत्रकार सम्मेलनको पूरै भिडियो हेरेपछि हजुरको प्रशंसा र आलोचना दुवै नगरी बस्नै सकिएन ।
हजुरको पत्रकार सम्मेलनको विषयमा पहिले सकारात्मक पक्षबाट सुरु गरौं । हजुरले पत्रकार सम्मेलनमा धेरै समय आलोचनामा बिताउनुभयो । तर, राजनीतिलाई सकारात्मक दिशानिर्देश आजको आवश्यकता हो भन्ने मान्यता राख्ने हुँदा म हजुरको आलोचनाभन्दा पहिले सकारात्मक पक्षको चर्चा गर्न चाहन्छु । तपाईंको पत्रकार सम्मेलनको सबैभन्दा सकारात्मक पक्ष भनेको नै तपाईंले हाम्रो अहिलेको मनो–सामाजिक चित्रण गर्न सफल हुनुभएको छ । तपाईंले हाम्रो सञ्चार जगतको चित्रण गर्दा हाम्रो समाजमा पछिल्लो समय देखिएको ‘मिडिया ट्रायल’को विकृत चित्रण छर्लङ्ग हुन्छ । तपाईंले भने जस्तो १२ भाइ मिडिया मठाधीशहरुले समाजलाई कतिको आक्रान्त र चन्दा आतंकले ग्रस्त पार्नुभयो उहाँहरुलाई थाहा होला । तर, हाम्रो सञ्चार जगतले पछिल्लो समयमा समाजमात्रै नभएर समग्र राज्य प्रणालीलाई नै आतंकित बनाएको पक्कै हो ।
रवि दाइ, तपाईंमाथि प्रहार भयो भनिरहँदा निकट विगतको दृष्टान्त हेरे पुग्छ, यो देशको राज्य संयन्त्र कति मिडियाबाट प्रभावित हुन्छ भन्ने कुरा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हेरे पुग्छ । प्रधानन्यायाधीश अर्थात यो देशको प्रधानमन्त्रीपछिको सबैभन्दा शक्तिशाली पद र सो पदमा रहेका व्यक्तिको आजको अवस्था के हो भनेर प्रश्न गर्ने हो भने हाम्रो राज्य र सञ्चालन गर्ने कुनै निकायसँग जवाफ छैन । चोलेन्द्र दोषी हुन् वा आरोपी हुन् वा सफाइ पाएका हुन् भन्ने जवाफ दिन नसक्नुमा सबैभन्दा बढी हात मिडियाको छ । हिजोको दिनमा मिडियाले चोलेन्द्रलाई एकदमै ठूलो खलनायक झैं प्रस्तुत गरे । तर, प्रमाणित रूपमा न्याय निरुपणतर्फ कोही लागेन ।
सञ्चार जगतले पछिल्लो दशकमा स्थापित गर्दै गएको ‘मिडिया ट्रायल’लाई खुला चुनौती दिनुभएकोमा साधुवाद भन्नै पर्छ रवि दाइ ।
क्षणिक राजनीतिक लाभको उद्देश्यले नेपालका दुई मुख्य दलले न्याय निरुपणभन्दा पनि मिडियाको धारणाकै आधारमा दाउपेच खेलिरहे । फेरि यसो भनिरहँदा चोलेन्द्र निर्दोष छन् भन्न खोजिएको हैन । तर, निजलाई लागेको आरोपको निर्क्योल के नेपालको मूलधारको मिडियाको सम्पादकीय र बारको आन्दोलनमात्रै हो ? समग्र प्रणालीमाथि प्रश्न बनेर खडा भएको यत्रो ठूलो प्रकरण त ‘मिडिया ट्रायल’को सन्त्रासले निचोडमा पुग्न सकेन भने अन्य विषयहरुमा मिडियाको बलमिचाइ के कसो भयो होला भनेर केवल कल्पनामात्रै गर्न सकिन्छ । सञ्चार जगतले पछिल्लो दशकमा स्थापित गर्दै गएको ‘मिडिया ट्रायल’लाई खुला चुनौती दिनुभएकोमा साधुवाद भन्नै पर्छ रवि दाइ ।
रवि दाइ,
हाम्रो ‘मिडिया ट्रायल’लाई नांगेझार पार्नुभएकोमा जति खुशी लाग्यो उति नै प्रश्न हजुरप्रति तेर्सिनु जायज छ । हिजोको दिनमा सञ्चार कर्ममा हुँदा तपाईं स्वयंले पनि यही ‘मिडिया ट्रायल’को बाटो समात्नुभएको हैन र ? हिजो हजुर स्वयं नै छानबिन गर्ने निकाय अनि न्यायाधीश र सजाय कार्यान्वयन गर्ने अधिकारी बन्नुभएको हैन र ? हिजोको दिनमा हजुरले ‘मिडिया ट्रायल’ गर्दा कुनै निर्दोष व्यक्ति तपाईंले भने झैं बलिको बोका बन्यो कि नाइँ ? यो प्रश्नको उत्तर छ त हजुरसँग ! नेतृत्व गर्छु भनेर अगाडि आइसकेपछि केवल प्रश्नमात्रै सोधेर पन्छिन पाइन्न, जवाफ र उचित समाधानसहित आउनुपर्छ ।
जवाफदेहिताको लागि मैले उठाएको प्रश्नभन्दा अझ गम्भीर विषयवस्तु अर्को छ । तपाईंले पत्रकार सम्मेलनमा एउटा भाष्य जबरजस्त रूपमा स्थापित गर्न खोजेको देखें । अमेरिकी नागरिकता परित्याग गर्नु र नेपाल फर्किनु ठूलो कुरा हो । अमेरिकी नागरिकता त्याग्नु भनेकै ठूलो त्याग र समर्पण हो भन्ने भाष्य कुनै पनि हालतमा एउटा नेताको चिन्तन र दृष्टिकोण हुन्छ भनेर म मान्न तयार छैन । सायद हजुरको साथ-संगतमा अमेरिकी विलासी जीवनमा सफलतम तर, यो देशप्रति माया नमरेका नेपालीहरु थिएनन् र अमेरिकी नागरिकता ठूलो कुरा भयो होला । नत्र एक पटक नेकपा एमाले र नेपाली कांग्रेसमा रहेका थुप्रै विद्वान नेता गणहरुले अमेरिकी र बेलायती जागिर लामो समय खाए । तर, यो देशप्रतिको माया र माटोको लगावले सधैं वर्किङ भिसामै काम गरे । पीआर र नागरिकताको पछि लागेनन् । मेरो यो तर्कसँग सहमत हुन नसके एक पटक डा. सुरेश तिवारी र डा. स्वर्णिम वाग्लेहरुलाई भेट्नुहोला ।
सुसंस्कृत राजनीतिको वकालत गर्ने उज्ज्वल थापाले रोपेको बिजबाट अंकुराउनु भएको तपाईंले माफी माग्दै प्रयोग गरेको भए पनि त्यति तल ओर्लिएर केवल हिलो छ्याप्ने तर, प्रमाण पेश नगर्ने व्यवहार हामीले खोजेको वैकल्पिक राजनीति होइन, रवि दाइ ।
अमेरिकी नागरिकता ठूलो कुरो हो भन्ने भाष्य हजुरकै चुनावी भाषणभन्दा ठीक उल्टो छ । विदेशमा रहेका नेपालीहरुलाई नेपाल फर्काउने छु भनेर चर्को भाषण गरिरहँदा पनि के हजुरलाई अमेरिकी नागरिकता ठूलै कुरा हो भन्ने लगिरहेको थियो मनमा ? यति कमजोर मन र चिन्तनले यो राज्य भोलिको दिनमा त दक्षिण वा उत्तरको हातमा दिँदा जीवन सहज हुन्छ भन्ने भाष्य स्थापित नगर्ला भनेर कसरी भन्ने दाइ ? हेक्का राख्नुहोला, म जस्ता थुप्रै युवाहरुले यही माटोमा आफ्नो भविष्य खोज्ने हिम्मत र आँट राखेका छौं र हामीहरु हिजो र आजको दिनमा अमेरिका जान नपाएर वा नसकेर यहाँ संघर्षरत होइनौं ।
रबि दाइ,
हजुरको पत्रकार सम्मेलनको अर्को पाटो जुनै साह्रै दुःखलाग्दो छ । तपाईं वैकल्पिक राजनीतिको राग अलाप्दै राजनीतिमा होमिनु त भयो । तर, त्यही राजनीतिक चिन्तनको बिजारोपण गर्ने स्वर्गीय उज्ज्वल दाइको गालामा झापड हो । उज्ज्वल थापाहरुको प्रयोग तत्कालीन राजनीतिमा देखिएको कुसंस्कारमाथिको प्रहार थियो । सत्तालिप्सा र सबै लज्जा गुमाइसकेको राजनीतिक भाष्यमाथिको प्रहार थियो । मैले उज्ज्वल थापासँग लामो सहकार्य गर्न पाइनँ । तर, जति पनि भेटघाट भए, ती सबैमा उहाँले सुसंस्कृत राजनीतिका व्यवहार र सत्तालिप्साबाट मुक्त चिन्तनकै कुरा गर्नुहुन्थ्यो । तर, तपाईंको पत्रकार सम्मेलन यथार्थभन्दा पनि गृह मन्त्रालय गएको झोक हो भन्ने तपाईं स्वयंले बारम्बार स्वीकार गरेको देखिन्छ । सुसंस्कृत राजनीतिको वकालत गर्ने उज्ज्वल थापाले रोपेको बिजबाट अंकुराउनु भएको तपाईंले माफी माग्दै प्रयोग गरेको भए पनि त्यति तल ओर्लिएर केवल हिलो छ्याप्ने तर, प्रमाण पेश नगर्ने व्यवहार हामीले खोजेको वैकल्पिक राजनीति होइन, रवि दाइ ।
र, अन्तमा रवि दाइ, तपाईं हिजो कसैले मेहनत गरेको वैकल्पिक राजनीतिको परिकल्पनामा उदाउनु भएको नक्षत्र हो । तसर्थ, आफ्नो निजी कमी-कमजोरीलाई सार्वजनिक बहसको विषय बन्नबाट जोगाउनुस् । यदि भाष्य कमजोर छ भने अरु कसैलाई कुरा राख्न लगाए पनि हुन्छ । तपाईंको आगमनले केवल राष्ट्रिय स्वतन्त्र पार्टीमात्र नभएर समग्र राजनीतिमा नयाँ आशा जागेको छ । पुराना राजनीतिक शक्तिहरुमा समेत पुस्तान्तरणको भाष्य स्थापित हुन पुगेको छ । सीमित शहरमै सही राजनीतिमा ल्याट्रल इन्टीको आशा जागेको छ । यो आशाले भोलिको दिनमा राजनीतिलाई पेशाभन्दा पनि सफल व्यवसायिक व्यक्तिहरुको प्रवेशले सामाजिक सेवा नै बनाउनेछ । त्यसैले रवि दाइ पुराना राजनीतिक भाष्यलाई चुनौती दिँदै उदाउनुभएको छ, तपाईंलाई पुरातन शैली नै अपनाउने छुट हुँदैन । हामी जस्तो राजनीतिक उद्देश्य र अभिप्रायः राख्ने युवाहरुले देखेको आशामाथि खेलवाड गर्ने छुट हुँदैन । भविष्यमा तपाईंबाट सभ्य र भव्य राजनीति संस्कार, दर्शन समाज र राष्ट्रले पाओस् ।
(डा. खत्री नेपाल मेडिकल काउन्सिलका सदस्य हुन् ।)