चन्द्र भण्डारीका दुइटै खुट्टाको सर्जरी सकियो, अर्को अब्जरवेशनपछि मात्रै
रुपन्देही । जलेर भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा उपचाररत कांग्रेस नेता एवं गुल्मी १ का प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको शुक्रबार दुइटै खुट्टाको सर्जरी भएको छ ।
उनको उपचार समन्वयको लागि सँगै गएका नेता योजराज कँडेलका अनुसार दुइटै खुट्टाको सर्जरी सकिएको र अवस्था सामान्य रहेको छ ।
‘दुइटै खुट्टाको सर्जरी सकियो, मुख्य सर्जन डा. सुनिल केसवानीको भनाइअनुसार चन्द्र दाइको दायाँ खुट्टामा डीप इन्जरी रहेको कारण सोचेभन्दा धेरै समय सर्जरीमा लाग्यो’, उनले भने, ‘तर दायाँ खुट्टा माइल्ड रहेको छ । अब दोस्रो सर्जरी गर्ने वा नगर्ने अव्जरभेशनपछि मात्र निर्णय हुनेछ ।’
भण्डारीको उपचारमा खटिएका डाक्टरहरूका अनुसार उनको हृदयको चाल पनि सामान्य रहेको र एन्टिबायोटिक्स निरन्तर दिइरहेको कँडेलले बताए ।
भण्डारीलाई बुधबार राति काठमाडौंस्थित घरमा ग्यास लिक भएर भएको आगलागीमा परी गम्भीर अवस्थामा कीर्तिपुर अस्पताल पु¥याइएको थियो । थप उपचार गर्न भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । करिब ३० प्रतिशत शरीरसँगै श्वास नलीमा असर रहेकाले उनलाई तत्काल सो अस्पतालमा लैजान सिफारिस गरिएको थियो ।
सोही घटनामा जलेर गम्भीर घाइते उनकी आमा ८९ वर्षीय हरिकला भण्डारीको बिहीबार बिहान निधन भएको थियो । बुधबार नै कीर्तिपुरस्थित बर्न अस्पतालमा आफ्नै जिल्ला गुल्मीमा जलेर उपचाररत दुई स्थानीयको स्रोत व्यवस्थापनका लागि भण्डारी खटिएका थिए । तर, त्यो रकम व्यवस्थापन गरी नसक्दै आफैं पीडामा परेका छन् ।