यातायात कार्यालयमा ‘मुस्कान सहितको सेवा’ दिन कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन – Nepal Press

यातायात कार्यालयमा ‘मुस्कान सहितको सेवा’ दिन कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले यातायात व्यवस्था तथा सेवा कार्यालयबाट मुस्कानसहितको सेवा दिन निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यकामा रहेका आठ वटा कार्यालयको अर्धवार्षिक समीक्षा कार्यक्रममा मन्त्री श्रेष्ठले जनताले दुःख नपाउनेगरी काममा सहजीकरण गर्न कार्यालय प्रमुखहरु चनाखो हुनुपर्ने भन्दै मुस्कानसहितको सेवा प्रदान गर्न निर्देशन दिएका हुन् ।

यातायात क्षेत्रमा जनताको गुनासो अत्यधिक रहेको भन्दै उनले नियमित काम हुँदा पनि गुनासाहरु किन बढेको भन्नेतर्फ सचेत भएर काम गर्न कर्मचारीहरु चनाखो हुनुपर्ने बताए ।

‘हामीले नियमित जनतालाई सेवा दिइरहेका छौं । तर, हाम्रा कार्यालयहरुमा किन जनगुनासो बढी भए ? यो सोचनीय विषय छ, हामीमा भएका कमजोरीलाई सच्याउँदै लैजानुपर्छ र जनतालाई केन्द्रमा राखेर काम गर्नुको विकल्प छैन’, मन्त्री श्रेष्ठले भने ।

उनले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार र काम नगर्ने कर्मचारीलाई दण्ड दिने तयारी गरिएको बताए । यातायातको क्षेत्रमा आवश्यक प्रदेशका ऐन, कानून, कार्यविधि निर्माणको लागि मन्त्रालय लागिसकेको भन्दै मन्त्री श्रेष्ठले जनताले ट्रायल पास गरेको केही दिनमै ‘स्मार्ट लाईसेन्स’ पाउने तयारी गरिएको उल्लेख गरे ।

यातायात व्यवस्था, सेवा कार्यालयहरु आफ्नै भवन नभएर समस्यामा रहेको, जाँचपासको औजार तथा जनशक्तिहरुको अभावको विषयमा आफू गम्भीर रहेको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले मन्त्रालयले यस्ता विषयलाई विशेष प्राथमिकताको साथ अघि बढाउने बताए ।

यातायात व्यवस्था कार्यालयलाई प्रदेशका सबै जिल्लामा विस्तार गरिने उनको भनजाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर