तीन गोली खाएको ज्यान, माओवादीका ‘भाइटल म्यान’ – Nepal Press
जनयुद्ध संवाद

तीन गोली खाएको ज्यान, माओवादीका ‘भाइटल म्यान’

काठमाडौं । सभामुखको पदबाट निवृत्त अग्निप्रसाद सापकोटा यतिवेला आफ्नो निजी जीवनको संक्रमणकालमा छन् । राज्यको एउटा सम्मानित र संवेदनशील ओहदाबाट ओर्लिएपश्चात उनले आफ्नो राजनीतिक जीवनलाई ब्युँताउनुपर्नेछ ।

तटस्थ विश्लेषण गर्दा सभामुखका रुपमा सापकोटाको ४ वर्षको कार्यकाल मूलतः सन्तोषजनक नै रह्यो । उनले सबैलाई सन्तुष्ट पार्न अवश्य सकेनन् । तर, अत्यन्तै धमिलो राजनीतिक वातावरणबीच आफ्नो जिम्मेवारी निर्वाह गरेर सुकिलै निस्किन सफल भए । माओवादीको उच्च नेतृत्वमा सम्भवतः सबैभन्दा अग्ला यी नेताको राजनीतिक उचाइ पनि ह्वात्तै बढेको छ ।

सभामुखबाट हटेपछि ध्यान-योग गरेर अवकाशप्राप्त जीवन शान्तिपूर्वक बिताउने चेष्टा सापकोटाले गरेनन् । न अटोबायोग्राफी लेखेर आफ्नो योगदानको आफैं बखान गर्ने ध्याउन्नमा लागे । बरु उनी सक्रिय राजनीतिमै फर्किएका छन् । माओवादीले उनलाई उपाध्यक्षको जिम्मेवारी दिइसकेको छ ।

सभामुखबाट हटेपछिको छोटो फुर्सदमा सापकोटाले आफ्नो ४ वर्षे कार्यकालको आत्मसमीक्षा गरे । आफ्ना पुराना सम्बन्धहरु, जो सभामुखको कुर्सीमा रहँदासम्म, सुसुप्त अवस्थामा थिए, लाई नवीकरण गरे । साथीभाइ-आफन्तसँग भेटघाटको क्रम टुटेको थियो । विवाह-ब्रतवन्ध, भोजभतेरमा उपस्थिति घटेको थियो । ती सबैलाई पुनः सुचारु तुल्याए । र, अब फेरि उही व्यस्त राजनीतिक जीवनमा फर्किएका छन् ।

मलाई यस्तो बाध्यता आइलाग्यो कि संविधानको रक्षा एवं संवैधानिक मूल्य-मान्यताका लागि आफैं अदालत जानुपर्‍यो । त्यो पनि असाधारण परिघटना नै थियो । मैले यस्ता खास-खास अवस्थामा जटिल र पेचिलो परिस्थितिको सामना गरें ।

नेपाल प्रेससँग करिब साढे दुई घन्टा गफिँदै सापकोटाले आफ्नो जीवनका विभिन्न पहलुहरु खोतले । अभावग्रस्त बाल्यकालदेखि जनयुद्धमा मृत्यु नजिक पुगेका क्षणहरु सम्झिए । कुराकानीको सुरुवात चाहिँ सभामुखको कार्यकालको समीक्षाबाट भएको थियो ।

उनलाई पहिलो प्रश्न तेर्स्याइएको थियो:

– सभामुखका रुपमा निभाउनुभएको भूमिकाबाट तपाईं आफैं कति सन्तुष्ट हुनुहुन्छ ? जवाफमा उनी गर्विलो सुनिए ।

‘म सन्तुष्ट छु । सबै हिसाबले मेरो कार्यकाल गौरवपूर्ण भयो भन्ने लाग्छ । चाहे नीति निर्माणको हिसाबले होस् वा अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुतिको हिसाबले । म बहुआयामिक रुपमा सफल भएँ ।

– एउटा राजनीतिक पार्टीको पृष्ठभूमिबाट आएको सभामुखले संसदभित्र सबैलाई समान व्यवहार गर्दै तटस्थ भूमिका निभाउन सहज त भएन होला ?

मैले २०७६ माघ १३ गते सपथ लिएको हुँ । लगत्तै आफ्नो पार्टीबाट राजीनामा दिएँ । त्यस दिन बेलुका मलाई लागेको थियो कि पार्टीबाट राजीनामा त दिएँ । तर, २०३७ सालदेखि जुन विचारधारा बोकेर पार्टी राजनीति गरें, पार्टीका नीतिहरुको वकालत गरें, अब त्यो रुझान त्यागेर सभामुखको संवैधानिक भूमिकामा न्याय गर्न सकुँला त ? त्यसपछि मैले मनभित्र अठोट गरें कि म आफ्नो राजनीतिक पृष्ठभूमि र वैचारिक झुकावलाई बिर्सिएर सबैको साझा बन्ने प्रयास गर्नेछु । र, त्यही अठोटको जगमा रहेर मैले कसैप्रति कुनै पूर्वाग्रह वा अनुराग नराखी स्वतन्त्र तवरले काम गरें भन्ने लाग्छ ।

– तर, सभामुखको पदमा रहँदा तपाईंले आफ्नो मातृ पार्टी माओवादीलाई ‘फेवर’ गर्नुभएको र प्रचण्डको आदेशमा चल्नुभएको आरोप त लाग्यो नि ?

म के स्पष्ट पार्न चाहन्छु भने मैले कुनै पनि परिस्थितिमा निष्पक्षता र तटस्थतामा सम्झौता गरिनँ । मैले अरु कसैको नभएर मेरै आदेशमा काम गरें, आफ्नै विवेकबाट निर्देशित भएँ । भोलि पनि जवाफ दिनुपर्छ भन्ने सम्झेर भूमिका निर्वाह गरें । भविष्यमा सभामुखको कार्यकालका बारेमा इतिहास, संसदीय मामलाका विद्यार्थीले अध्ययन गर्दा सभामुखको यो निर्णय अलिकति स्वतन्त्र र परिपक्व भएन कि भन्ने प्रश्न नउठोस् भनेर सचेतता अपनाएँ । मेरो निर्णयले कसैलाई फाइदा वा बेफाइदा भयो होला । तर, म ऐन-कानून सबैको अक्षर र भावनालाई पूर्ण पालना गर्न प्रयत्नशील रहिरहें ।

– चार वर्षको कार्यकालमा तपाईंलाई संसदभित्र सबैभन्दा बढी चुनौतीपूर्ण र असहज महसुस भएको क्षण कुन थियो ?

मेरो सभामुखको कार्यकाल जटिल, पेचिलो र असाधारण नै रह्यो । मैले ड्यासबाटै आफ्नो भनाइ राखेको थिएँ कि एकै वर्षमा, एकै कार्यकालमा दुईपटक प्रतिनिधिसभाको विघटन र दुईपटक पुनःस्थापना विश्व इतिहासमै पहिलो परिघटना हुनसक्छ ।

राजनीतिमा आग्रह-पूर्वाग्रह, प्रतिशोध र बदलाको भावना हुनुहुँदैन भन्छु । एउटा परिस्थितिमा सम्बन्ध तिक्त हुनसक्छ, अर्को परिस्थितिमा सहज हुनसक्छ । म आलोचनालाई पनि सकारात्मक ढंगले लिने मान्छे हुँ । कसैले मेरोबारेमा गरेको नकारात्मक टिप्पणी पनि मेरा निम्ति प्रेरणाको स्रोत हुन्छ ।

नम्बर दुई, मलाई यस्तो बाध्यता आइलाग्यो कि संविधानको रक्षा एवं संवैधानिक मूल्य-मान्यताका लागि आफैं अदालत जानुपर्‍यो । त्यो पनि असाधारण परिघटना नै थियो । मैले यस्ता खास-खास अवस्थामा जटिल र पेचिलो परिस्थितिको सामना गरें ।

– एमाले अध्यक्ष केपी शर्मा ओलीले तपाईंप्रति लक्षित गरेर धेरैपटक कटु टिप्पणी गर्नुभयो । उहाँ तपाईंप्रति असहिष्णु हुनुभयो भन्ने लाग्छ ?

यो प्रश्न त उहाँलाई नै सोध्दा सान्दर्भिक होला । मेरो दृष्टिकोणमा चाहिँ, हरेक पार्टीका नेताहरु सभामुखबाट आफ्नो अनुकूल निर्णय होस् भन्ने चाहन्छन् । सायद उहाँको अनुकूल निर्णय मैले नगरेर पनि नकारात्मक टीकाटिप्पणी भयो होला । अर्को, उहाँहरुले पनि त जनमत बनाउनुपर्ने हुन्छ । पार्टी पंक्तिमा आफ्नो पोजिसन क्लीयर गर्नुपर्छ । त्यस हिसाबले पनि बोल्नुभयो होला । तर, मलाई उहाँप्रति कुनै पनि आग्रह–पूर्वाग्रह छैन । राजनीतिमा आग्रह–पूर्वाग्रह, प्रतिशोध र बदलाको भावना हुनुहुँदैन भन्छु । एउटा परिस्थितिमा सम्बन्ध तिक्त हुनसक्छ, अर्को परिस्थितिमा सहज हुनसक्छ । म आलोचनालाई पनि सकारात्मक ढंगले लिने मान्छे हुँ । कसैले मेरोबारेमा गरेको नकारात्मक टिप्पणी पनि मेरा निम्ति प्रेरणाको स्रोत हुन्छ ।

– सभामुखका रुपमा काम गर्दा आफूबाट कुनै कमजोरी भएको महसुस हुँदैन ?

यथार्थमा मैले आफ्नो क्षमताको पूर्ण परख गर्न पाइँन । पाँचौं र छैटौं अधिवेशन कोभिडले गर्दा राम्रोसित चलेन । सातौं र आठौंमा प्रतिनिधिसभा विघटन भइहाल्यो । नवौं र दशौं एमालेले अवरुद्ध गर्‍यो । ११औं अलि राम्रोसँग चलेको हो । त्यसमा बजेट अधिवेशनसहित र ३० विधेयक पास भए । मलाई के लाग्छ भने राम्रो वातावरणमा संसद चलाउन पाएको भए आफ्नो योग्यता-क्षमता अझै राम्ररी देखाउन सक्थें । तर पनि जति मौका पाएँ गुणात्मक सफलता नै हासिल गरेको छु ।

– तपाईंको पालामा एमसीसी संसदबाट अनुमोदन भयो, जबकि तपाईं व्यक्तिगत रुपमा यो सम्झौताको समर्थक हुनुहुन्थेन । यसमा कुनै खेद छ ?

कुरा यसो हो । मैले भनेको कुरा के हो भने यो नेपालको भाग्य र भविष्यमा दूरगामी प्रभाव पर्ने विषय भएकाले यसमा राष्ट्रिय सहमति हुनुपर्छ । जनताले उठाएका प्रश्नको एक-एक जवाफ दिनुपर्छ ।

सदन अवरुद्धको स्थितिमा थियो । मैले पहिले सदन सुचारु हुनुपर्छ भनें । त्यस्तो भन्दै जाँदा विस्तारै एमसीसीका कारण नै नेपाली समाज ध्रुवीकृत हुनजाने जस्तो अवस्था मैले देखें । त्यसैले यसलाई चाँडै टुंग्याउनुपर्ने आवश्यकता महसुस भयो ।

नम्बर २, म २७५ जनाले चुनेको सर्वसम्मत सभामुख । मेरो भूमिका भनेको अम्पायरको जस्तो हो । यस्तो महत्वपूर्ण विषयमा छलफल गराउनेतर्फ किन नसोचेको भनेर मलाई आफ्नै हितैषीहरुले पनि सल्लाह-सुझाव दिनुभयो । पत्रपत्रिकाहरुले पनि सम्पादकीय लेख्न थालेका थिए । त्यसैले अब यसमा छलफल चलाइदिनु मेरो संवैधानिक दायित्व हो भन्ने सोचें । फागुन २ गते मैले सर्वदलीय बैठक बोलाएको थिएँ । ओलीबाहेक सबै आउनुभएको थियो । त्यो बैठकपछि विस्तारै टेबुल गर्नुपर्छ भन्ने लाग्न थालेको थियो । मैलेमात्रै किन अड्काउने भन्ने भयो ।

अमेरिकाले दिएका धेरै डेडलाइन गइसकेपछि फागुन ८ गते मैले एमसीसी टेबुल गर्ने निश्चय गरें । अन्तरआशय के भने अमेरिका र चाइना आमनेसामने भएका थिए । सडकमा रगत बग्न थालेको थियो । त्यसैले यो धु्रुवीकरण रोक्न एमसीसी टेबल गरेको हुँ । त्यस छलफलमा बोल्न चाहन्छु भन्ने सबैलाई मौका दिएँ । तल नारा लागिरहेको थियो । तर, अघोषित रुपमा राष्ट्रिय सहमति जस्तै थियो । यदि माघ १५ गते नै टेबुल गरेको भए व्याख्यात्मक घोषणा आउँदैनथ्यो । मेरो अडानले व्याख्यात्मक घोषणासम्म त पुग्यो । त्यतिसम्म मैले गर्न सकें ।

– तपाईंले सभामुखको रुपमा धेरै सांसदको भूमिका नियाल्नुभयो होला । तपाईंको मूल्यांकनमा संसदभित्र सबैभन्दा प्रखर वक्ता को-को थिए, जसको प्रस्तुतिले तपाईं प्रभावित बन्नुभयो ?

त्यसरी मूर्त रुपमा अझै पनि भन्ने वेला भएको छैन । केही नामभन्दा अरुलाई अन्याय पनि हुनसक्छ । तर, एउटा नाम चाहिँ सम्झिन चाहन्छु- स्व. प्रदीप गिरी । उहाँले आफ्नो भूमिका धेरै राम्रोसँग निभाउनुभयो । उहाँ बोल्न सुरु गरेपछि ‘पिन ड्रप साइलेन्स’ हुन्थ्यो । पार्टीभन्दा माथि उठेर बोल्नुहुन्थ्यो । उहाँको ज्ञानको आयतन पनि फराकिलो थियो । उहाँको जोडा नै थिएन जस्तो लाग्छ । अरु युवा नेताहरु पनि छन्, जो धेरै राम्रो तयारी गरेर आफ्ना भनाइ राख्थे । नाम चाहिँ नलिउँ होला ।

०००

सिन्धुपाल्चोक जिल्ला, हालको साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुभिण्डेमा जन्मिएका हुन् अग्नि । सामान्य किसान परिवारमा २०१४ सालमा उनको जन्म भएको थियो । उनका चार दाजुभाइ र तीन दिदीबहिनीमध्ये अहिले एक दिदी र एक दाइमात्रै जीवित छन् । उनको सिंगै परिवार जनयुद्धमा लागेको थियो । आफ्नो वंशभित्र मात्रै १५ जनाले जनयुद्धमा ज्यान गुमाएको उनी बताउँछन् ।

सापकोटाको बाल्यकालदेखि जनयुद्धसम्मका स्मृतिहरु उनकै शब्दमा :

मेरो बाल्यकाल अभावग्रस्त रुपमा बित्यो । सामान्य खेतीकिसानी गरेर खान त पुग्थ्यो । तर, बुवाले अलि महत्वाकांक्षा राख्दा आर्थिक स्थिति डामाडोल भएको थियो । उहाँले केही साथीहरुसँग मिलेर भवन निर्माणको ठेक्का लिनुभएको थियो । बजारतिरका साथीहरु टाठाबाठा थिए । उनीहरुले नाफा हुँदा आफू खान्थे, घाटा हुँदा बुवामाथि थोपर्थे । यसरी बुवा ठूलो आर्थिक संकटमा पर्नुभएको थियो । अरुले हेर्दा केही छ जस्तो । तर, भित्रभित्र खोक्रो भएको थियो हाम्रो परिवार ।

मैले चौतारामा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा पढें, जुन मेरो घरबाट दुई घन्टा दूरीमा थियो । मासिक शुल्क थोरै थियो । तर, त्यो पनि नियमित तिर्नसक्ने अवस्था थिएन । शुल्क नतिरेका कारण मैले विद्यालयको अर्ध-वार्षिक परीक्षा कहिल्यै पनि दिन पाइँन । वार्षिक परीक्षा चाहिँ हरहालतमा दिन्थें । यसका लागि कहिले आमाले सुनका गहना बेच्नुपर्थ्यो । तर, कहिले बुवाले ऋण खोज्नुपर्थ्यो ।

विद्यालयमा खाजा खाने भनेको अपवादमा मात्रै हुन्थ्यो । १० पैसामा चिया र १५ पैसामा मालपुवा खान पाइन्थ्यो । तर, त्यो पनि आकाशको फल हुन्थ्यो मेरा लागि । कदाचित खल्तीमा एक सुका (२५ पैसा) छ भने म आफूलाई भयंकर धनी सम्झिन्थें । दिनमा सयचोटि जति खल्ती चेक गर्थें, पैसा छ कि छैन भनेर । एक रुपैयाँ त देख्नै गाह्रो थियो ।

जनयुद्ध लड्ने निर्णयसँगै हातहतियारको जोहो गर्न थाल्यौं । थुप्रै हातहतियार खरिद गर्‍यौं । जनसेना गठन गर्‍यौं । भारतको पिपुल्स वार नामक विद्रोही संंगठनले हाम्रा जनसेनालाई तालिम दिएको थियो । उहाँहरुका सैन्य कमाण्डरहरु नेपालमै आएर तालिम दिनुभएको हो ।

बाल्यकालदेखि नै ममा वामपन्थी रुझान सुरु भएको हो । सानो छँदा चीन र माओत्से तुङका धेरै किस्सा सुनिन्थे । माओले बिहान एउटा रुप, दिउँसो अर्को रुप, राति अर्को रुप धारण गर्थे रे भन्थे । उनको गालाको कोठी बढेर मुखमा पुगेको भए संसारै कब्जा गर्नुहुन्थ्यो रे पनि भन्थे । यस्ता काल्पनिक कुराहरुले पनि मलाई गहिरो प्रभाव परेको थियो । चीनमा अन्याय, अत्याचार, विभेद र शोषण हुँदैन, त्यहाँ धनी-गरीब कोही छैनन्, सबै मान्छे उत्तिकै खुशी र सुखी छन् भन्ने पनि सुनिन्थ्यो । यसले पनि मलाई कम्युनिष्टप्रति आकर्षण बढ्दै गयो ।

हाम्रो जिल्ला चीनसँग जोडिएको र चिनियाँ बजारमा पहुँच हुनाले पनि हामी त्यता बढी ढल्कियौं । हाम्रो विचार नै उत्तरतर्फ ढल्कियो । बुवाहरु औषधोपचार गर्न, सरसामान किन्न खासा जानुहुन्थ्यो । २०२५/२६ सालतिर अरनिको राजमार्ग बन्दै गर्दा चाइनिजहरु बाटो खन्न आएका थिए । उनीहरुले अपेरा (नाटक) देखाउँथे । ती नाटकहरुमा आफ्नो देशको बारेमा बखान गरिएको हुन्थ्यो । त्यसले पनि प्रभाव पार्‍यो ।

राजनीतिप्रति झुकाव बढ्दै जाँदा २०२९ सालमा म विद्यार्थी संगठनमा संगठित भएँ । ९ कक्षामा पढ्थें त्यसवेला । २०३१ सालमा एसएलसी पास गरें । २०३२ साल माघ २ गते तातोपानीको दोक्चेन प्राथमिक विद्यालयको हेडमास्टर भएँ । त्यसवेला प्राथमिक विद्यालयको हेडमास्टर हुन एसएलसी पासको शैक्षिक योग्यता पर्याप्त थियो । हेडमास्टरको तलब १८२ रुपैयाँ ५० पैसा थियो । यसले मेरो परिवारलाई धेरै भरथेग भयो ।

दोक्चेनमा पढाउँदै गर्दा मेरो सोच र चिन्तनमा गुणात्मक परिवर्तन आयो । खासा र दोक्चेन वल्लो र पल्लो भित्ताजस्तै थिए । दिनभरि पारिबाट बज्ने धुनहरु सुनिन्थ्यो । त्यसको प्रभाव ममा अहिले पनि छ । फुर्सदमा चाइनिज धुनहरु खोलेर सुन्ने गर्छु । दोक्चेनमा शेर्पाहरु बढी थिए । उनीहरु ‘माथिको सरकार जाति छ’, ‘तलको सरकार जाति छैन’ भन्थे । ‘माथि’ अर्थात चीनमा औषधोपचार गर्न पैसा नलाग्ने भएकाले उनीहरुमा त्यस्तो छाप परेको थियो ।

मलाई त्यो विद्यालयमा पढाउँदा सबैले असाध्यै माया गर्थे । म रक्सी, चुरोट, खैनी, बिँडी केही पनि नखाने भएकाले पनि अरुभन्दा वेग्लै छवि थिएँ । म त्यही विद्यालयमा रहन चाहन्थें । तर, मैले राम्रो काम गरेको भनेर विद्यालय निरीक्षकले १० महिने तालिमका लागि सिफारिस गरिदिए । जागिर छोड्ने कि तालिममा जाने भनेर छान्नुपर्ने जस्तो अवस्था आयो । त्यसपछि म आठै महिनामा दोक्चेन छाडेर तालिममा गएँ ।

१० महिने तालिमपछि म बाघभैरव निमावि ठोकर्पाको हेडमास्टर भएँ । तर, त्यहाँ धेरै समय रहिनँ । आफूलाई चित्त नबुझेको कुरामा राय बुझाइहाल्ने स्वभाव थियो । सञ्चालक समितिको अध्यक्षसित मेरो राय बाझियो । उहाँ गाउँ फर्क जिल्ला समितिको सचिव हुनुहुन्थ्यो । उहाँले मलाई थाहै नपाइकन जनजागृति माध्यमिक विद्यालय साँगाचोकमा सरुवा गरिदिनुभयो ।

साँगाचोकमा मैले १३ वर्ष पढाएँ । योबीचमा मैले प्राइभेट परीक्षा दिएर स्नातकसम्मको अध्ययन पूरा गरिसकेको थिएँ । म जाँदा जनजागृति निमावि थियो । पछि मावि भयो । बीए पास भएपछि म माविको हेडमास्टर भएँ । मैले अर्थशास्त्र र नेपाली पढेको हुँ । मेजर अर्थशास्त्र हो । पछि डबल डिप्लोमा पनि गरें ।

२०४०÷४२ सालतिर साँगाचोकमा हाइस्कुलको हेडमास्टर हुँदा नेपाल राष्ट्रिय शिक्षक संगठनको महासचिव पनि थिएँ । भूमिगत राजनीति गरिरहेको ‘मोटो मशाल’को जिल्ला सचिव पनि थिएँ । यसरी तीन-तीनवटा गह्रुंगा र संवेदनशील जिम्मेवारी काँधमा बोकेर हिँड्न मलाई सकस परिरहेको थियो । सुरक्षाका हिसाबले पनि निकै कठिन अवस्था थियो । कहीं पार लाग्ने कुरा हो र ? भनेर आफैं सोच्थें ।

हेडमास्टर हुँदाको लोकप्रियता

म साँगाचोकको हाइस्कुलमा पनि निकै ‘पपुलर’ थिएँ । एकप्रकारले म जनअनुमोदित हेडमास्टर जस्तो भएँ । तर, भित्रभित्र कम्युनिष्ट राजनीतिमा संलग्न रहेको कुरा सरकारी संयन्त्रहरुले थाहा पाइहाले । त्यसपछि मलाई स्कुलबाट निकाल्न भगीरथ प्रयास भयो । मेरो निहुँमा ८ महिनासम्म विद्यालयको तलब नै निकासा गरिएन । तर पनि सबैले धैर्य गरेर साथ दिए ।

आठ महिनापछि शिक्षा मन्त्रालयले अभिभावकको भेला बोलाएर मलाई सीधै निष्काशन गर्ने योजना बनायो । जिल्ला शिक्षा अधिकारी भेलामा जान सकेनन् र अरुलाई पठाएका थिए । तर, सरकारले सोचेभन्दा भेलाले ठीक उल्टो निर्णय लियो । शिक्षकहरुको तलब सात दिनभित्र निकासा गर्नुपर्ने, नत्र अभिभावक र विद्यार्थीहरु सातौं दिनमा शिक्षा कार्यालय घेर्न जाने निर्णय भयो । अभिभावकले सञ्चालक समितिलाई त्यो निर्णय गर्न बाध्य बनाए ।

यस्तो निर्णय लिएपछि त मलाई तुरुन्तै निकाल्छन् भन्ने लागेको थियो । तर, पाँचौं दिनमा विद्यालयको भए जति सबै तलब–भत्ता निकासा भयो । मैले त कल्पना पनि गरेको थिइनँ कि पञ्चायती शासकहरु पनि झुक्छन् भनेर । तर, म जनताको मनभित्र पसिसकेको रहेछु । मेरो पक्षमा यति बलियो जनसमर्थन थियो कि त्यसले पञ्चायती शासकलाई समेत झुक्न बाध्य बनायो । म कम्युनिष्ट थिएँ । तर, कांग्रेस र पञ्चका छोराछोरीलार्ई पनि उत्तिकै माया गर्थें । मेरो यस्तो व्यवहारले पनि सबैलाई प्रभावित बनाएको थियो । उनीहरु मेरा निम्ति जे गर्न पनि तयार थिए ।

२०४६ सालमा देशमा प्रजातन्त्र आयो । प्रजातन्त्र ल्याउने आन्दोलनमा म पनि पक्राउ परेको थिएँ । मलाई चौतारामा ल्याएर थुनेका थिए । त्यसअघि पनि कैयौंपटक पक्राउ पर्ने, हिरासत बस्ने र जनदबाबमा छुट्ने भइरहेको थियो । सबैभन्दा लामो समय भनेको ७ महिना जेल बसेको छु ।

हुन त लडाइँका वेलामा ‘डर’ भन्ने नै हुन्थेन । योद्धाहरुबीच लडाइँको अग्रभागमा जान तँछाडमछाड नै हुन्थ्यो । जान नपाउने रुन्थे । सानो बलिदानी थिएन त्यो । उडेर पहाड नाघ्न सकिन्छ, पौडेर सागर तर्न सकिन्छ भन्ने खालको जोश हुन्थ्यो ।

२०४६ सालको फागुन ७ गते मलाई पक्राउ गरिएको थियो । चौतारा ल्याएर मलाई हिरासतमा राखेको वेलामा विद्यार्थीहरु टाकटुकै सोहोरिएर चौतारा आए । उनीहरुले चौकी घेर्न त सकेनन् । तर, राजमार्गमा चल्ने बसहमाथि आक्रमण र तोडफोड गरेर आफ्नो आक्रोश पोखे । उनीहरुको त्यस्तो प्रतिक्रियाले हिरासतभित्र म चाहिँ झन् आतंकित बनिरहेको थिएँ । मलाई अब यसै छाड्दैनन् भन्ने भइरहेको थियो ।

तर, विद्यार्थीहरुको त्यो आन्दोलनको परिणाम राम्रै भयो । मलाई हिरासतबाट जेलमा सारियो । जेलभित्र पद्मरत्न, धु्रवराम भण्डारी, योगेश भट्टराई, हरि रोकाहरु थिए । हिरासतभन्दा जेलमा धेरै सुरक्षित महसुस भयो । हिरासतमा त जे पनि गर्न सक्थे । प्रजातन्त्र आएकै दिन चैत २६ गते म छुटें । त्यसपछि फेरि केही समय विद्यालयमा पढाएँ ।

२०४८ सालमा मैले शिक्षकबाट राजीनामा दिएर जनमोर्चाबाट संसदीय चुनाव लडें । तर, पराजित भएँ । साविक २ नम्बरबाट एमालेले जित्यो भने म तेस्रो भएको थिएँ । व्यक्तिगत रुपमा म लोकप्रिय भए पनि पार्टीको संगठन बलियो नहुँदा चुनाव जित्न सकिनँ । त्यसपछि म संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भएँ । डा. बाबुरामजी संयोजक हुनुहुन्थ्यो । उहाँसँग म देशव्यापी आमसभामा हिँडे । अनि, पार्टीले जनयुद्धको आन्तरिक तयारी सुरु गर्‍यो । हामी त्यसमा लाग्यौं ।

जनयुद्धअघि नै वारेन्ट

जनमोर्चा भनेको एकता केन्द्रको वैधानिक मञ्च थियो । एकता केन्द्रमा नरबहादुर कर्माचार्य अध्यक्ष र प्रचण्ड महासचिव हुनुहुन्थ्यो । त्यसवेला प्रचण्डको भूमिगत नाम ‘निर्माण’ थियो । जनयुद्धको तयारी गर्दै अगाडि बढिसकेपछि हाम्रोबीचमा अन्तरविरोध पैदा भयो । निर्मल लामाजीहरु अहिले जनयुद्ध गर्नुहुँदैन भन्ने पक्षमा उभिनु भयो । हामी चाहिँ तयारीमा लागिसकेका थियौं । यही विवादले पार्टी फुट्यो । उहाँहरुले एकता केन्द्रलाई नै निरन्तरता दिनुभयो । हामीले प्रचण्डको नेतृत्वमा नेकपा माओवादी बनायौं । २०५१ सालको असोजमा चितवनमा राष्ट्रिय सम्मेलन गरी एकता केन्द्रलाई नेकपा माओवादीमा रुपान्तरण गरेर जनयुद्ध लड्ने निर्णय गरियो ।

जनयुद्ध लड्ने निर्णयसँगै हातहतियारको जोहो गर्न थाल्यौं । थुप्रै हातहतियार खरिद गर्‍यौं । जनसेना गठन गर्‍यौं । भारतको पिपुल्स वार नामक विद्रोही संंगठनले हाम्रा जनसेनालाई तालिम दिएको थियो । उहाँहरुका सैन्य कमाण्डरहरु नेपालमै आएर तालिम दिनुभएको हो । सुरुमा हामीसँग अत्याधुनिक हातहतियार थिएनन् । सामान्य खालका पेस्तोलहरुमात्र जम्मा गरिएको थियो । राज्यसँग लडाइँ सुरु गरेपछि आधुनिक हतियारहरु सेना र प्रहरीबाटै हामीले कब्जा गर्दै गएका हौं । पुलिस चौकीबाट थ्री नट थ्रीदेखि बाह्रबोरहरु र पछि फ्रेन्च मोटारसमेत कब्जा गरियो ।

जनयुद्ध सुरु हुनुअघि म खोटाङमा खटिएको थिएँ । हामी विद्रोहको तयारी गर्दै थियौं । २०५२ सालको माघ १८ गते पुलिसले मेरो कुभिण्डेको स्कुलमा गएर एउटा शिक्षकलाई कक्षाकोठाबाटै थुत्ने कोसिस गरेछन् । त्यसपछि त सिंगै जनता उल्टिएर पुलिसलाई लखेटेछन् । यसक्रममा एकजना पुलिसले खोलामा हामफालेर ज्यान गुमाए । फागुन २ गतेबाट जनयुद्ध सुरु गर्ने निर्णय भएको थियो । माघमै कुभिण्डेमा यसरी विद्रोह भयो । त्यसपछि त्यहाँ भयानक ठूलो दमन भयो । मलाई माघ १८ गते नै वारेन्ट जारी गरियो । त्यहीदेखि नै म भूमिगत भएँ ।

सुरु-सुरुमा त ‘हिट एन्ड रन’ को रणनीति थियो । बढीभन्दा बढी गतिशील भएर रक्षा गर्‍यौं आफूलाई । सुरक्षाको पहिलो आधार भनेको गतिशीलता नै हो भन्ने हाम्रो विश्वास थियो । त्यो भनेको एकै ठाउँमा नबस्ने र सरिरहने । पछिपछि खास-खास ठाउँलाई आधार इलाकाका रुपमा स्थापित गर्‍यौं । आधार इलाकामा सुरक्षित महसुस हुन्थ्यो । सेना-प्रहरीको प्रतिरोध गर्न सक्छौं भन्ने लाग्थ्यो ।

म माओवादीमा सुरुदेखि केन्द्रीय सदस्य थिएँ । मूलतः म राजनीतिक कमिसार हो, कमाण्डर होइन । हाम्रो भूमिका भनेको बढी राजनीतिक हुन्थ्यो । यद्यपि जनसेनाको आधारभूत तालिम सबैले लिनैपर्थ्यो । लडाइँमा प्रत्यक्ष संलग्न नभए पनि धेरैपटक प्रहरी र सेनाको निशानामा परेको छु । बालबाल बाँचेको छु । एकपटक शरीरमा तीन गोलीले छेड्यो । दाग अहिले पनि छ । ती घटना अहिले पनि ताजा लाग्छ । मैले भोगेको सबैभन्दा ठूलो त्रासदीपूर्ण घटना २०६२ साल चैत १४ गते ठोकर्पाको हो ।

जब तीन गोलीले छेड्यो

त्यो दिन जनमुक्ति सेनाले धेरै महत्वपूर्ण हतियार कब्जा गरेको थियो काभ्रेबाट । त्यसका लागि जनमुक्ति सेनालाई अभिनन्दन गर्ने कार्यक्रम ठोकर्पामा राखिएको थियो । त्यो कार्यक्रममा कमाण्डर वर्षमान पुन पनि पूर्वबाट आउनुभएको थियो । ओनसरी घर्ती पनि हुनुहुन्थ्यो । मसँग मेरो भाइ, म्याडम र कान्छो छोरा थिए । हामी यता वाफलमा थियौं, जुन तुलनात्मक रुपमा आधार इलाका जस्तो मानिएको थियो । ठोकर्पा ‘श्वेत इलाका’ मा पर्थ्यो । यसलाई अब ‘लाल इलाका’ मा उकास्ने रणनीतिसहित पूर्वको सबै सैन्य फोर्स त्यहाँ केन्द्रित गरेका थियौं ।

चैत १४ गते १० बजेतिर हामी त्यहाँ पुग्यौं । दिउँसो ११ बजे खाना खान सुरुमात्रै के गरेका थियौं, त्यहाँ बजिरहेको चाइनिज रेडियोले ‘अग्नि सापकोटा, वर्षमान पुनलगायतका नेताहरु हरियो टिनको छानामुनि दोस्रो तल्लामा खाना खाँदैछन्’ भन्ने सेनाको संवाद सुनाइदियो । सेनाले सेटमा बोलेको कुरा रेडियोमा टिप्दोरहेछ । खाना खान बसेका मात्रै थियौं, त्यो सुनेपछि जर्‍याकजुरुक उठेर हिँड्यौं ।

हामी निस्किनासाथ माथि हेलिकोप्टर घुमेको आवाज आइहाल्यो । तत्काल बमवर्षा सुरु भयो । अरु फोर्सलाई त्यही छाडेर हामी लिडरसिप घरको साइड लिँदै जंगलमा पुग्यौं । दिनभरि त्यही लुक्यौं । बेलुकी ४ बजेपछि वर्षामानले भन्नुभयो- ‘कञ्चनजी (मेरो भूमिगत नाम) जनयुद्ध सुरु भएदेखि अहिलेसम्म ४ बजेपछि सेना आएको रेकर्ड छैन, अब निस्किऔं ।’ उहाँ लडाइँको अनुभवी भएकाले हो भन्ने भयो । त्यहाँबाट निस्कियौं । तर, खाली खेतमा पुग्नासाथ हामीलाई हेलिकोप्टरले पछ्याइहाल्यो ।

हतार-हतार खोल्सो तर्‍यौं र झाडीभित्र पस्यौं । बुट्यानहरु समात्दै उकालो लाग्यौं । उनीहरुले हेलिकोप्टर जमिनमा राखेर गोलीका वर्षा सुरु गरे । हामी अगाडि बढ्दैछौं । त्यसक्रममा हामी पनि आपसमा छुट्टिने सल्लाह भयो । वर्षमान-ओनसरी पल्लोपट्टिको डाँडाबाट उँभो लाग्नुभयो र हामी वल्लोपट्टिको डाँडाबाट उक्लियौं । मसित भाइ (अहिले साँगाचोकगढीका मेयर) र मेरा अंगरक्षक थिए । भाइ अगाडि, अंगरक्षक पछाडि र म माझमा ।

बाटोमा एउटा पहिरो जसरी धसारिएको अप्ठेरो ठाउँ थियो । मेरो भाइले सेतो-सेतो कमिज लगाएको थियो । उनीहरुले ताकेको मेरो भाइलाई, तर ऊ अगाडि बढ्दा मलाई तीनवटा गोली लाग्यो, एम १६ को । एउटा हातमा, एउटा पेटमा र अर्को तिघ्रामा । तीनवटै गोली मासु छेडेर बाहिर निस्किएछन् । गोली लागेर पनि म ढलेको थिइनँ । बल्लतल्ल त्यो ठाउँ क्रस गरेर झाडीमा पुगियो ।

एकैपटक धेरै गोली लागेपछि त लुगा पनि जल्दोरहेछ । मेरो अन्डरवेयरसमेत जलेको हुँदा टावेल मागेर बेरें । पहिले त कताकता गोली लाग्यो भन्ने पनि भेउ थिएन । पछि हेर्छु, यता पनि रगत बग्या छ, त्यता नि बग्या छ ।

सेनाले ६ बजेसम्म नि छोड्दै छोडेन । हामी बामे सर्दै हिँड्या छौं । एउटा खाली खेतमा पुगियो । माथि नाइटभिजन हेलिकोप्टर घुम्दै थियो । हामी कान्लाको आड लगाएर बाँच्यौं । फेरि एक घन्टा हिँँडिसकेपछि राति जंगलमा पुगियो । वर्षामानजीहरु त्यही भेटिनुभयो । उहाँहरुसँगै फेरि रातभरि हिँडेर भोलिपल्ट बिहान ८ बजे रामेछापको दर्गामा पुग्यौं ।

वास्तवमा त्यो हिँडाइमा मैले विज्ञानका नियमहरु नै क्रस गरेको जस्तो लाग्छ । तीन ठाउँमा गोली लागेको ज्यानलाई लतार्दै भोको पेट कसरी हिँडे होला ? अघिल्लो दिन १३ गते बेलुका ७ बजेतिर खाइएको थियो । त्यसको पर्सिपल्ट बिहान ८ बजे ३७ घन्टासम्म पेटमा पानी पनि परेको थिएन । दर्गामा पुगिसकेपछि बल्ल थकाइ मार्न पाइयो । गोली लागेका घाउ अहेवहरुले सफा गरिदिए । अध्यक्ष प्रचण्ड छट्पटिनुभएको रहेछ । वर्षमानले प्रचण्डसित स्याटेलाइटमा सम्पर्क गर्नुभयो । मैले पनि रिपोर्ट गरें ।

त्यतिञ्जेलसम्म म औधी कमजोर भइसकेको थिएँ । केही दिनसम्म औषधिमुलो गरेर बसें । तर, अस्पताल भने गइएन । अहेवकै बलमा तीन गोलीले बनाएको घाउलाई निको बनाइयो । अहिले लाग्छ, म चान्सले बाँचेको हुँ । सायद देशका लागि केही गर्नकै लागि म जिउँदो रहें । त्यो घटनाबाट मलाई भौतिक मृत्युको डर हरायो । आजका दिनमा पनि मलाई मृत्युको चिन्ता छैन ।

हुन त लडाइँका वेलामा ‘डर’ भन्ने नै हुन्थेन । योद्धाहरुबीच लडाइँको अग्रभागमा जान तँछाडमछाड नै हुन्थ्यो । जान नपाउने रुन्थे । सानो बलिदानी थिएन त्यो । उडेर पहाड नाघ्न सकिन्छ, पौडेर सागर तर्न सकिन्छ भन्ने खालको जोश हुन्थ्यो । बाटोमा हिँड्दा ढुंगा फुट्थे । एकपटक जनमुक्ति सेनाको प्लाटुन कमाण्डरले त बसभन्दा म छिटो हुन्छु भनेर बसबाट ओर्लिएर दौडिएको घटना पनि छ ।

पटनादेखि पटनासम्म

साल याद भएन, असार २ गतेको कुरा हो । प्रभु साह, सन्तु दराइ, रितबहादुर खड्का र म इन्डियाबाट नेपाल आउँदै थियौं । रौतहटको पिप्रामा बास बसियो । भोलिपल्ट पिप्राबाट रामेछाप/काभ्रेतिर आउनुपर्ने थियो । खाना खाएर निस्कँदा सुरुमा एउटै मोटरसाइकलमा तीनजना बसेका थियौं । तर, चलाउने मान्छे पनि मोटे रहेछन्, मेरो पनि वजन बढी । मोटरसाइकल घ्याच्चै भयो । त्यसपछि म त्यसमै बसेर अर्को मोटरसाइकलमा रितबहादुरजी चढ्नुभो ।

मलाई लिएर जाने मोटरसाइकल चालकलाई अलिकति सतर्कता अपनाउनुपर्छ भन्ने लागेछ । उनले बजारको बाटो नलगेर साइडको बाटो लगे । रितबहादुर खड्कालाई लैजानेले बजारकै बाटो लगेछन् । उनीहरुलाई बजारमै प्रहरीले भेटेर घेरा हालिहाले । रितबहादुरजी घेरा तोडेर उखुबारी-बारी भाग्नुभएछ । प्रहरीले लखेट्ने क्रममा उहाँ एउटा ठूलो दलदलमा पर्नुभएछ ।

एक घन्टामा हामी एउटा गाउँमा पुग्यौं । बेलुका ४ बजेसम्म कोही आउँदैन । असाध्यै तनाव भयो । ४ बजेपछि त्यो मान्छे म त फर्किन्छु भन्छ । आफू एक्लै छु । कोही चिनेको छैन । त्यसपछि मैले जहाँबाट ल्याएको हो त्यही पुर्‍याइदिनुस् भनें । त्यसपछि उनले फेरि मलाई पहिलेकै ठाउँमा फर्काइदिए ।

त्यो गाउँमा पूरै आतंक छाएको अवस्था थियो । ‘खड्का थरको मान्छेलाई गोली हान्यो रे’ भन्ने हल्ला सुनियो । मन आत्तियो । के गर्ने, कसो गर्ने भन्दाभन्दै साँझ पर्‍यो । मोटरसाइकल हाँक्ने त फर्किसकेको थियो । गाउँलेहरुलाई मलाई यो गाउँबाट सार्नुस् भनें । उनीहरु कफ्र्यु लागेको छ, हिँड्न हुँदैन भन्छन् । बरु मलाई त्यहाँको एउटा मिलभित्र रातभरि लुकेर बस्न सल्लाह दिए । ‘हामी बाहिरबाट ताल्चा लगाइदिन्छौं, कसैले शंका गर्दैनन्’ भने । तर, मैले मानिनँ । अर्को गाउँमा पुर्‍याइदिनुस् भनें । मैले निकै जोड गरेपछि उनीहरु तयार भए । केही मानिसहरुले लिएर गए ।

उनीहरु सबै आत्तिएका छन् । रोडनिर गएपछि छिनछिनमै पिसाब गर्न खोज्छन् । चारजना थिए । रोड क्रस गराइसकेपछि एउटा ठूलो सामन्तको घरमा मलाई पुर्‍याइदिए । धन्न सामन्त घरमा रहेनछन् र एकजना शिक्षक उसको घर हेर्न बसेका रहेछन् । त्यो थाहा पाएपछि म अलि ढुक्क भएँ । मलाई त्यहाँ छोडेर चारैजना टाप कसिहाले । म त्यही घरमा बसें ।

अमेरिकाले दिएका धेरै डेडलाइन गइसकेपछि फागुन ८ गते मैले एमसीसी टेबुल गर्ने निश्चय गरें । अन्तरआशय के भने अमेरिका र चाइना आमनेसामने भएका थिए । सडकमा रगत बग्न थालेको थियो । त्यसैले यो धु्रुवीकरण रोक्न एमसीसी टेबल गरेको हुँ । त्यस छलफलमा बोल्न चाहन्छु भन्ने सबैलाई मौका दिएँ ।

उज्यालो नहुँदै ती मास्टरले पनि मलाई अर्को घरमा सारिदिए । रोड नजिकै एउटा फिनिसिङ नभएको घरमा छाडेर उनी हिँडे । म पछि आउँछु भनेर हिँडेका आउँदै आउँदैनन् । दिन बितिसक्यो । बल्लबल्ल ३ बजेतिर आए । मैले उनलाई नाका कटाएर पारी पुर्‍याइदिन आग्रह गरें । दसौंचोटि भनें होला, मुख्य नाकाबाट होइन है, सहायक नाकाबाट भनेर । मुख्य नाका भनेको गौर थियो । उनले हुन्छ हुन्छ भने ।

मलाई त्यताको ठाउँ केही थाहा छैन । उनले मलाई आफ्नो साइकलमा चढाउन डराए । उनी साइकलमा अघिअघि हिँडे, म पछिपछि दगुरें । स्थानीय जस्तो देखिन काँधमा गम्छा भिरेको छु, चप्पल लगाएको छु, चर्को घाम छ । खुट्टामा फोका उठिसक्यो । तैपनि चाँडोभन्दा चाँडो पारि पुगेर सुरक्षित हुन्छु भनेर कुद्या छु ।

करिब २ घन्टामा १२ किलोमिटर जति कुदें । तर, त्यतिवेला छांगाबाट खसेझैं भएँ, जब ‘गौर नगरपालिका’ लेखिएको साइनबोर्ड देखें । सहायक नाकाबाट है भनेर कैयौंपटक दोहोर्‍याएको उनले वास्तै नगरी गौरमै ल्याइदिएछन् । त्यहाँ एकदमै असुरक्षित महसुस भयो । कता प्रहरी चौकी छ, कता के छ केही पनि थाहा छैन । उनलाई घाँडो पन्छाइदिउँ भन्ने भयो होला । आँखा सन्काएर म गएँ भन्दै हिँडिहाले ।

उनी गएपछि यताउता हेरें । पारिबाट आएको टाँगाले ‘नेपाल…नेपाल…’ भन्यो । त्यसमा अगाडिपट्टि फर्किएको सिट भरिएको थियो । पछाडि फर्किने एक सीट खाली रहेछ । सट्ट बसें । टाँगा कुद्यो । अब जोगिन्छु कि भनेर अलिकति आँट बढ्यो ।

त्यहाँ नियम कस्तो लगाइएको रहेछ भने एउटा निश्चित ठाउँमा पुगेपछि टाँगाबाट यात्रुलाई झारेर अलिकति हिँडाउने, अनि फेरि टाँगामा राखेर पारि पुर्‍याउने । सायद सुरक्षा त्रासका कारण त्यस्तो गरिएको थियो । मलाई त थाहा भएन । ओर्लिने भनेपछि पैसा दिन खोजें । टाँगा चलाउनेले आइपुगेको छैन, अलिकति हिँड्नुपर्छ भन्यो । त्यसपछि म पनि अरुसँगै हिँडे र फेरि टाँगा चढे । पारि पटना पुगेपछि लामो सास फेरें । तर, मसँगै जानुभएका रितबहादुर खड्का मारिनुभएको कुराले मन भत्भती पोलिरह्यो ।

असफल शान्ति वार्ता

सरकार र माओवादीबीच भएको पहिलो शान्ति वार्तामा म संलग्न थिएँ । जनयुद्धको मुख्य आधार इलाका रोल्पा/रुकुमका कृष्णबहादुर महारा संयोजक हुनुहुन्थ्यो । पूर्वको प्रतिनिधित्व गर्ने हिसाबले म र पार्टीको आन्तरिक डाइनामिक्स मिलाउन टोपबहादुरजीलाई समावेश गरेर वार्ता टोली बनाइएको थियो ।

सरकार-माओवादी युद्धविराम भएपछि हामी तीनजना गाडी चढेर वार्ताका लागि काठमाडौं आयौं । बेलुका कीर्तिपुरमा दिलीप महर्जनजीको घरमा बास बसियो । त्यहाँ हाम्रो लागि सुरक्षा क्याम्प नै खडा गरिएको थियो ।

भोलिपल्ट बिहान हामी कीर्तिपुरको विश्वविद्यालय हातादेखि उता एकाएक निस्कियौं । त्यहाँबाट पूरै कीर्तिपुर बजार परिक्रमा गरियो र कीर्तिपुरको मध्यभागमै सभा गरियो । तीनैजनाले बोल्यौं । त्यसवेला माओवादी कस्ता हुन्छन् भन्ने जनमानसमा ठूलै कौतुहलको अवस्था थियो । हामीलाई हेर्न र सुन्न मानिसहरुको अपार भीड लाग्यो । झ्यालझ्यालबाट हामीलाई पुष्पवृष्टिसमेत गरिएको थियो । सबैको चाहना र कामना भनेको देशमा अब शान्ति छाओस् भन्ने नै थियो ।

तर, सरकारको रणनीति हामीलाई वार्तामा अल्मल्याउनेमात्रै रहेछ । सरकारको तर्फबाट चिरञ्जीवी वाग्ले, विजय गच्छेदार, नरहरि आचार्य, महेश आचार्यलगायत पाँचजना हुनुहुन्थ्यो । हामीले आफ्नो बटमलाइनका रुपमा संविधासभाको माग राख्यौं । उहाँहरु त्यसमा तयार हुनुभएन । उहाँहरुलाई संविधानसभाको माग पूरा गर्न म्यान्डेट नै थिएन । कहिले काठमाडौंको गोदावरीमा, कहिले बर्दियाको निकुञ्जमा विभिन्न चरणमा वार्ता भयो । तर, सहमति हुन सकेन । अन्ततः हामी वार्ता भंग गरेर हिँड्यौं ।

राजतन्त्र उखेलिएर गणतन्त्र आउनु सामान्य परिवर्तन होइन । धर्मनिरपेक्षता, संघीयता, समानुपातिक सबै जनयुद्धकै परिणाम हुन् । जनआन्दोलनले पनि बल पुर्‍याएको हो । तर मुख्य आधारशीला जनयुद्ध नै थियो ।

वार्ता भंग भएको दिन नै हामीले दाङ हान्यौं । स्याङ्जाको हेडक्वाटर कब्जा गरियो । सल्लेरी पनि हान्ने योजना थियो । तर, प्राविधिक गल्तीले हुन सकेन ।

०००

‘जनयुद्ध लडेकोमा मलाई गर्व छ’

आज फागुन १ गते अर्थात् माओवादीले मनाउने ‘जनयुद्ध दिवस’ । माओवादी नेतृत्वको सरकारले पहिलोपटक ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिएको छ । यसले माओवादी पंक्तिमा खुशीयाली त छाएको छ । तर, आमजनताको प्रतिक्रिया भने सकारात्मक छैन । १७ हजार नेपालीको ज्यान जानेगरी भएको हिंसात्मक आन्दोलनलाई राज्यले नै जनयुद्धका रुपमा मान्यता दिनु गलत भएको तर्क धेरैले गरिरहेका छन् ।

जनयुद्धका सूत्रधारमध्येकै एक हुन् अग्नि सापकोटा । नेतृत्वको पहिलो लेयरमा नभए पनि जनयुद्धका क्रममा आममानिसले चिन्ने थोरै माओवादी नेतामध्ये उनी एक थिए । आज उनी माओवादी पार्टीको ‘भाइटल’ नेतामा पर्छन् । आफूहरुले १२ वर्षसम्म लडेको जनयुद्धलाई उनी कसरी समीक्षा गर्छन् ? सापकोटासँग गरिएको सवालजवाफः

– माओवादीले युवाहरुलाई ठूल्ठूला सपना देखाएर युद्धमा होम्यो । तपाईंहरु आफैं पनि होमिनुभयो । आजका दिनमा फर्केर हेर्दा यति ठूलो युद्धले देशलाई कुनै उपलब्धि दियो जस्तो लाग्छ ?

जनयुद्धबाट उपलब्धि त हासिल भएकै छ । यद्यपि, जनताको जीवनस्तरमा परिवर्तन ल्याउन जे गर्नुपर्थ्यो त्यसमा कमि भएको चाहिँ अवश्य हो ।

– तपाईंहरुले त ‘जनगणतन्त्र’ को निम्ति युद्ध लड्नुभएको थियो । तर, आज यही संसदीय राजनीतिको भासमा पर्नुभएको छ । जनयुद्धको औचित्य कसरी पुष्टि हुन्छ ?

औचित्य त शानदार ढंगले पुष्टि हुन्छ । जस्तोः महिला, दलित, जनजाति, आदिवासी, सिमान्तकृत जनसमुदायलगायतमा जुन खालको परिवर्तनको ज्वारभाटा आयो, यो सामान्य उपलब्धि होइन । राजतन्त्र उखेलिएर गणतन्त्र आउनु सामान्य परिवर्तन होइन । धर्मनिरपेक्षता, संघीयता, समानुपातिक सबै जनयुद्धकै परिणाम हुन् । जनआन्दोलनले पनि बल पुर्‍याएको हो । तर, मुख्य आधारशीला जनयुद्ध नै थियो ।

– व्यवस्था त परिवर्तन भयो । तर, जनता खुशी छैनन् । देशको अवस्था सप्रेको छैन । अन्तर्राष्ट्रिय मानचित्रमा हामी निरन्तर खस्किरहेका छौं । राजनीतिक परिवर्तनलाई नै उपलब्धि मान्न सकिन्छ र ?

मैले के स्पष्ट पार्नुपर्छ भने शान्ति प्रक्रियामा आइसकेपछि संविधान बनाउने कुरामा नै हामीले सर्वाधिक जोड दिनुपर्थ्यो र यसमा केन्द्रित हुनुपर्थ्यो । त्यसो गरेको भए योभन्दा राम्रो संविधान पहिल्यै संविधानसभाबाट बन्न सक्थ्यो । तत्कालीन विश्व परिस्थिति र समग्र देशको परिस्थिति ठीक ढंगले आँकलन गर्न हामीले नसकेकै हो । मुखमा संविधानसभा र मनमा विद्रोह भन्यौं । त्यो बेठीक रणनीति थियो ।

हामीले संविधानसभालाई सफल पार्नेमा नै सम्पूर्ण रुपमा केन्द्रित हुनुपर्थ्यो । हामी अव्यवहारिक र अवस्तुवादी प्रतिकूल कुरामा लागेको हुँदा संविधानसभा नचाहनेहरुलाई विघटन गर्न मौका मिल्यो । दोस्रो संविधानसभामा आइसकेपछि पहिलेको तुलनामा हाम्रा एजेन्डा धेरै कमजोर भए । हामी कमजोर भयौं । परिवर्तनका केही एजेन्डा स्थापित भए । तर, जुन अधिकार प्राप्त हुनुपर्थ्यो । त्यसमा कमी भयो ।

– जनयुद्धमा १७ हजार जनताको रगत बग्यो । तपाईं आफैंले दुखकष्ट झेल्नुभयो । कुनै पनि विन्दूमा कहिल्यै तपाईंको मनमा यो जनयुद्ध बेकार गरिएछ भन्ने भाव आएको छ ?

त्यस्तो कहिल्यै आएको छैन र भविष्यमा पनि आउने छैन । जनयुद्धले नेपालमा असाधारण सफलता प्राप्त गरिसकेको छ । मैले भनें नि, जनयुद्धविना गणतन्त्र पनि हुँदैनथ्यो । समावेशीता-संघीयता पनि हुन्नथ्यो । पछि कमजोरी भयो, त्यो म खुला दिलले स्वीकार्छु । तर, मलाई जनयुद्धमा लागेकोमा गर्व छ । यसमा कुनै खालको द्विविधा लिन्न ।

– तर, माओवादी यही फोहोरी राजनीतिमा मिसिएको छ । अहिले तपाईंहरु राप्रपासँग गठबन्धनमा हुनुहुन्छ । अरुभन्दा फरक त रहनुभएन ?

प्रश्न जायज र स्वाभाविक छ । इतिहासमा निकै ठूलो कमजोरी गर्‍यौं । त्यसकै कारणले यो स्थिति आयो जस्तो लाग्छ । पार्टी अध्यक्षले भनिसक्नुभएको छ, हामीले युद्ध जित्या जस्तो गर्‍यौं जबकि सम्झौतामा आएको हो । एउटा उदाहरण दिन्छु- रुक्मांगत कटुवाललाई जेठ २० गते कारबाही गर्‍यौं । जबकि उहाँको पदावधि भदौ २३ गते सकिँदै थियो । तीन महिनापछि त जाँदै हुनुहुन्थ्यो । किन हामीलाई हतारो भयो ? बेकारमा विरोधीहरुले भन्ने मौका पाए । डा. रामवरण यादवले सरासर संविधान मिचेको हो । कार्यकारी प्रधानमन्त्रीले गरेको निर्णय उल्टाउने अधिकार उहाँलाई थिएन । तर, सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्न नसक्दा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्‍यो ।

जनयुद्धले नेपालमा असाधारण सफलता प्राप्त गरिसकेको छ । मैले भनें नि, जनयुद्धविना गणतन्त्र पनि हुँदैनथ्यो । समावेशीता-संघीयता पनि हुन्नथ्यो । पछि कमजोरी भयो, त्यो म खुला दिलले स्वीकार्छु ।

प्रचण्ड र गिरिजाको बीचमा गणतन्त्र आएपछि पहिलो राष्ट्रपति उहाँ हुने भन्ने भद्र सहमति भएकै हो । त्यो मूर्त नभए पनि ‘अन्डरस्टुड’ थियो । उहाँलाई दिनुपर्थ्यो । यहाँ हामीबाट राजनीतिक इमानदारिता भएन ।

– माओवादीले संसदीय व्यवस्था कहिलेसम्म स्वीकार्छ ?

समग्र विश्व, क्षेत्रीय र नेपालको परिस्थिति हेर्दा तत्कालै त यो व्यवस्थाको विकल्प छैन । अहिले भनेको जनताको हितमा अधिकतम सुधार गर्दै जाने, जनताको जीवनस्तर उकास्न प्रयास गर्ने, सुशासन, भ्रष्टाचार नियन्त्रण गर्ने, यी कुराहरु गर्दै जाने हो ।

– माओवादी नेताहरुलाई आरोप लाग्छ कि उनीहरुले जनताका छोराछोरीलाई युद्धमा होमेर आफ्ना छोराछोरीलाई उच्च शिक्षा पढ्न विदेश पढ्न पठाए । के तपाईंले पनि यही गर्नुभएको हो ?

विल्कुल होइन । हामी सपरिवार नै युद्धमा लाग्यौं । मेरो माइलो छोरा रुपक त संयोगले बाँचेको हो । दोलखाका प्रजिअ चण्डिराज आचार्यले गोली नचलाउन आदेश दिएकैले उसको ज्यान बाँचेको थियो । नत्र ऊसहितका १४ जना दोरम्बामा जस्तै घेरामा परिसकेका थिए । कर्णेलले फायर खोल्ने वेला जानकारी दिन सीडीओलाई फोन गरेछन् । सीडीओले ती १४ जनालाई सही-सलामत ल्याउनुहोला भनेपछि फायर खोल्न रोकिए ।

कान्छो छोरा जनयुद्ध हुँदा सानै थियो । जताबाट गोली आउँथ्यो, उतै रमाइलो मानेर हेरिराख्थ्यो । मेरा सबै छोराहरुले शान्ति प्रक्रियामा आइसकेपछि आफ्नो पढाइलाई निरन्तरता दिए । उनीहरु तीनैजना अहिले आआफ्नो ठाउँमा सेटल छन् ।

– तर, माओवादीले अहिलेको शिक्षालाई ‘बुर्जुवा’ भन्दै युवाहरुलाई पढाइबाट बञ्चित गरेको त हो नि ?

त्यो चाहिँ अलिकति बेठीक नै गरिएको हो भन्ने लाग्छ । शिक्षा सबैलाई चाहिने कुरा हो । शिक्षा बहिष्कार गर्ने, संस्कृतका पुस्तक जलाउने कार्यहरु गलत भएका हुन् ।

– माओवादी नेताहरुको सांस्कृतिक रुपान्तरणलाई लिएर पनि विभिन्न प्रश्न उठ्छन् । पहिले तपाईंहरु दशैंतिहार मान्नुहुन्नथ्यो । दौरासुरुवाललाई घृणा गर्नुहुन्थ्यो । बुवाआमा मर्दा काजक्रिया गर्नुहुन्नथ्यो । त्यो सबै क्रान्तिकारी आडम्बरमात्र थिए भन्नेमा अब विश्वस्त बन्दै जानुभएको हो ?

मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने ममा त्यस्ता रुपान्तरण आएको छैन । हामीले ५० सालदेखि नै दशैंतिहार नमानेको हो । अहिलेसम्म पनि मानेको छैन । मैले दशैंमा अरुलाई टीका लगाइदिएको पनि छैन र आफूले पनि लगाएको छैन । तिहारमा पनि दिदीबहिनीको हातबाट टीका लगाउँदिनँ ।

काजक्रिया त त्योभन्दा पहिलेदेखि छोडेको हो । दौरासुरुवाल सभामुख भएपछि पदीय मर्यादाको हिसाबले लगाएँ । मेरो पुर्खाहरुले पनि दौरा सुरुवाल लगाउनुहुन्थ्यो र यो मेरो जातीय पहिचान झल्किने पोशाक पनि हो ।

मेरो पनि कुरा के हो भने पहिले किन छोडियो र अहिले किन सुरु गरियो भन्ने जवाफ दिनुपर्छ । यसमा सांस्कृतिक बहस नै छेड्नुपर्नेछ । व्यक्तिगत रुपमा आफूखुशी सुरु गर्नु बेठीक हो ।

– हिजो चप्पल पड्काएर हिँड्ने माओवादी नेताहरु आज चिल्ला कार चढ्छन्, आलिसान महलमा बस्छन् । यो आर्थिक रुपान्तरणलाई कसरी लिनुहुन्छ ?

वर्गोत्थानको कुरामा हामी गम्भीर र चिन्तित छौं । जनयुद्ध सुरु हुने वेलामा आफ्नो जग्गा बेचेर निश्चित प्रतिशत पैसा बुझाएका हौं । पछि सबै सम्पत्ति पार्टीलाई बुझायौं । अहिले यस्ता कुराहरु सबै असान्दर्भिक जस्तो भएका छन् । यसमाथि पनि समीक्षा गर्न आवश्यक छ ।

– काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा तपाईं मुछिनुभएको छ । अदालतमा मुद्दा विचाराधीन छ । त्यो घटनामा तपाईंको भूमिका र संलग्नता के हो ?

काभ्रेमा त्यो घटना हुँदा म पूर्वाञ्चलको इन्चार्ज थिएँ । ठूलो तहको नेता कसलाई मुद्दा लगाउने त भन्दा बाग्मती अञ्चलमा अरुभन्दा बढी स्थापित भएकाले मलाई मुछियो । खासमा मुद्दा नै छैन । सर्वोच्चलाई निवेदन दिएकोमात्र हो । सर्वोच्चले विशेषाधिकार प्रयोग गरेर छानबिन गर भनेको हो । मुद्दै बन्या छैन ।

मैले त अर्जुन लामाको नामै सुनेको थिएन । मेरो आदेश पनि होइन । मलाई केही थाहा पनि छैन ।

– जनयुद्धमा माथिको आदेशविना व्यक्तिगत रिसइबीले हत्या गर्ने घटनाहरु पनि हुन्थे ?

छिटपुट रुपमा त्यस्ता कुराहरु भएका छन् । अर्जुन लामाको घटनामा पूर्वाञ्चल इन्चार्जको हिसाबले मेरो नाम जोडिएको पछि थाहा पाएँ । म सञ्चारमन्त्री हुँदा मुद्दा लगेका थिए । त्यसवेला १५२ जनाले वकिलले मेरो पक्षबाट बहस गर्न वकालतनामा दर्ता गरेका थिए । २५ जनाले गरेपछि थप बहसको जरुरत परेन भन्दै न्यायाधीशले रोक्नुभयो । सभामुख हुँदा पनि निवेदन लिएर गए कनकमणि दीक्षित लगायतले । यसवेला पनि स्टे अर्डर भएन ।

यस्ता विषयहरु सिर्जित हुँदा रहेछन् । कहिलेकाहीं लाग्छ, म बढी देशभक्त भएर पो यस्ता प्रपोगाण्डा रचिएका हुन् कि ? देशभक्तविरुद्ध अनेक तानाबाना बुनिँदारहेछन् । तर, म डग्मगाउनेवाला छैन । म देशभक्त भएरै मर्छु । देशभक्ति र सदाचारमा सम्झौता गर्दिनँ ।

– राजनीतिमा तपाईंका व्यक्तिगत अभिलाषाहरु के-के बाँकी छन् ?

मैले भनिसकेको छु, जीवनको अन्तिम घडीसम्म राजनीतिमा नै सक्रिय रहन्छु । राजनीतिका लागि पार्टी नै सर्वोपरि हो । सबै कुरा पार्टीमार्फत नै हुन्छ । त्यसैले म पार्टीमै फर्किएको हुँ । मसित १५ वर्षसम्म प्रतिनिधिको रुपमा र पौने ३ वर्ष सभामुखका रुपमा काम गर्दा हासिल गरेको अनुभव छ । त्यसलाई अधिकतम सदुपयोग गर्नतिर लाग्छु ।

– तपाईं माओवादीमा फर्किनुभएको छ । तर, भर्खरै भएको चुनावमा माओवादीको लोकप्रियता खस्किँदो देखियो । माओवादीको घट्दो जनमतलाई कसरी हेर्नुहुन्छ ?

मलाई भित्रैदेखि के लागेको छ भने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा माओवादीलाई जनताले लास्ट वार्निङ दिएका छन् । तर माया मारेका छैनन् । फेरि हामी जनतातिर फर्कियौं भने जनताले हामीलाई माया गर्छन् ।

– तपाईंलाई यदि उपराष्ट्रपति बन्ने प्रस्ताव आएको खण्डमा स्वीकार्नुहुन्छ ?

त्यतातिर मैले सोच्या छैन । यतिवेला पार्टीलाई रुपान्तरण गर्ने दिशातिर मात्रै मेरो ध्यान छ ।


प्रतिक्रिया

One thought on “तीन गोली खाएको ज्यान, माओवादीका ‘भाइटल म्यान’

  1. खाए तीन ख्वाए चाहिँ कति ? अनि गोली खाएको किन ? सभामुख भएर असंवैधानिक काम गर्न ? त्यस्तो फटाहा काम गर्न जनयुद्व नै गर्नुपर्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *