जनयुद्धको विरोध गरेको भन्दै क्याम्पस प्रमुख दुवाडीमाथि हातपात
पोखरा । जनयुद्धको विरोध गरेको भन्दै गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि हातपात भएको छ ।
जनयुद्धको बारेमा सामाजिक सञ्जालमा गरिएको पोष्टको विषयलाई लिएर मंगलबार दुवाडीमाथि कार्यकक्षमै अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला अध्यक्षसहितको टोलीले हातपात गरेको हो ।
‘मैले हिजो जनयुद्धको विषयमा पोष्ट गरेको थिएँ, त्यही विषयलाई लिएर क्रान्तिकारीको जिल्ला अध्यक्षबाट मेरो कार्यकक्षमै हातपात भएको हो’, क्याम्पस प्रमुख दुवाडीले भने, ‘हातपात गर्नुका कारण चाहिँ मैले जनयुद्ध शब्द मानिन किनकि संविधानले पनि नस्वीकारेको, सर्वोच्चले पनि नस्वीकारेको शब्दलाई आपत्ति जनाएर मेरो कार्यकक्षमा आक्रमण गरेको हो ।’
क्याम्पस सञ्चालक समितिको बैठकले उक्त क्रियाकलापविरुद्ध कानूनी प्रक्रियामा जाने निर्णय गरेको दुवाडीले जानकारी दिए ।
‘क्याम्पस सञ्चालक समितिको बैठक बस्यो, आपराधिक गतिविधिमा सहभागीलाई जाहेरी दिने निर्णय भएको छ । हामी कानूनी बाटो अपनाउँछौं’, दुवाडीले भने ।