घोडाघोडीमा रमाना बुझ्न पत्र दिएकै दिन आफैंले बुझ्न बाध्य, एक महिनामा पुरानै हाकिम !
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक प्रसाद आचार्यको पुस २८ गते सरुवा भयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचार्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरेर उनको ठाउँमा लक्ष्मण बहादुर कठायतलाई खटाउने निर्णय गरेको थियो ।
तर, निर्णय भएको महिना दिन पुगिसक्दा पनि आचार्य मुख्यमन्त्री कार्यालयमा हाजिर भएनन् । उता घोडाघोडीमा कठायत आइसकेका थिए ।
सरुवा भएको महिना दिन सम्म पनि पुराना हाकिमले सरकारी क्वाटर नछोडेपछि नयाँ हाकिमले हिजो (मंगलबार) पुराना हाकिमलाई बरबुजारत गर्न र रमाना बुझ्न आग्रह गर्दै पत्र काटेका थिए । आचार्यले उक्त पत्र सामाजिक सञ्जालमै सार्वजनिक गरेका थिए ।
तर, अचम्म उक्त पत्र काटेकै दिन घोडाघोडी नगरपालिकाबाट कठायत सरुवा भएका छन् । उनको स्थानमा पुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचार्यलाई खटाएको छ ।
एक महिना पहिले सामान्य प्रशासन मन्त्रालयले नै आचार्यको ठाउँमा कठायतलाई खटाउने निर्णय गरेको थियो । उक्त निर्णय भएको एक महिनामै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नै निर्णय उल्टाएको छ ।
एक महिना पहिले सरुवा भएका कठयत टिकापुर नगरपालिकामा सरुवा भएको र घोडाघोडी नगरपालिकामा पुरानै कार्यकारी प्रमुखको सरुवा भएको नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले बताए ।