गृह पाए रास्वपा तत्काल सरकारमा फर्किन्छ ? प्रवक्ता भन्छन्- उपचुनावअघि सम्भावना छैन – Nepal Press

गृह पाए रास्वपा तत्काल सरकारमा फर्किन्छ ? प्रवक्ता भन्छन्- उपचुनावअघि सम्भावना छैन

काठमाडौं । एक साताअघि मात्रै मन्त्रीहरू फिर्ता बोलाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउन सत्तारुढ गठवन्धनभित्र पहल भइरहेको छ । आजको संयन्त्र बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले रास्वपा छिट्टै सरकारमा फर्किन सक्ने संकेत गरेका थिए ।

तर, रास्वपा प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकाल भने तत्काल यस्तो सम्भावना नरहेको बताउँछन् । चितवन २ मा उपचुनाव भएपछि मात्रै सरकारमा सहभागिताको विषयमा पुनर्विचार गर्न सकिने उनको भनाइ छ ।

नेपाल प्रेससँग कुरा गर्दै ढकालले फेरि गृहमन्त्रालय पाए सरकारमा जाने विषयमा पार्टीभित्र कुनै छलफल नभएको पनि स्पष्ट पारे ।

‘गृह हामीलाई दिने भनेर प्रस्ताव गरिएको मलाई जानकारी छैन, दिने भए पहिल्यै दिन्थे नि,’ उनले भने, ‘जे भए पनि हामी उपनिर्वाचनअघि सरकारमा फर्किने कुरा छैन ।’

प्रधानमन्त्रीबाट रास्वपालाई फेरि दिने भनेर ठोस प्रस्ताव नआएको पनि डा. ढकाल बताउँछन् । उपनिर्वाचनपछि त्यसबेलाको परिस्थिति हेरेर निर्णय लिने उनले उल्लेख गरे ।

पार्टीका उपसभापति तथा पूर्वमन्त्री डोलप्रसाद अर्याल पनि सरकारमा फेरि सहभागिताको विषयमा पार्टीभित्र छलफल नभएको बताउँछन् ।

‘संयन्त्र बैठकमा सभापतिज्यू आफैंले भाग लिइरहनुभएको छ । आजको बैठकको अपडेट मैले पाइसकेको छैन । तर, हाम्रो पार्टीभित्र चाहीँ सरकारमा फर्किनेबारे कुरै भएको छैन,’ उनले भने ।

परिस्थिति सकारात्मकरूपमा विकास भए सोच्न सकिने भए पनि राष्ट्रपतिको चुनावअघि सम्भावना न्यून रहेको उनी बताउँछन् । संयन्त्र बैठकमा अन्य दलका नेताहरूले रास्वपालाई सरकारमा फर्किन आह्वान गर्नु स्वाभाविक भएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर