नाट्यकर्मी दम्पती सुनिल र निशाको प्रेमजीवन- ३२ वर्षका आरोह अवरोह – Nepal Press

नाट्यकर्मी दम्पती सुनिल र निशाको प्रेमजीवन- ३२ वर्षका आरोह अवरोह

काठमाडौं । रंगकर्मी सुनिल पोखरेल र निशा शर्मा वैवाहिक जीवनमा बाँधिएको पनि ३२ वर्ष भइसक्यो । पहिलो नाटकमा सहकार्य गरेको त झनै ४० वर्ष भइसक्यो । यत्तिका लामो समयदेखि शर्मा र पोखरेलले नेपाली नाटकलाई मात्रै सँगै हिँडाएका छैनन्, वैवाहिक जीवनलाई पनि सँगै लिएर यात्रा गरेका छन् ।

यो बीचमा उनीहरुले कति उतारचढावको सामना गरे, यकिन छैन । कति अप्ठ्यारोहरुमा अल्झिए, हिसाबकिताब छैन । तमाम उल्झनहरुबीच उभिएर कति मीठो प्रेम गरे, त्यो चाहिँ अगणित छ । त्यही प्रेमको मझधारमा उभिएर दुवैको जीवनको रथ अहिलेसम्म कुदिरहेको छ ।

कुनैवेला यस्तोसम्म परिस्थिति आइपर्‍यो, दुवै डिभोर्स गर्ने स्थितिमा पुगेका थिए । तर, दुवैले बसेर छलफल गरे, सरसल्लाह र संवाद गरे । उक्त कठोर निर्णयबाट पछि हटे पनि । कुनैवेला गुरुकुल बन्द भयो । पोखरेल डिप्रेसनमा सम्म गए । शर्मा पनि ६ महिना जति निराश भइन् । तर, उनै शर्माले पोखरेललाई डिप्रेसनको गहिरो खाडलबाट निकालेर जीवनको सतहमा ल्याइन् ।

शर्मा भन्छिन्, ‘मैले अप्ठ्यारो मान्छेसँग ३२ वर्ष बिताएँ । यो बीचमा धेरै उतारचढावको सामना गर्यौं । कस्ताकस्ता दिनहरु आए । अनि गए । कति मात्रै भोगेनौं होला । तर, हाम्रो सम्बन्ध हरेक अप्ठ्यारामा झनै मजबुत भएर गयो ।’

खासमा सम्बन्ध टिक्ने भनेको अन्डरस्टान्डिङले गर्दा हो भन्ने लाग्छ शर्मालाई । उनकै शब्दमा भन्दा एकअर्कालाई बुझ्नु र एकअर्काको बानी व्यवहारलाई ठम्याउन सक्दाखेरी नै सम्बन्ध टिकिरहनसक्छ । जहाँ समझदारी अति आवश्यक कुरा हो ।

‘म जिद्दी र ज्याद्री पनि छु । कतिपटक उहाँले दुःख दिँदा छोडछाड गरेर हिँडुजस्तो पनि लाग्छ । फेरि सोच्छु, अहिलेको समयमा आएर उहाँका लागि म हो र मेरा लागि उहाँ हो । योबाहेक अरुथोक छैन । अनि रोकिन्छु’, शर्मा सुनाउँछिन् ।

दुवैले एक-अर्कालाई नजिकबाट चिनेका छन् । एक अर्काको कमजोरीलाई स्वीकार गरेका छन् । त्यसैले त दुवैलाई लाग्छ, अंकमात्रै ३२ वर्ष भएको हो, सँगै बाँच्न सुरु गरेको त धेरै समय भएकै छैन । अझै कति धेरै समय बाँच्नु छँदैछ ।

निशा-पोखरेलको सम्बन्धलाई नाटकले बलियो बनाएको हो कि नाटकलाई दुवैको वैवाहिक सम्बन्धले बलियो बनाएको हो ? पेशा एकै भएकाले एक-अर्काले कसरी र कस्तो काम गर्छ भनेर थाहा पाउँदा पेशा र निजी जीवन दुवैलाई फाइदा पुगेको शर्माको बुझाइ छ ।

शर्मा भन्छिन्, ‘तेस्रो व्यक्तिहरु हामी छुटोस् भनेर पनि चाहन्थे । त्यसपछि डिभोर्स गर्ने कि भन्ने अवस्थासम्म पुगेका थियौं । हामीले ‘पुतली घर’ नाटक गर्न मनमुटाव भएको थियो । पछि त्यही नाटकले हामीलाई जोड्यो । हामीले छलफल गर्‍यौं के कारणले त्यस्तो भयो भनेर । अनि सहज भयो ।’

पोखरेलसित शर्मासँग एक्सक्युज माग्ने कुरा कत्ति धेरै छन् ? यति नै छन् भनेर यकिनका साथ भन्न सक्दैनन् उनी । बरु भन्छन्, ‘म व्यवस्थित मान्छे होइन । खासै सामाजिक मान्छे पनि होइन । विवाह व्रतबन्धमा जान खासै सहज लाग्दैन मलाई । धेरैजसो त मैले मेरो बानी व्यवहारमा एक्सक्युज माग्नुपर्ने अवस्था छ ।’

पोखरेलको स्वभाव छ, एउटा जुत्ता नफाटेसम्म अर्को नयाँ नफेर्ने । लुगा पनि पुरानो नभएसम्म नफेर्ने । त्यही कारण पनि नयाँ लुगा वा जुत्तासमेत शर्माका लागि लगाइदिने गर्छन् पोखरेल । भन्छन्, ‘मलाई लगाउनै मन लाग्दैन । तर, निशाका लागि लगाइदिन्छु ।’

पोखरेललाई जिन्स पाइन्ट सहज लाग्छ । नाटकको सेटमा काम गर्दा, रङहरु लगाउँदा छिटाहरु परेका हुन्छन् । धुस्रै र मुस्रै हुन्छन् । त्यही कारण पनि टिपटप भएर हिँड्न खासै रुचाउँदैनन् । तैपनि कतै बाहिर जाँदा नयाँ र सफा लुगा लगाउनुपर्दा पोखरेललाई खुब सकस हुन्छ ।

नेपाली नाटकलाई अहिलेको अवस्थासम्म ल्याइपुर्‍याउन जुन समय लगानी गरे, त्यति समय सम्बन्धमाथि लगानी गरेका छन् त पोखरेलले ? उनी भन्छन्, ‘सायद छैन । सम्बन्धलाई बलियो बनाउन लगानी धेरै गरिनँ । मेरो अरुसँग पनि हेल्लो हाई त हुन्छ । साथीहरु पनि औंलामा गन्न सकिनेमात्रै छन् । उनीहरु पनि सधैं सम्बन्धमा हुँदैनन् । ठूलो सर्कल बनाउन पनि सक्दिनँ ।’

पोखरेल सानो सर्कलमा फोनमा कुराकानी गर्छन् । ती साथीहरु पनि आफ्नो काममा व्यस्त भएका हुन्छन् । छोरोलाई सानो छँदा प्रायः विदेशमा सँगै लिएर जान्थे । पछि गुरुकुल सुरु गरे । गुरुकुलले दुवैको व्यस्तता बढायो । छोरोलाई होस्टेलमा राखे ।

पोखरेल-शर्मा भने काम एकै भएकाले हिजो पनि सँगै काम गर्थे, आज पनि सँगै गरिरहेका छन् । त्यसैले पनि शर्मालाई समय नदिएको भन्ने स्वीकार्दैनन् पोखरेल । बरु छोरोलाई चाहिँ समय नदिएको हो कि झैं लाग्छ उनलाई ।

गुरुकुल सुरु गर्दैगर्दा देखि भत्किँदै गर्दा र अहिले फेरि सुरु गर्दैगर्दा पोखरेललाई शर्माले साथ दिइरहेकी छन् । ३२ वर्ष त वैवाहिक जीवन नै गुजारिसके । यो समय कस्तो लाग्छ पोखरेललाई ?

‘३२ वर्ष खै कसरी बित्यो ? बिते जस्तो नै लाग्दैन मलाई खासमा । थाहा छैन कसरी बित्यो । उतारचढाव आए । तर, एकअर्कालाई स्वीकार गर्‍यौं’, पोखरेल भन्छन्, ‘उसले करायो भने म बोल्दिनँ । सुनिरहन्छु । एउटा समय खुब झगडा पर्थ्यो ।, अहिले केही समयदेखि म शान्त भएको छु । पहिला त अराजक नै थिएँ ।’

अनि अराजक मान्छेलाई शर्माले कसरी झेलिन् जस्तो लाग्छ पोखरेललाई ?

उनी भन्छन्, ‘सम्बन्धमा अराजक थिइनँ कि ? काममा थिएँ कि ! बाहिरतिर अराजक थिएँ होला । उसकी दिदीहरुसँग पहिलादेखि नै काम गरेको हो । हामीबीच केही ठाङठुङ पर्‍यो भने दिदीहरुले हामीलाई समातिहाल्छन् ।’

सम्बन्ध टिक्नुको पछि समझदारी, एकअर्काप्रतिको बुझाइ र विश्वासलाई मूल कडी मान्छन् पोखरेल । मित्रतामा पनि समझदारीको नियम लागू हुने बताउँछन् । गुण र दोष दुवैलाई स्वीकार्न सक्यो भने जस्तो सम्बन्ध पनि टिक्ने पोखरेलको अनुभव छ ।

सम्बन्धमा दरार आउँदा पनि वेलावेला आफूहरुले संवाद गर्ने गरेको पोखरेल बताउँछन् । समस्या आउँदा के कुरामा चित्त नबुझेको हो, शर्माले फ्याट्टै भनिदिन्छिन् । पोखरेल अलि ढिला भन्छन् । चित्त नबुझेको कुराको प्रतिक्रिया तत्कालै दिँदैनन् । तर, ढिला भए पनि कुरा गरेरै समस्यालाई सल्ट्याउने गर्छन् ।

बाहिर कतै जाँदा जहिल्यै पनि पोखरेल शर्मालाई केही न केही ल्याइदिन्छन् । केही नहुँदा पनि नेलकटरसम्म भए पनि लिएरै आउँछन् । खाली हात घर आउँदैनन् । विवाह हुनुअघि पानी कलरको कुर्ती पोखरेलले शर्मालाई उपहार दिएका थिए । त्यो अहिलेसम्म पनि उनले जतनले सजाएर राखेकी छन् ।

तर, हरेक गिफ्ट पाएपिच्छे शर्माले पोखरेललाई सुझाव दिन्छिन्, ‘आफ्नो लागि पनि लिने गर्नुस् । अहिलेसम्म चाहिने हरेक सामान मैले नै किनिदिनुपर्छ । उहाँ सामान किन्दा पनि इलेक्ट्रोनिक्स सामान बढी लिनुहुन्छ । जे नयाँ आयो, त्यो लिइहाल्नुहुन्छ र किताब धेरै लिनुहुन्छ । बाउछोराले मसँग झूट बोलीबोली किताब किन्छन् । कहिलेकाहीं त किताबमा गरेको खर्च देखेर मन कटक्क पनि हुन्छ ।’

पोखरेलले विवाह गर्नुअघि नै शर्मालाई आफू त्यति धेरै सामाजिक मान्छे नभएको र घरव्यवहारमा पारंगत पनि नभएको बताएका थिए । घट्टेकुलोमा डेरा बस्दासमेत पोखरेलले कहिल्यै आफैंले खाना पकाएका थिएनन् । कोठामा साथीले खाना नपाएको वेला बाहिरै गएर केही चिज खाने गर्थे ।

पोखरेलको बानी थाहा पाएका शर्माले घरव्यवहारको काममा कहिल्यै दबाब दिइनन् । यो पुगेन भनेर पनि कहिल्यै झिँजो गरिनन् । सिर्फ आफ्नो काममा मात्रै फोकस हुनु भनेर भनिन् । त्यसैले पनि अराजक मान्छेसँगको सम्बन्ध टिकेको हो कि लाग्छ शर्मालाई ।

दुवैले विदेश पलायन हुने पनि सोचेका थिए कुनै वेला । तर, त्यसवेला पोखरेलले भने, ‘यत्रो वर्ष त साथ दियौ । दुई वर्ष साथ देऊ न । गुरुकुल खोली हेरौं ।’

पोखरेलको इच्छालाई शर्माले नकारिनन् । दुवैले पाँच वर्षपछि सोचेको सफलता गुरुकुलले दुई वर्षमै पायो । पछि गुरुकुल बन्द भयो । पोखरेल डिप्रेसनमा गए । त्यसवेला हर एकपल शर्माले पोखरेलको साथ छाडिनन् ।

शर्मा दुखेसो गर्छिन्, ‘हामीले नाटक क्षेत्रबाट धेरै पैसा कमाएनौं । कतिपय अवस्थामा भोकभोकै पनि बस्यौं । मान्छेहरुले गुरुकुल खोलेर अहिलेको घर बनाएको सोच्छन् । तर, म विदेशमा बस्दा खाजा खाने पैसासम्म बचाएर घर किन्न पैसा जोगाएकी थिएँ । पछि उहाँ डिप्रेसनमा जाँदा पनि त्यस्तै थिएँ । उहाँ पढ्नुहुन्थ्यो । म पनि त्यति बोल्दिनँ थिएँ । उहाँ तीन वर्ष जति बाहिर नै निस्कनुभएन । म पनि ६ महिना जति बाहिर गइनँ । तर, उहाँलाई आर्थिक स्थिति कमजोर हुँदा पनि दबाब दिइनँ । मानसिक रुपमा डिस्टर्ब हुन्थ्यो उहाँलाई । त्यसैले पनि भनिनँ । घरको समस्या उहाँलाई त्यति सुनाइनँ । जति म बलियी छु, उहाँ त्यति बलियो पनि हुनुहुन्न ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *