ओलीबाट ‘हाइज्याक’ भएको गठबन्धन ब्युँताउने कांग्रेसको संकल्प- गगनको डेडलाइनमा होला त सफल ? – Nepal Press

ओलीबाट ‘हाइज्याक’ भएको गठबन्धन ब्युँताउने कांग्रेसको संकल्प- गगनको डेडलाइनमा होला त सफल ?

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै राजनीति गर्माएको छ । कांग्रेसले राष्ट्रपतिको निर्वाचनसम्म सत्ता गठबन्धन तोड्ने रणनीति अख्तियार गरेकाले फेरि राजनीतिक समीकरणमा परिवर्तन आउनसक्ने आँकलन भइरहेको छ ।

पुस १० गते कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई एमालेले ‘हाइज्याक’ गरेपछि कांग्रेस पुरानै गठबन्धन फर्काउने संकल्पसहित अघि बढेको छ ।

एमालेलाई एक्लाएर बनेको पाँच दलीय गठबन्धन चुनावसम्म सग्लै थियो । चुनावपछि गठबन्धन भत्किएर अर्को गठबन्धन निर्माणपछिको राजनीतिक अवस्था अझै तरल छ । केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एकाएक प्रधानमन्त्री स्वीकारेपछि प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भए पनि कांग्रेस सत्ता बाहिर बस्न बाध्य छ ।

तर, प्रधानमन्त्री प्रचण्डलाई अहिलेको सत्ता गठबन्धन ‘कम्फर्टेबल’ नभएको टिप्पणी भइरहेको वेलामा पुरानै गठबन्धन ब्युँताउने प्रयास भएको हो । प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न नसकेको कांग्रेसले प्रमुख प्रतिपक्ष दलको हैसियतसमेत दाउमा राखेर विश्वासको मत दिएर ढोक्सा थापेको छ ।

सरकारलाई विश्वासको मत दिएर सत्ता गठबन्धनमा विग्रहको बीउ रोप्न कांग्रेस सफल भएको छ । यसअघि एकअर्काको कटु आलोचक रहेका प्रचण्ड-ओली केबल सत्ता स्वार्थको लागि मात्रै अहिले एकै ठाउँमा उभिएका छन् । कांग्रेसले विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नपर्नेमा जोड दिइरहेका छन् ।

कांग्रेसले विश्वासको मत दिएपछि परिस्थिति बदलिएको माओवादीको बुझाइ छ । तर, माओवादीको अडानमा एमाले सकारात्मक बन्न सकेको छैन ।

सत्ता गठबन्धनमा एकमत हुन नसक्दा सुदूरपश्चिम प्रदेश सरकार गुमाएको एमाले पुस १० को सहमतिअनुसार राष्ट्रपतिमा पनि प्रचण्डले अड्को थापेपछि सशंकित बनेको छ ।

राष्ट्रपति निर्वाचनलाई लिएर खटपटमा रहेको सत्ता गठबन्धन फागुन १० गतेभित्र भत्किने कांग्रेसका महामन्त्री गगन थापाले दाबी गरेका छन् । सोमबार उनले भनेका थिए, ‘पुस १० गते निर्माण भएको सत्ता गठबन्धन फागुन १० गतेसम्ममा भत्काएरै छाड्छौं।’

निर्वाचन अगाडि जनतामा जाँदा एउटा गठबन्धन र निर्वाचनपछि सरकार बन्दा अर्को गठबन्धन हुँदा जनतामा निराशा छाएकाले पुरानै गठबन्धनलाई निरन्तता दिनुपर्ने उनको भनाइ थियो । पार्टी नेतृत्वको कारणले चुनावी गठबन्धन भत्किएकाले अहिले कोर्स करेक्सन गरेर जानुपर्ने उनको मत छ ।

प्रचण्ड कांग्रेससँग छलफलमा

फागुन २५ मा राष्ट्रपति निर्वाचनअघि गठबन्धन तोड्ने रणनीति बनाएको कांग्रेससँग प्रधानमन्त्री प्रचण्ड निरन्तर छलफलमा छन् । एमालेबाट सिफारिस भएका व्यक्ति राष्ट्रपति बने संविधान र व्यवस्थाको रक्षा गर्न चुनौती हुने भन्दै कांग्रेस नेताहरुले प्रचण्डलाई भड्काउने प्रयत्न गरिरहेका छन् ।

त्यसो त यसअघि ओलीले गरेको प्रतिनिधिसभा विघटनको विषयमा प्रचण्ड र ओलीबीच प्रतिनिधिसभाको बैठकमै मतभेद देखिएको थियो ।

प्रधानमन्त्री प्रचण्डसँग सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायत नेताहरु संवादमा छन् ।

सत्ता गठबन्धनमा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि बिहीबार महामन्त्री थापा प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए । प्रचण्डसँग संवादमा रहेका थापाले मिति तोकेर गठबन्धन फुट्छ भन्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

शुक्रबार प्रचण्डसँग छलफलका लागि सभापति देउवा पनि बालुवाटार पुगेका थिए । प्रचण्डले कांग्रेसका शीर्ष तहमा मात्रै नभएर पार्टीका नेताहरुलाई पनि छलफलमा सक्रिय बनाएका छन् । माओवादी उपाध्यक्षद्वय कृष्णबहादुर महरा, अग्नि सापकोटा, उपमहासचिव जनार्दन शर्मा, शक्ति बस्नेतलगायत नेताहरु कांग्रेससँग छलफलमा छन् ।

माओवादीमाथि कांग्रेसको आश

कांग्रेसले विश्वासको मत दिएपछि ओलीसँग ‘बार्गेनिङ’ शक्ति बढाएका प्रचण्ड आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने प्रयास गरिरहेका छन् । अहिले पार्टीभित्र राष्ट्रपतिको विषयमा विभिन्न विकल्पमा गहन छलफल भइरहेको प्रचण्ड निकट एक नेताले बताए ।

ती नेता भन्छन्, ‘कांग्रेसले विश्वासको मत दिएपछिको परिस्थिति फेरिएकोबारे हामीले स्पष्ट रुपमा भनिसकेका छौं । राष्ट्रिय सहमतिको पक्षमा माहोल बने पनि परिस्थिति कता जान्छ भन्न सकिने स्थिति छैन ।’

राष्ट्रिय सहमति कायम गर्दा राष्ट्रपति कांग्रेसबाट पनि हुनसक्ने ती नेताको संकेत थियो ।

यता, कांग्रेस प्रवक्ता प्रकाशशरण महत पनि कांग्रेसले ढिलोचाँडो सरकारको नेतृत्व गर्ने दाबी गर्छन् ।

उनले भने, ‘अहिलेको राजनीतिक परिवेश अन्योलपूर्ण छ । त्यसैले हामी ढिलोचाँडो फेरि सत्तामा आउँछौं भन्ने हो । तर, मिति नै तोकेर भनेका छैनौं । हामी अहिले प्रमुख प्रतिपक्ष दल नै हौं । सरकारमा पनि जाने पक्षमा छैनौं ।’

राष्ट्रपतिको निर्वाचनमा माओवादीले गुण तिर्ने अपेक्षा गरेको देउवा निकट एक केन्द्रीय सदस्यले बताए । छोटो समयमै सत्ता गठबन्धन दलहरुबीच खटपट देखिएकाले धेरै समय नटिक्ने कांग्रेसको अड्कल छ ।

‘हामीले राष्ट्रपतिको निर्वाचनलाई हेरेर विश्वासको मत दिएका थियौं । यहाँमात्रै होइन प्रदेशमा पनि हामीले माओवादीलाई विश्वासको मत दिएका छौं । त्यसैले अहिले माओवादीले गुण तिर्छ भन्नेमा विश्वस्त छौं’, ती नेताले भने ।

तर, आफूहरुले अहिलेको आवश्यकता हेरेर राष्ट्रिय सहमतिलाई जोड दिएको माओवादी उपमहासचिव गिरिराजमणि पोखरेल बताउँछन् ।

उनी भन्छन्, ‘हामी राष्ट्रिय सहमतिको सरकार बनाएर जानुपर्छ भन्ने पक्षमा छौं । पार्टीमा आधारित भएरमात्रै हुँदैन । एमाले पनि सहमतिमा आउँछ । यही गठबन्धनबाट कायम हुन्छ । तर, दलभित्रकै हुन्छ भन्ने छैन ।’

एमाले सशंकित

राष्ट्रपतिको निर्वाचनलाई लिएर माओवादी र कांग्रेस नेताहरुको अभिव्यक्तिप्रति एमाले नेताहरु सशंकित छन् । पुस १० को सहमतिअनुसार राष्ट्रपति आफैंले पाउनुपर्ने दाबी गर्दै आएको एमाले पछिल्लो समय ढुक्क हुन सकेको छैन ।

अनेरास्ववियुको महाधिवेशनमा गठबन्धनप्रतिको आशंका व्यक्त गर्दै ओलीले भने, ‘हामीले पाँच दलीय गठबन्धन तोडेर सरकार बनाउन सफल भएका छौं, यो सफलताको कुरा हो । हाम्रा आम रुपमा पार्टीका साथीहरु प्रशन्न भएको देखिन्छ । तर कथंकदाचित यो स्थिति फेरियो भने ।’

उनले संसदको बनावट अस्थिरताको कारक हुने खालको भएको बताए । ‘बहुमत कसैको छैन । भित्र र बाहिरका विभिन्न शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशील छन् । स्थिरता, स्थायित्व हुन नदिने प्रयास भइरहेको छ’, उनले भने ।

तर, प्रधानमन्त्री प्रचण्डलाई यही गठबन्धन जोगाएर जानुपर्नेमा पार्टीभित्रै पनि दबाब छ । केही नेताहरु कांग्रेस नेतृत्वको गठबन्धन ब्युँताउन पनि तयार हुनुपर्ने पक्षमा उभिएपछि नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुनलगायत नेताहरु यसकै निरन्तरताको पक्षमा उभिएका छन् ।

पार्टीभित्र मात्रै नभएर प्रचण्डलाई गठबन्धनमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेलाई समर्थन गर्दै सहमति कार्यान्वयन हुनुपर्नेमा दबाब दिँदै आएका छन् । जसकारण प्रचण्ड चौतर्फी दबाबमा छन् ।

दलहरुबीच सत्ताको आन्तरिक चलखेल भइरहेको वेला भारत, अमेरिकालगायतका उच्च अधिकारीहरुको पनि ओहोरदोहोर बाक्लो छ । नेपालको सरकार गठनमा चासो राख्दै आएको भारतले अकस्मात प्रचण्ड प्रधानमन्त्री बनेपछि थप चासोका साथ हेरेको छ । कम्युनिष्ट सरकारप्रति चीन सकारात्मक भए पनि भारत पुरानै गठबन्धनको पक्षमा देखिन्छ ।

सत्ता गठबन्धनमा खटपट भइरहेको वेलामा दक्षिणी छिमेक भारतका विदेशसचिव विनयमोहन क्वात्रा सोमबार आएर उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग छलफल गरेका छन् ।

यसअघि नेपालका लागि राजदूत रहेका क्वात्रा राजनीतिक तरतलाका बीच काठमाडौं आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर