विराट राजाकी रानीले नुहाउने पोखरी क्षेत्रमा पार्क निर्माण सुरु – Nepal Press

विराट राजाकी रानीले नुहाउने पोखरी क्षेत्रमा पार्क निर्माण सुरु

विराटनगर । मोरङको विराटनगर महानगरपालिका १४ स्थित महाभारतकालीन रानीपोखरीमा ग्रिन पार्क निर्माण गरिने भएको छ ।

उक्त पोखरीमा राजा विराटकी रानीले नुहाउने जनविश्वास छ । सोही रानीपोखरी क्षेत्रलाई समेटेर विराटनगर महानगरले ग्रिन पार्क निर्माण गर्न लागेको हो ।

महानगरले महाभारतकालीन मण्ठापोखरी, विराट राजाको दरबारको भौतिक संरचना निर्माणको काम सुरु गरेको छ । माण्ठा पोखरी र विराट राजाको दरबारको भौतिक संरचना निर्माणको ठेक्का प्रक्रिया भइसकेको छ ।

रानीपोखरी ग्रिनपार्क निर्माणको विराटनगरका मेयर नागेश कोइरालाले शिलान्यास गरेका छन् ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनाका साथ काम सुरु गरिएको मेयर कोइरालाले बताए । विराटनगरलाई सफा, सुन्दर, हरियाली, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेकाले सहयोग गर्न उनले आग्रह गरे ।

‘विराटनगरलाई भावी पुस्ताले गर्व गर्न लायक बनाउने अभियानमा लागेका छौं’, मेयर कोइरालाले भने, ‘तुलनात्मक रुपमा दक्षिणी क्षेत्र विकासमा पछि परेको छ । यो कुरा हामीले बुझेका छौं । हामी विकासका लागि दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छौं ।’

रानीपोखरी ग्रिनपार्क ५ करोड १७ लाख ६४ हजार ७८४ रुपैयाँको लागतमा निर्माण हुनेछ । साढे २ बिघा क्षेत्रफल निर्माण हुने ग्रिनपार्कमा कम्पाउण्ड वाल, आकर्षक प्रवेशद्वार, पानीको फोहोरा, आकर्षक बगैंचा, मन्दिर, रानी माताको मूर्ति, विश्रामस्थल, शौचालयलगायत हुनेछ ।

रानीपोखरीलाई यथावत राखेर अन्य संरचना निर्माण गरिनेछ । निर्माणका लागि कला विल्डर्स विराटनगरले ठेक्का पाएको छ । ८ करोड ३६ लाख ७७ हजार १६१ रुपैयाँमा लागत अनुमान गरिए पनि कला विल्डर्सले करिब ३ करोडभन्दा कममा ठेक्का पाएको हो । महानगर र निर्माण कम्पनी कलाबीच गत माघ १८ गते सम्झौता भएको थियो ।

सम्झौताअनुसार २०८१ माघ २९ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर