सुर्खेतको वीरेन्द्रनगरमा किन गरे वडा सदस्यले नगरसभा बैठक बहिष्कार ? – Nepal Press

सुर्खेतको वीरेन्द्रनगरमा किन गरे वडा सदस्यले नगरसभा बैठक बहिष्कार ?

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको १२ औँ नगरसभा बैठक वडा सदस्यहरुले बहिष्कार गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै वीरेन्द्रनगर नरगपालिका वडा ३ का चारजना वडा सदस्यहरुले नगरसभाको बैठक बहिष्कार गरेका हुन् ।

नगरसभालाई नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका वडा सदस्यहरुले बहिस्कार गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए । नगरपालिकाको वडा ३ को बजेट रकमान्तर र योजना कार्यान्वयनका विषयमा वडा अध्यक्ष र सदस्यहरुबिच मतभेद देखिएपछि सदस्यहरुले सभा बहिष्कार गरेका हुन् ।

रातो किताबमा आएको बजेटलाई त्यहीअनुसार कार्यान्वयन हुनु पर्ने उनीहरुले बताउँदै आएका छन् । वडा सदस्य सरस्वती रोकायले भनिन्, ‘असोज महिना यता वडा समितिको बैठक छैन । वडा अध्यक्षले आफ्नो मनपरी तरिकाले काम गर्दै आएको आउनुभएको छ । वडा समिति भनेको पाचजना जनप्रतिनिधिसँगै एकजना सचिवले छलफलमा ल्याएको विषयलाई निष्कर्षमा ल्याउने हो तर वडा अध्यक्ष बिनोदसिंह विष्टले एकल निर्णय गर्दै आएका छन् ।’

रोकायले थपिन्, ‘हिलेखाली सडकको स्तरोन्नति तथा कल्भर्ट निमार्णका लागि छुट्याएको साढे सात लाख बजेट विनियोजन भएको थियो । यसका लागि बजेट कम हुन्छ भनेर रकमान्तर गर्न खोजियो तर हामीले त्यही टोलमा छुट्याएको बजेट त्यही ठाउँमा रहेको सडकको अन्य काम गर्न सकिने भनेर भनेका थियौं ।’

वडा न ३ मा झरना टोल र पन्चकोसी टोलमा पानीको मुहान संरक्षणका लागि विनियोजन गरेको पाँच लाख बजेट सडकको खाल्डो पुर्नका लागि अध्यक्ष विष्टले आफूहरु नभएको बेलामा आफैंले निर्णय गरेर कार्यपालिकाबाट पास गराएर भुक्तानी गरेको रोकायले आरोप लगाएकी छन् ।

यस्तै, वडा सदस्य सविन चालिसेले वडा अध्यक्ष विष्टले आफ्नो पार्टीको व्यक्ति उपभोक्ता समितिमा आयो भने काम दिने, तर फरक पार्टीको व्यक्ति र आफन्तलाई उपभोक्ता समितिमा राखेको आरोप लगाए ।

वडा अध्यक्ष विष्टले विभिन्न टोल विकास संस्थाका अध्यक्षहरुलाई फोनमा गालिगलोज, अपशब्द बोलेर रातदिन थर्काको पत्रकार सम्मेलनमा सदस्य चालिसेले बताए । ‘वडा कार्यसमितिको बैठकमा वडा अध्यक्षले बारम्बार तपाइहरुलाई मान्छे लगाएर कुटाउँछु’, उनले भने, ‘तपाइंहरुको काम भनेको सिग्नेचर गर्ने मात्रै हो, तपाईं हस्ताक्षर गर्न मात्रै आएको भएको हो, ‘म यहाँको राजा हो’ मैले मात्रै यो वडा चलाउने हो, भन्ने खालको अभिव्यक्ति अध्यक्षले दिए ।’

यस विषयमा आफूहरुले बारम्बार नरगपालिकाका प्रमुख, उपप्रमुख, र प्रशासकिय अधिकृतको अगाडि कुरा रोखेको भएपनि वेवास्ता गरिएको चालिसेले बताए ।

त्यस्तै, वीरेन्द्रनगर नरगपालिकाका प्रमुख मोहनमाया ढकालले आइतबार साझँ १६ वटै वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुले सर्वसम्मत पास गरेको बताइन् ।

खासै त्यस्तो केही नभएको उनले बताइन् । ‘वडाबाट आएका कुरालाई कार्यपालिकाको बैठकले पास गरेर अगाडि लिएको छ । सभामा गएर आफ्नो कुरा राख्न सकिन्छ’, नगरप्रमुख ढकालले भनिन्, ‘यद्यपी असहमति जनाउन पनि सकिन्छ । उहाँहरुलाई आउनुस् समस्या केहो भनेको, आउनु भएन सभामा व्यस्त भएको हुँदा धेरै कुरा गर्न पाइएन ।’

नेपाली कांग्रेस पाँच वडामा विजयी भएको थियो भने, २८ जना कार्यपालिका सदस्य रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *