‘जनयुद्ध’ दिवसकाे बिदा- प्रचण्डले कांग्रेसबाट अझै कति पाउने धाेका ? – Nepal Press

‘जनयुद्ध’ दिवसकाे बिदा- प्रचण्डले कांग्रेसबाट अझै कति पाउने धाेका ?

अहिले नेपाली राजनीतिमा आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कुन पार्टीले कुन पार्टीको उम्मेदवारलाई समर्थन गर्नेबारेमा गरमागरम बहसहरु चलिरहेका छन् । नेपाली मिडियाहरु, राजनीतिक वृत्त, नागरिक समाज, व्यवसायिक क्षेत्रदेखि चियागफमा पनि यसै विषयले चर्चा पाइरहेको छ । गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रसमेतको ५ दलीय गठबन्धन एकातिर र नेकपा एमाले एक्लै निर्वाचनमा होमिएका थिए । उक्त निर्वाचनमा कसैको बहुमत आएन । संसदमा ठूलो दल नेपाली कांग्रेस बन्यो भने दोस्रो ठूलो दल नेकपा एमाले बन्यो । समानुपातिक मत परिणाम हेर्दा नेकपा एमाले पहिलो दल र नेपाली कांग्रेस दोस्रो दल बन्न पुग्यो ।

निर्वाचनपश्चात सरकार बनाउने क्रममा तत्कालीन गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री आफूले पाउनुपर्ने अडान राख्यो । संसदमा तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले तत्कालीन गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले प्रधानमन्त्री खाइसकेकाले आफूले प्रधानमन्त्री पाउनुपर्ने दाबी गर्‍यो । यसै माथापच्छेका बीचमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाली कांग्रेसले प्रधानमन्त्री आफूलाई नदिने भएपछि विकल्पको रुपमा नेकपा एमालेसँग सहकार्य गर्न राजी भई नेकपा एमाले, नेकपा माओवादी केन्द्रसमेतको ७ दलको नयाँ गठबन्धन गर्ने सहमति भयो । जसअनुसार प्रधानमन्त्री नेकपा माओवादी केन्द्रले पाउने र सभामुख तथा राष्ट्रपति नेकपा एमालेले पाउने गरी ७ वटै प्रदेशसमेतमा भागबन्डा भयो ।

त्यसैअनुरुप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्री बन्नुभयो । प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिने क्रममा विपक्षी दल नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि भित्रभित्रै के खिचडी पाकिरहेको छ भन्ने गाइँगुइँमात्र होइन हल्ला नै चलिरहेको छ । अझ नेपाली कांग्रेसका नेताहरुले खुला रुपमा राष्ट्रपतिमा आफू समर्थक उम्मेदवारले जित्ने, प्रचण्डले आफ्नो उम्मदेवारलाई मत दिने आश्वासन दिनुभएको दाबी गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकारीको हैसियतमा काम गर्नुभएकोले नेकपा एमाले समर्थकलाई राष्ट्रपतिमा निर्वाचित गर्दा फेरि पनि सोही समस्या आउने भनी फलाक्दै हिँड्ने नेपाली कांग्रेसलाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले आफ्नो कार्यकालमा के के गर्नुभएको थियो, त्यतातिर पनि सम्झाउनुपर्छ कि ?

२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन नेकपा माओवादीका नेता प्रचण्ड देशको प्रधानमन्त्री बन्नुभयो । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. रामवरण यादव निर्वाचित हुनुभयो । अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकारीको हैसियतमा काम गर्नुभएकोले नेकपा एमाले समर्थकलाई राष्ट्रपतिमा निर्वाचित गर्दा फेरि पनि सोही समस्या आउने भनी फलाक्दै हिँड्ने नेपाली कांग्रेसलाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले आफ्नो कार्यकालमा के के गर्नुभएको थियो, त्यतातिर पनि सम्झाउनुपर्छ कि ? २०६४ को संविधानसभाको निर्वाचनमा संविधानसभामा ठूलो दल भई नेकपा माओवादीका अध्यक्ष प्रचण्ड जो देशको कार्यकारी प्रधानमन्त्री हुनुभएको थियो । उहाँले कार्यकारी प्रधानमन्त्रीको हैसियतमा काम गर्ने क्रममा तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाल काण्डमा नेपाली कांग्रेसका तत्कालीन नेता डा. रामवरण यादव जो राष्ट्रपति थिए, उनले कार्यकारी प्रधानमन्त्रीको निर्णयलाई रद्दीको टोकरीमा फालेका कारण करिब बहुमत नजिकको देशको ठूलो दल नेकपा माओवादीका नेता प्रचण्डले प्रधानमन्त्री पदबाट हात धुनुपरेको पनि धेरै समय भएको छैन । यस घटनालाई माओवादीका नेताहरुले बिर्सेका छैनन् होला ।

आफूले जे गरे पनि हुने अरुले आफ्नो चित्त नबुझ्ने कार्य गरेमा त्यो संविधानविरोधी कार्य भनेर बजार हल्ला गरिहाल्नुपर्ने लत बसेको पार्टी भनेको नेपाली कांग्रेस हो भन्दा फरक पर्दैन । केपी ओलीको प्रधानमन्त्रीत्वकालमा सरकारले जे काम गरे पनि होहल्ला मचाइहाल्ने, कान्तिपुरलगायतका ठूला मिडिया हाउसहरु उसका लागि काम गरिरहेकाले उनीहरुलाई होहल्ला मच्चाउन लगाइहाल्ने, सर्वोच्चमा मुद्दा दर्ता गर्न लगाइहाल्ने बाहेक उसको त्यो वेलाको काम केही थिएन । यसरी होहल्ला गरेर नै सर्वोच्च अदालतसमेतलाई प्रयोग गरी प्रधानमन्त्री पद हत्याउन सफल पनि भयो । त्यसपछि नेपाली कांग्रेसले सर्वोच्च अदालतलाई दुरुपयोग गरेर गैरकानूनी रुपमा एमालेलाई फुटाउन दल त्यागसम्बन्धी अध्यादेश ल्याउनेलगायतका थुप्रै कार्यहरु गर्‍यो । मंसिर ४ गतेको निर्वाचन सकिएपछि पूर्वसहमतिबमोजिम प्रधानमन्त्री पद प्रचण्डलाई नदिएर आफैं हत्याउने प्रयास गर्ने हर्कतकै कारण प्रचण्डलाई घोक्रेठ्याक लगाउने कार्य नेपाली कांग्रेसले नै गर्‍यो । सोअघिको सम्झना गरौं भने प्रचण्डलाई हुँदाखाँदाको प्रधानमन्त्री पदबाट हात धुनुपर्ने हर्कत नेपाली कांग्रेसले नै गरेको थियो । नेकपा माओवादी केन्द्रलाई ओरालो लगाउनमा सबैभन्दा ठूलो हात छ भने त्यो नेपाली कांग्रेसको छ ।

आफूले जे गरे पनि हुने अरुले आफ्नो चित्त नबुझ्ने कार्य गरेमा त्यो संविधानविरोधी कार्य भनेर बजार हल्ला गरिहाल्नुपर्ने लत बसेको पार्टी भनेको नेपाली कांग्रेस हो भन्दा फरक पर्दैन ।

फागुन १ गते माओवादीले सुरु गरेको जनयुद्ध दिवसलाई मनाउन सरकारले नै सार्वजनिक बिदा दिएको घटनालाई सबैभन्दा बढी विरोध गर्नेहरु नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु देखिएका छन् । माओवादीको माया गरेर वा उसको यसअघिको जनयुद्धको गतिविधिलाई मान्यता दिएर वा माओवादलाई अंगीकार गरेर नेपाली कांग्रेसले प्रचण्डलाई पछिल्लो पटक प्रधानमन्त्रीमा विश्वासको मत दिएको हुन्थ्यो भने हिजोको सरकारको निर्णयको यत्रो विरोध गर्नुपर्ने थिएन । अझ पनि नेकपा माओवादी केन्द्रका नेता प्रचण्ड तथा सो पार्टीका नेता तथा कार्यकर्ताहरुले बुझिरहेका छैनन् कि बुझेर पनि बुझ पचाएर नेपाली कांग्रेससँग नै सहकार्य गर्ने मनसाय राखिरहेका छन्, बुझ्न सकिएको छैन । आसन्न राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिबाटै गैरराजनीतिक वृत्तबाट राष्ट्रपति बनाइनुपर्छ भनेर नेकपा माओवादी केन्द्रले भनिरहे पनि नेपाली कांग्रेसका नेताहरु त खुलेरै कांग्रेसको नेता नै राष्ट्रपति हुने ठोकुवा गरिरहेका छन् र उनीहरु यो पनि दाबी गरिरहेका छन् कि नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई भोट हाल्छ । प्रधानमन्त्री प्रचण्ड र नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुको चेत खुल्नुपर्छ कि नेकपा माओवादीले सुरु गरेको जनयुद्धलाई नेपाली कांग्रेसले कति घृणा गर्दोरहेछ, जुन फागुन १ गतेको जनयुद्ध दिवसप्रतिको नेपाली कांग्रेसका कार्यकर्ताहरुको प्रतिक्रियाबाटै स्पष्ट हुन्छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको नाममा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाललगायतका नेताहरुसँग छलफल भैरहेका समाचारहरु पनि सार्वजनिक भइरहेका छन् । भर्खरै भएको मंसिर ४ को आम निर्वाचनमा भएको नेपाली कांग्रेससँगको सहकार्यबाट निर्वाचन जितेका कारण नेकपा माओवादी केन्द्रका केही नेताहरुलाई अहिले पनि नेपाली कांग्रेससँगै सहकार्य गर्ने मनसाय देखिन्छ । अर्कोतिर सिद्धान्त मिल्नेहरुका बीचको सहकार्य नै दिगो हुने भएकाले मित्रशक्ति भनेको नेकपा एमाले नै हो । पहिला पार्टीसमेत एकै भएकोले पनि नेकपा एमालेसँगै सहकार्य गर्दै जानुपर्छ भन्ने तर्क गर्नेहरुको पनि नेकपा माओवादी केन्द्रभित्र ठूलो संख्या देखिन्छ । यस मान्यतामा प्रधानमन्त्री प्रचण्ड पनि देखिनुभएको छ, सोहीबमोजिम पछिल्लो पटक प्रचण्डले नेकपा एमालेसँग सहकार्य गर्नुभएको हो । साथै नेकपा माओवादी केन्द्रको बैठकबाट पनि सिद्धान्त मिल्नेहरुसँग नै सहकार्य गर्दै जाने निर्णय भएको छ ।

यसका वावजुद पनि अहिले नेपालको आन्तरिक राजनीतिमा खेल्न पल्केका देशी-विदेशी शक्तिहरुले भरपुर मेहनत गरिरहेका छन् कि कुनै पनि हालतमा नेकपा एमालेलाई एक्ल्याउने र नेपाली कांग्रेसलाई सत्तामा पुर्‍याउने । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको नेतृत्वको प्रदेश सरकारलाई ढाल्न विगत ३० दिनमा कतिसम्मका अभ्यासहरु भए यस घटनाले पनि देशमा अस्थिरता चाहनेहरुको खेल सुरु भैसकेको ऐना झैं छर्लङ्ग भएको छ ।

फागुन १ गते माओवादीले सुरु गरेको जनयुद्ध दिवसलाई मनाउन सरकारले नै सार्वजनिक बिदा दिएको घटनालाई सबैभन्दा बढी विरोध गर्नेहरु नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु देखिएका छन् ।

अन्तमा, सुदूरपश्चिम प्रदेशमा एमालेको नेतृत्वको सरकारलाई ढालेरै छाडे । एमालेलाई सरकारबाट बाहिर्‍याउने श्रृङ्खला सुदूरपश्चिमबाट सुरु भएको भन्नेहरु पनि देखिएका छन् । अमेरिका, भारतलगायत कतिपय पूँजीवादीहरु ‘कम्युनिष्ट’ को नाम पनि सुन्न चाहँदैनन् । नेपाली काग्रेसलाई पनि ‘कम्युनिष्ट’ मनपर्ने शब्द होइन, यो कुरा प्रचण्डलाई थाहा भएकै होला । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको ‘माले, मशाले, मण्डलेहरु एकै हुन्’ भन्ने भनाइ प्रधानमन्त्री प्रचण्डले बिर्सनु भएको पनि छैन होला ।

राजनीतिमा ‘तात्तै खाउँ जलिमरुँ’ भन्ने मान्यता हुँदैन । कुनै पनि निर्णयले दूरगामी असर कति पर्छ, त्यो महत्वपूर्ण हुन्छ । वास्तवमा नेपाली कांग्रेसले नेकपा माओवादीलाई राजनीतिक रुपमा मन पराएर, उसको सिद्धान्त स्वीकार गरेर, भोलिको लक्ष्य मिल्ने भएर उससँग सहकार्य गर्दैछ कि उसलाई भर्‍याङ बनाएर, माओवादी केन्द्रको बुई चढेर आफू देशको ठूलो शक्ति बन्न चाहन्छ, त्यसको विश्लेषण माओवादी नेताहरुले गर्दा उचित हुन्छ । २०४७ सालभन्दा अगाडि कम्युनिष्ट पार्टीलाई के कस्तो व्यवहार गर्‍यो, त्यतातिर नगई नेपाली कांग्रेसले २०४८ सालपछि कम्युनिष्ट पार्टी, कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई के कसरी लखेटेको थियो ? २०५१ सालमा के व्यवहार देखायो ? २०५२ सालमा माओवादीको ४२ बुँदे मागपत्रलाई कसरी सम्बोधन गर्‍यो ? २०५३ सालदेखि २०६२/६३ सम्म माओवादीसँग कुन व्यवहार गर्‍यो ? २०६४ देखि २०७० सम्म र २०७४ सम्म आइपुग्दा नेकपा माओवादीलाई कहाँ पुर्‍यायो, त्यसको लेखाजोखा गर्ने फुर्सद छ कि छैन नेकपा माओवादी केन्द्रका नेताहरुलाई ? २०७४ को निर्वाचनमा नेकपा एमालेसँग सहकार्य नगरेको भए के हविगत हुन्थ्यो ?

२०७४ सालको निर्वाचनको परिणाम र २०७९ को निर्वाचन परिणाम हेर्दा नेकपा माओवादीलाई एमालेसँगको सहकार्यमा फाइदा भएको थियो कि नेपाली काग्रेससँगको सहकार्यमा फाइदा भयो, त्यसबारेमा एकपटक सोच्नुपर्दैन ? अहिलेको सरकार गठन हुने क्रममा पूर्वसहमति गठबन्धनको एक घटक नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेपछि दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको नेता प्रचण्डलाई प्रधानमन्त्री पाउनुपर्नेमा नेपाली कांग्रेसले प्रधानमन्त्रीलगायत सबै पद आफैं लिने अडान राखी नेकपा माओवादी केन्द्रको अपमान गरेको एकपटक सोच्नुपर्छ कि पर्दैन ?

अमेरिका, भारतलगायत कतिपय पूँजीवादीहरु ‘कम्युनिष्ट’ को नाम पनि सुन्न चाहँदैनन् । नेपाली काग्रेसलाई पनि ‘कम्युनिष्ट’ मनपर्ने शब्द होइन, यो कुरा प्रचण्डलाई थाहा भएकै होला । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको ‘माले, मशाले, मण्डलेहरु एकै हुन्’ भन्ने भनाइ प्रधानमन्त्री प्रचण्डले बिर्सनु भएको पनि छैन होला ।

तत्कालीन नेकपा हुँदाका बखतको केपी ओलीप्रतिको केही रिस, आवेग नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुमा नभएको होइन । त्यो वेलाको परिस्थिति कसरी सुरु भएको थियो ? प्रायः राजनीति बुझेकाहरुलाई थाहा नै छ । नेकपाको विवादको सुरुवात चुच्चे नक्सा नै थियो । चुच्चे नक्सा नेकपाको टीमका कारण संशोधन भएको भए पनि देशको प्रधानमन्त्री केपी ओली भएकाले त्यसको जस उनलाई जान्छ र जानुपर्ने पनि हो । फागुन १ गते जनयुद्ध दिवस मनाउने सरकारको निर्णयको जस प्रचण्डलाई नदिएर राजेन्द्र लिङदेनलाई दिन मिन्छ र ? देशको नक्सा बदल्ने अर्थात राष्ट्रको भूमि विस्तार गर्ने जङ्गबहादुर राणापछिको दोस्रो साहसिक प्रधानमन्त्री केपी ओली हुनुभयो । तब नेपालविरोधी तत्व सलबलाउन थाले र जसरी पनि केपी ओलीलाई सरकारबाट घोक्रेठ्याक लगाउनुपर्छ भन्दै नेकपाकै नेताहरुलाई प्रयोग गरियो । बाहिरबाट त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्‍यो, जसमा हो मा हो गरे तत्कालीन नेकपाका नेताहरुले । अदालतसमेतलाई प्रयोग गरेर संसदीय राजनीतिक व्यवस्थामा प्रधानमन्त्रीले संसद विघटन गर्न पाइँदैन भनेर अझ दुनियाँमा नभएको फलानालाई प्रधानमन्त्री बनाउनु भनेर परमादेशसमेत गराउन सफल भए ।

अहिले देशी विदेशीहरुको टाउको दुखाइ आजको परिस्थितिभन्दा पनि अब आउने अढाई वर्षपछिको परिस्थिति भएको देखिन्छ । अढाई वर्षपछि प्रधानमन्त्री केपी ओली, राष्ट्रपति नेकपा एमाले समर्थक, सभामुख नेकपा एमाले समर्थक, राष्ट्रियसभाको अध्यक्ष नेकपा एमाले समर्थक आदि हुँदा अवस्था के के हुने हो ? उनीहरुको माथा हल्लिइरहेको छ । उनीहरुको निद हराम भएको छ । यसैकारणले उनीहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्डलाई पछाडिबाट घोच्न थालेका छन् र राष्ट्रिय सहमतिको नाममा राष्ट्रपतिको निर्वाचनमा ७ दलीय गठबन्धनलाई भत्काउने तथा केपी ओलीलाई कुनै पनि हालतमा आगामी दिनमा पनि नेपालको प्रधानमन्त्री हुनबाट रोक्ने खेल रचिरहेका छन् । तर पनि राजनीतिमा शत्रु र मित्र भन्ने हुँदैन भन्ने मान्यताअनुसार निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरिएको भए पनि प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भर्खरै नेकपा एमालेले गरेको सहयोगलाई बिर्सेको छैन होला । नेपाली कांग्रेसको अपमानजनक व्यवहार र हर्कतका कारण बालुवाटारबाट खुमलटार जाँदै गर्दा सीधै बालकोट बोलाएर जहाँबाट आफूलाई अपमानजनक व्यवहार गरी गलहत्याइएको थियो, त्यही बालुवाटारबाट नेपाली कांग्रेसलाई गलहत्याएर शानका साथ प्रधानमन्त्रीमा पदासीन हुनुभएको प्रचण्डले बिर्सनु भएको छैन होला । नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरु पनि अहिले जुन फुर्तीफार्ती देखिन्छ, यदि बालुवाटारबाट लखेटिएको लखेटियै भएको भए के हविगत हुन्थ्यो, एक पटक ठण्डा दिमागले सोच्नुपर्दैन ?

त्यसैले नेकपा माओवादीका सुप्रिमो प्रचण्ड तथा आम नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेस तथा ऊ समर्थक व्यक्तिलाई राष्ट्रपति बनाउन सोचविचार गर्नु पनि आफूले आफैंलाई बिर्सनुबाहेक केही हुनसक्दैन । राजनीतिमा नैतिकता, इमादारिता, मूल्य मान्यता पनि हुन्छ र यो संस्कार आफू क्रान्तिकारी भन्ने पार्टी नेकपा माओवादीले देखाएन भने उसले आफैंलाई धोका दिनुबाहेक के हुनसक्छ ? दुई महिनाअघि जे सहमति भएको थियो, त्यही सहमतिअनुसार देशको राजनीतिलाई अगाडि बढाउने र राजनीतिक धोकाधडी, अस्थिरता, विदेशीहरुका दाउपेच इत्यादिलाई तिजाञ्जली दिएर ५ वर्ष कम्युनिष्टहरुले शासन गरी समग्र देशको विकास तथा जनताको आर्थिक उन्नति गर्न सकेमा मात्र प्रधानमन्त्री प्रचण्डले फागुन १ गतेको जनयुद्ध दिवसलाई सम्झेको मान्न सकिन्छ । नत्र फागुन १ गतेको जनयुद्ध दिवसलाई आफू सत्तामा पुग्ने भर्‍याङ बनाएको नभए के हो ?

आज फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गर्नुभयो । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई जिताउनतिर लाग्नुभयो, अहिलेको गठबन्धनलाई भत्काएर नेपाली कांग्रेसको पछि लाग्नुभयो भने ती नेकपा माओवादीका नेता तथा कार्यकर्ता २०५२ फागुन १ गतेपछि जसले देशमा समाजवाद हुँदै साम्यवादको सपना देखेर जीवनको आहुति दिए, तिनको आत्माले तपाईंलाई जहिले पनि सरापिरहनेछ । तपाईंले जनयुद्धमा ज्यान आहुति दिने ती निर्दोष नेता तथा कार्यकर्तालाई धोका दिएको सावित हुनेछ । तपाईं ढोंगी नेतामात्र होइन, ढोंगी मान्छे रहेछ भन्ने प्रमाणित हुनेछ । चेतना भया !

(लेखक अधिवक्ता तथा नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी अध्यक्ष हुन् ।)


प्रतिक्रिया

One thought on “‘जनयुद्ध’ दिवसकाे बिदा- प्रचण्डले कांग्रेसबाट अझै कति पाउने धाेका ?

  1. त बकवास गर्दै ब्बस एमाले को झोले टट्टु।।।एमाले जतिको धुर्त र फटाहा पार्टी अरु कुनै छैन नेपालमा।।।त जस्ता खाते हरुले सधै नेपाली काङ्ग्रेसको बिरोध गरेर आफ्नो दुनो सोझ्याउने गर्छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर