मधानी महोत्सव रोक्न पूर्वसांसद सर्वोच्चमा, प्रभु साह दम्पतीले राज्यकोषबाट अश्लीलता फैलाएको आरोप (भिडिओ)
काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाले हरेक वर्ष मनाउन थालेको मधानी महोत्सव अश्लील संस्कृति फैलाउने माध्यम बनेको र राज्यकोषको दुरुपयोग भएको भन्दै उक्त कार्यक्रम रोक्न सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
माओवादी केन्द्रकी पूर्वसांसद दिलकुमारी शाहले आइतबार दर्ता गरेको रिटको पेसी सोमबार तोकिए पनि सार्वजनिक बिदा परेकाले मंगलबार सुनुवाइ हुने भएको छ । पूर्वसांसद शाहले विकृति र राज्यकोषको दोहन रोक्न सो महोत्सव स्थगनका लागि अन्तरिम आदेश माग गरेकी छन् ।
रिटमा उनले नगरपालिकाको बजेटबाट नग्न नृत्य देखाएर विकृति फैलाइएको र धार्मिक तथा सांस्कृतिक भन्दा पनि अश्लीलता फैलाउने कार्य भएको भन्दै रोक लगाउन माग गरेकी छन् । भोजपुरी कलाकारहरू बोलाएर नगरपालिकाले सो कार्यक्रम गर्दैछ ।
गत वर्ष पनि यस्तै विवाद आएपछि प्रमुख अतिथि बोलाइएका एमाले अध्यक्ष केपी शर्मा अोलीले अन्तिममा कार्यक्रम रद्द गरेका थिए । यसपटक फागुन ५ बाट सुरू हुने मधानी महोत्सवको प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनलाई राखिएको छ ।
पूर्वसांसद शाहले नगरपालिकाको कोष दोहन गरेर अश्लील कार्यक्रम गर्न सोही नगरपालिकाकी मेयर रिनाकुमारी साह र उनका पति रौतहट ३ का सांसद प्रभु साह प्रत्यक्ष संलग्न रहेको दाबी गरेकी छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायतलाई पनि सो अश्लील कार्यक्रम रोक्न ज्ञापनपत्र बुझाएको बताएकी छन् ।