वीपीका उपकुलपति गिरीलाई प्रोफेसर ओहदा दिएका कार्कीसँग विशेष अदालतले माग्यो धरौटी
काठमाडौं । नपाएको ओहदा प्रयोग गरेकोमा मतियारका रूपमा अभियुक्त बनाइएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीसँग विशेष अदालतले धरौटी मागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ ९ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र कार्कीलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आइतबार अदालत हाजिर भएका कार्कीविरुद्ध बयानपछि थुनछेक बहस भएको थियो । न्यायाधीशहरू श्रीकान्त पौडेल, यमुना भट्टराई र बलभद्र बास्तोलको इजलासले २५ हजार रूपैयाँ धरौटी मागेको छ ।
गिरीले पाउँदै नपाएको ओहोदा प्रयोग गरेको र कार्की मतियार बनेको दाबी अख्तियारको थियो । कार्कीसँग प्रोफेसर पद दिनका लागि काठमाडौं विश्वविधालयलाई सिफारिससम्म गर्ने अधिकार भएपनि उनले दिएको ओहोदाका आधारमा गिरीले प्रयोग गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ को कसुर गरेको भन्दै गिरीविरुद्ध एक देखि २ वर्षसम्म कैद र ५० हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिबाना सजाय मागदाबी लिइएको छ । सोही ऐनको दफा २२ बमोजिम कार्कीलाई मतियारका रूपमा मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग गरिएको छ ।