यातायात मजदुर कुटिएको विरोधमा चक्रपथमा चक्काजाम (तस्बिरहरू\ भिडिओ)
यात्रुसहितको गाडी तेर्स्याएर सडकमा उत्रिए आन्दोलनकारी
काठमाडौं । मजदुर कुटिएको विरोधमा यातायात व्यवसायी आन्दोलित भएका छन् ।
नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको लोत्से कम्पनीका प्रबन्ध सुनिल कुँवरलगायतकाले मजदुरमाथि हातपात गरेकाले विरोधमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।
‘सरकारलाई दिएको १५ दिने अल्टिमेटम र आन्दोलनको रणनीति तय गर्न बैठक बसिरहेको बेला कुँवरलगायतका केही व्यक्ति गुण्डागर्दी शैलीमा आएर हाम्रा साथीमाथि कुटपिट भएको छ’, राईले भने, संलग्नलाई कारबाही हुनुपर्छ । उहाँले माफी माग्नुपर्छ ।’
अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ । मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् ।
मजदुरहरू गाडी तेर्स्याएर सडकमा उत्रिएका छन् ।