‘ओलीटिक्स’मै फेल छन् ओलीका युवा-विद्यार्थी कार्यकर्ताहरु !
पलिटिक्स (Politics) शब्दको ‘पी’ (P) हटाएर बन्ने ओलीटिक्स (olitics) नेपालमा चर्चित शब्द बनेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने राजनीतिलाई धेरैले नयाँ शब्द दिएर ओलिटिक्स भन्ने गरेका छन् । शब्दकोषमा कुनै उपस्थिति नभए पनि मास मिडिया र सोसल मिडियामा व्यापक भएको यो शब्द धेरैको जनजिब्रोमै जोडिएको छ । यो ब्लग केपी शर्मा ओली अध्यक्ष रहेको एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको फागुन २ बाट सुरु हुने २३औं महाधिवेशनको सन्दर्भमा लेखिएको हो । यसमा ओलीका युवा-विद्यार्थी कार्यकर्ताहरुले ओलीका जायज पक्षहरु अनुकरण गर्न कसरी असफल छन् भन्ने कोणका केही बुँदागत चर्चा गरिएको छ ।
१. युवा उमेर तर युवा उत्साह छैन
२०७९ भदौ २६ गते ‘कान्तिपुर कन्क्लेभ’ कार्यक्रमको अन्तिम सेसनमा केपी शर्मा ओली हाजिर थिए । कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले ओलीसँग डेढ घण्टाभन्दा बढी समय कुराकानी गरे । ‘नीति, थिति र राजनीति’ शीर्षक सेसनको कुराकानीमा युवाहरुलाई राजनीतिमा ल्याउने कुरामा चौहानले ओलीलाई गज्जब प्रश्न सोधेका थिए । काठमाडौंको मेयर-उपमेयरमा एमालेका उम्मेदवार सेट देखाउँदै ओलीलाई बुढा उम्मेदवार केशव स्थापित तेस्रो भएको र युवा उम्मेदवार सुनिता ढंगोल भारी मतान्तरले विजयी भएको उदाहरण दिँदै युवालाई किन स्थान नदिएको भन्ने चौहानको प्रश्नमा ओलीले सबैतिर त्यस्तो नभएको भन्दै आफ्नै चुनाव क्षेत्र दमकमा आफ्नो उमेर समूहकाले जितेको र आफ्नै पार्टीबाट सुनिता आसपासको उमेरकी उम्मेदवार हारेको उदाहरण दिए ।
त्यसमा उनले अरु थपे, ‘युवा अगाडि बढाउनुपर्छ र कुन कामको प्रकृतिको भन्ने हिसाबले हो । म्याराथन दौडमा युवासँग मैले प्रतिस्पर्धा गर्न जानुहुँदैन । कुस्ती खेल्ने अखडामा मैले युवासँग कम्पिटिसन गर्न जानुहुँदैन । पढाउने ठाउँमा युवाले म १२ पढ्दैछु प्रोफेसर हुन मन लाग्यो भनेर हुँदैन । त्यसका लागि एउटा यात्रा पार गर्नुपर्छ ।’
२००८ साल फागुन ११ मा जन्मेका हजुरबुबा पुस्ताका ओली दिनभर खट्छन् । नयाँ पुराना पुस्तक पढ्छन् । आफ्नो बलबुताले भ्याएका खेलकुद गतिविधिमा सहभागी हुन्छन् । यी कुरा ओलीका युवा-विद्यार्थी नेता तथा कार्यकर्ताहरुमा अभाव छ ।
ओलीले यस्तो भनिरहँदा यो कुरा आफ्नै कार्यकर्तालाई हेरेर भनेको हुनुपर्छ । आफ्नै कार्यकर्ताहरुमा पनि युवा र विद्यार्थीहरुलाई भनेको हुनुपर्छ । आफूसँग आइरहने कार्यकर्ता पंक्तिको क्वालिटी चेक ओलीले गरेरै यसो भनेको हुनुपर्छ । २००८ साल फागुन ११ मा जन्मेका हजुरबुबा पुस्ताका ओली दिनभर खट्छन् । नयाँ पुराना पुस्तक पढ्छन् । आफ्नो बलबुताले भ्याएका खेलकुद गतिविधिमा सहभागी हुन्छन् । यी कुरा ओलीका युवा-विद्यार्थी नेता तथा कार्यकर्ताहरुमा अभाव छ । पढ्ने, लेख्ने, सोच्ने र खेल्ने कुरामा हजुरबुबा पुस्ताका ओली जत्तिकै भर्साटाइल र युवापन उनका युवा-विद्यार्थी कार्यकर्ताहरुमा पाइन्न ।
संसदीय चुनावमा देउवासँग चुनावी डिबेट गर्न तयार भएको भन्ने ओलीकै कार्यकर्ताहरु अनेरास्ववियुको महाधिवेशमा यस्तै आन्तरिक डिबेटको मुद्दा नै ल्याउँदैनन् । फेसबुकदेखि टिकटकसम्मको सामाजिक सञ्जालको प्रयोगमा होस् वा अहिलेका ताजा विश्व परिवेशको तत्तातो अपडेटमा होस्, हजुरबुबा पुस्ताका ओलीका हाराहारी उनका नाति पुस्ताका युवा-विद्यार्थीहरु देखिँदैनन् ।
२. भाषामा कमजोर
ओली ‘पोलिसी’ भन्दैनन् । ‘पलिसि’ भन्छन् । उनलाई अंग्रेजी भाषा राम्रोसँग उच्चारण गर्न र बोल्न आउँछ । विदेशीहरुसँग उनले आत्मबलसहित अंग्रेजी बोलेकोदेखि अन्तर्वार्तासम्म दिएको भेटिन्छ । यही गुण उनका पुस्ताका उनी जत्तिकै शिक्षा र राजनीतिक जीवन बिताएका नेताहरुमा त लगभग छैन भन्दा पनि हुन्छ । उनका युवा विद्यार्थी कार्यकर्ताहरुमा समेत यो दक्षता छैन । नेपालमा पहिलो आमचुनाव हुनुभन्दा अगाडिको युगमा सडक र सञ्चार नपुगेको तेह्रथुमको दुर्गम गाउँ इवामा जन्मेका ओलीले अंग्रेजी स्कुल पढेका होइनन् । नेपाली स्कुलमा कक्षा एकबाटै अंग्रेजी पढ्न पाएका पनि होइनन् । विश्वविद्यालयमा समय दिने उमेरमा उनी पञ्चायती जेलमा थिए । त्यो समय र त्यो युगका ओलीको अंग्रेजी औसतभन्दा माथिको छ । उनै ओलीका आधुनिक समयमा आधुनिक अंग्रेजी शिक्षा लिएका, विश्वविद्यालयमा वर्षौं बसेका बहुसंख्यक युवा-विद्यार्थी कार्यकर्ताहरुमा अंग्रेजीको पकड कमजोर देखिन्छ ।
ओलीले गार्डियनमा आर्टिकल लेख्दा ओलीका युवा-विद्यार्थी नेता तथा कार्यकर्ताहरुले भने नेपालकै काठमाडौं पोस्टमा पनि लेख्ने दक्षता राखेका छैनन् । राख्नेहरु भेटिए दुलर्भ मान्नुपर्ने अवस्था छ ।
‘भाषा त माध्यममात्रै हो’ भन्दै विश्व मञ्च र ज्ञान/सूचनाको ढुकुटीमा पुग्ने राजमार्ग अंग्रेजीमा आफू कमजोर भएको ढाकछोप गर्नु वेग्लै कुरा हो । तर, नेपाल जस्तो अन्तर्राष्ट्रिय दाताहरुमा निर्भर हुने देशले विश्वमा धेरै बिक्ने र बोल्ने भाषामा बलियो हुनैपर्छ । अझ भारत र चीनबीचमा भएको देशका नेताहरुले त हिन्दी र चिनियाँ सिके झनै राम्रो । विश्वभाषा क्याम्पस, काठमाडौं विश्वविद्यालय र देशका विभिन्न शिक्षालय तथा संस्थानहरुमा चिनियाँ भाषा पढाइन्छ । फ्रेन्च, स्पेनिस पनि पढाइन्छ । यी र यस्ता अवसर हुँदाहुँदै ओलीका युवा-विद्यार्थी कार्यकर्ताहरुमा भाषाप्रतिको हुटहुटी ओलीको एक छेउ जत्तिको पनि देखिँदैन ।
युट्युबदेखि टिकटकसम्मै घरघरमा विश्वका सबै विश्वभाषा सिक्ने यो युगमा पनि ओलीका युवा नेता तथा कार्यकर्ताहरुले सिक्ने इच्छा देखाएको देखिन्न । सिकेमा फाइदा भने व्यापक छ । विश्वका प्रभावशाली देशका प्रभावशाली मातृभाषामा बोल्दा नेपाल जस्तो दाता र अन्तर्राष्ट्रिय सहयोगमा चल्ने देशको कूटनीतिलाई पनि धेरै फाइदा हुने हो । अनुवादक राखेर बोल्नुभन्दा सीधै उनीहरुको मातृभाषामा बोल्नुको मज्जा नै वेग्लै हुन्छ । मातृभाषामा कसैसँग बोल्दा उसले कस्तो महसुस गर्छ भन्नेबारेमा धेरै अगाडि नेल्सन मण्डेलाले गज्जब तर्क दिएका थिए । उनको तर्क छ- ‘कुनै व्यक्तिसँग उसले बुझेको भाषामा बोल्दा त्यो उसको दिमागमा बस्छ । यही उसको आफ्नै भाषामा बोल्नुहुन्छ भने त्यो चै उसको हृदयमै बस्छ ।’
३. विश्व मञ्चमा छिर्ने दक्षता अभाव
विश्व मञ्चमा आफ्नो आम नेताहरुभन्दा माथि उठेर पुग्न प्रयत्न गर्ने र पुगेका नेता ओली हुन् । उनले पूर्वअस्ट्रेलियाली प्रधानमन्त्री केभिन रडले अन्तर्वार्ता लिएको विश्वको नामी थिंक ट्यांक ‘एसिया सोसाइटी’मा अमेरिका पुगेर अनुभव लिएका छन् । उनले विश्वका धनाढ्यहरुको कुम्भ मेला ‘वर्ल्ड इकोनोमिक फोरम’का दक्षिण एसियाको वक्ताको रुपमा स्विट्जरल्याण्ड पुगेको अनुभव लिएका छन् । गार्डियनमा उनले आर्टिकल लेखेर नेपालको कोभिड १९ युद्धमा सहयोग गर्न आग्रह गरेका छन् । उनले बीबीसीदेखि सीएनएनसम्म अन्तर्वार्ता दिएका छन् ।
यही स्तरको प्रयन्त ओलीका युवा नेता तथा कार्यकर्ताहरुमा देखिन्न । ओलीले गार्डियनमा आर्टिकल लेख्दा ओलीका युवा-विद्यार्थी नेता तथा कार्यकर्ताहरुले भने नेपालकै काठमाडौं पोस्टमा पनि लेख्ने दक्षता राखेका छैनन् । राख्नेहरु भेटिए दुलर्भ मान्नुपर्ने अवस्था छ । ओलीले वर्ल्ड इकोनोमिक फोरममा बोल्दै गर्दा उनका कार्यकर्ताहरुले नेपाल इकोनोमिक फोरममा पनि प्यानलिस्ट हुने अवसर र योग्यता हासिल गर्न सकेका छैनन् । एसिया सोसाइटीमा अस्ट्रेलियाका पूर्वप्रधानमन्त्रीसँग गफिएका ओलीका कार्यकर्ताहरु त्यही सोसाइटीले ‘एसिया २१ नेक्स्ट जेनेरेसन फेलोज’मा पर्न सकेका छैनन् । डटपेन युगका ओलीले विश्व मञ्चमा आफ्नो उपस्थिति बनाउँदै गर्दा डटकम युगका उनका युवा-विद्यार्थी कार्यकर्ताहरु त्यो लयमा आउन सकेका छैनन् ।
ओलीले नियुक्त गरेका कतिपय राजदूत र विज्ञहरु पार्टी कार्यकर्तामात्रै छैनन् । अहिलेको लोकतान्त्रिक युगमा पार्टीमात्रै सबै कुरा होइन र पार्टी बाहिर पनि दुनियाँ छ भन्ने कुरामा ओलीका कतिपय कदमले संकेत गर्दागर्दै उनकै युवा-विद्यार्थी कार्यकर्ताहरुले अनुकरण गर्न सकिरहेका छैनन् ।
४. पार्टी बाहिर सोच्ने र हेर्ने दृष्टिकोणको अभाव
नेकपा एमालेको हालै सम्पन्न प्रदेश तथा संघको घोषणापत्र सार्वजनिक समारोहमा ओलीले सदीक्षा श्रेष्ठलाई कार्यक्रमको उद्घोषक बनाए । अनिल शाहलाई मोडरेटर बनाएर प्रश्नोत्तर सेसन चलाए । श्रेष्ठ र शाह एमालेका कार्यकर्ता होइनन् । तैपनि उनीहरु कार्यक्रममा आए, चलाए । ओलीले स्वतन्त्र व्यक्तिहरु ल्याएर विश्वस्तरीय मञ्च र सेसन चलाएर घोषणापत्र सार्वजनिक गरिरहँदा उनकै युवा-विद्यार्थी कार्यकर्ताहरु भने कार्यक्रम गर्दा त्यही सनातनी परम्परामा छन् । कार्यक्रममा औचित्य पुष्टि, स्वागत मन्तव्यदेखि असान्दर्भिक धेरै नेताहरुको भाषणसम्ममा उनीहरु रमेका हुन्छन् । ओलीले नियुक्त गरेका कतिपय राजदूत र विज्ञहरु पार्टी कार्यकर्तामात्रै छैनन् । अहिलेको लोकतान्त्रिक युगमा पार्टीमात्रै सबै कुरा होइन र पार्टी बाहिर पनि दुनियाँ छ भन्ने कुरामा ओलीका कतिपय कदमले संकेत गर्दागर्दै उनकै युवा-विद्यार्थी कार्यकर्ताहरुले अनुकरण गर्न सकिरहेका छैनन् ।
५. प्रेम गर्ने तर भक्ति नगर्ने चेतना
ओली नै हुन् मदन भण्डारीको सबैभन्दा धेरै ब्राण्ड गर्ने नेता । ओली र ओलीका निकटस्थ शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतका अनुहारहरु नहुँदा हुन् त पार्टीको सिद्धान्तकै तहमा जनताको बहुदलीय जनवाद (जबज) पुग्दैन थियो । ओलीले नै मदनलाई एमालेमा उनको मृत्युपछि थप स्थापित गरेका हुन् । झलनाथ खनाल त मदन भण्डारीविरोधी जस्तै हुन् । पार्टी महासचिव हुँदा पनि २०४९ माघ १४ देखि २० गतेसम्म भएको पहिलो महाधिवेशनमा झलनाथ खनालले कार्यक्रम सञ्चालक हुँदा खुला सभामा मदनलाई बोल्नसम्म दिएका थिएनन् । माघ १४ मा दशरथ रंगशालामा भएको झन्डोत्तोलनपछिको खुला सत्रमा खनालले भण्डारीलाई निषेध गरे । जबजलाई पनि खनालले ‘दक्ष प्रजापतिको टाउको’ भनेको टिप्पणी अहिले पनि वेलाबखत चर्चा गरिन्छ ।
माधव नेपाल आफ्नो सहजताको लागि मदन भण्डारीलाई मान्थे । मदन भण्डारीलाई डे वानबाटै ब्रान्ड गर्न ओली र उनको क्याम्प सक्रिय थियो । तर, ओलीले उनको नाकाबन्दी कालकै जस्तो जनतामा व्यापक मदन भण्डारी क्रेज हुँदा पनि ‘मदन भण्डारी आई लभ यु’ भनेनन् । भन्ने कुरामा नेतृत्व लिएनन् । मदन भण्डारीको कटआउट प्रतिमा बनाएर आफू बलियो बफादार भएको विज्ञापन गरेनन् । तर, ओलीका युवा-विद्यार्थी कार्यकर्ताहरुले मदन भण्डारीलाई ओलीले गरेको तहकै प्रेम गर्न सिकेनन् । उनीहरुले भक्ति गर्न सिके । सायद ओलीटिक्सका जायज पक्षहरु अनुशरण गर्ने योग्यता नपुगेर उनीहरुले भक्ति गरेका हुन सक्छन् ।
सुन्दर अध्ययन । गतिलाे प्रस्तुति । नयाँ पुस्ता अध्ययन मनन र चिन्तनमा भन्दा तिगडम, धाेका, प्रतिक्रिया र गुटबाजीमा अल्मलिएकाे छ । भक्ति, दासता र ढाेङ रगतमा बग्छ यस पुस्ताकाे, चाहे त्याे एमालेमा हाेस् चाहे काँग्रेसमा । माअाेवादीहरूमा त म यीबाहेक अरू गुण नै देख्तिनँ । नयाँ पुस्ताले जान्ने भनेकाे the here and the now मात्र हाे ।