प्रजातन्त्र घोषणासभाको गणेशमान बयान : मोहनशमशेर सवारी हुँदा त्रिभुवन थर्र !
काठमाडौं । इतिहासकारहरुले नलेखेका कतिपय घटनाहरु इतिहासपुरुषहरुले लेखेका हुन्छन् । इतिहासकारहरुले तर्क, तथ्य, तथ्यांक आदिमा ध्यान दिएका हुन्छन् । इतिहासपुरुषहरुले भने घटनाको मनोवैज्ञानिक, इतिहासकारहरुले देख्न नसकेका, लेख्न नसकेका केही रोचक कुराहरु भन्न सक्छन् । यस्तै बयान २००७ साल फागुन ७ गतेको प्रजातन्त्र घोषणा कार्यक्रमका प्रत्यक्षदर्शी गणेशमान सिंहले दिएका छन् । माथरसिंह बस्नेतले २०४३ देखि २०४६ सम्म प्रत्येक साताको बिहीबार र शुक्रबार रेकर्ड गरेर तयार गरेको सामग्री २०४३ ताका ‘साप्ताहिक विश्वसन्देश’मा प्रकाशित भएको थियो । विश्वसन्देश बन्द भएपछि बाँकी सामग्री ‘पुनर्जागरण साप्ताहिक’मा छापियो । पछि त पुस्तककै रुपमा आयो । ‘मेरो कथाका पानाहरुः खण्ड २’ मा गणेशमान सिंहले देखेको भोगेको २००७ फागुन ७ गते दिउँसो ३ बजे भएको प्रजातन्त्र घोषणाको रोचक कुरा समेटिएको छ । गणेशमान सिंहले देखेको प्रजातन्त्र घोषणाको दिनका केही रोचक कुरा यस्ता छन्ः
दुई देशका मात्रै कूटनीतिक प्रतिनिधि सहभागी
अहिले नेपालका १७८ देशसँग औपचारिक कूटनीतिक सम्बन्ध छ । नेपालमा दुई दर्जन बढी देशका आवासीय दूतावास छन् । सात सालको प्रजातन्त्र घोषणामा नेपालमा दुई देशका मात्रै आवासीय दूतावास थिए, बेलायती र भारतीय । शपथ ग्रहण समारोहमा पनि ती नै दुई देशका कूटनीतिक प्रतिनिधिहरुमात्रै सहभागी भएका थिए । भारतका राजदूत सीपीएन सिंह सहभागी भएका थिए । बेलायतका तर्फबाट कर्मचारी सहभागी थिए । दुई देशका मात्रै कूटनीतिक प्रतिनिधिहरु सहभागी भएको प्रसंगमा गणेशमान सिंहले भनेका छन्, ‘तिन्ताका नेपालमा रहेका कूटनीतिज्ञ भन्नु भारत र बेलायतका दूतावासका कर्मचारीमात्रै थिए ।’
गोरखापत्रका पत्रकारलाई ‘मान्यता’ थिएन
नेपालको पत्रकारिताको जेठो संस्था गोरखापत्रका पत्रकारलाई २००७ सालताका पत्रकारको मान्यता नै नभएको गणेशमान सिंहले उल्लेख गरेका छन् । प्रजातन्त्र घोषणाको दिन भारतीय र केही बेलायती पत्रकारहरुको मात्रै उपस्थिति भएको भन्दै गणेशमान सिंहले गोरखापत्रका पत्रकारलाई मान्यता नभएकोे प्रसंग ल्याएका छन् । उनले भनेका छन्, ‘नेपालमा गोरखापत्रका सम्पादकलाई समेत पत्रकार नभनेर कर्मचारी भनिन्थ्यो । अनि पत्रकार भनेका भारतीय समाचारपत्र तथा समाचार एजेन्सीका प्रतिनिधिमात्र ठानिन्थे ।’
बीपी र बबरशमशेरको सभास्थलमै मर्यादा मुद्दामा तर्कबितर्क
सात सालको प्रजातन्त्र घोषणापछि राणा-कांग्रेसको सरकारको शपथ तयारी हुँदै गर्दा मञ्चमै बसेका बीपी कोइराला र बबरशमशेरले मर्यादालाई लिएर तर्कबितर्क गरेका थिए । सम्झौताअनुसार प्रधानमन्त्री मोहनशमशेरपछि दोस्रो बरियतामा भएका बीपीभन्दा पछि थिए रक्षामन्त्री बबरशमशेर । तर, आफू जेठो र सिनियर भएकाले आफ्नो दोेस्रो वरियता हुनुपर्ने उनको तर्क थियो । बीपी आफू जनताको प्रतिनिधि भएकाले तेस्रो हुन तयार नभएको तर्कमा थिए । यो तर्कबितर्कलाई छेवैमा बसेर सुनेका गणेशमान सिंहले भनेका छन्, ‘यता समारोह सुरु हुने वेला भइसकेको थियो । उता बीपी कोइराला र बबरशमशेरबीच मन्त्रीहरुको बस्ने स्थानको निर्धारणलाई लिएर वादविवाद चलिरहेको थियो । वादविवादको मुख्य कारण राणा-कांग्रेस सम्झौतालाई बबरशमशेरले तोड्न खोजेकाले उठेको थियो । बबरशमशेरको नाम मन्त्रीहरुको मर्यादाअनुसार तीन नम्बरमा थियो । अर्थात् उनी बीपीभन्दा पछाडि थिए । तर, उनी कसैभन्दा तल बस्न चाहँदैन थिए ।’
अन्ततः बीपी बबरशमशेरलाई दोस्रो वरियता छाड्न तयार भए । यसबारेमा गणेशमान सिंहले भनेका छन्, ‘कोइरालाजी यसकारण पनि सहमत हुनुपर्यो कि बबरशमशेरले शपथग्रहणपछि एउटा क्याबिनेट बैठकमा उपस्थित भएर सदाका लागि राजनीतिबाट बिदा हुने आफ्नो इच्छा र निर्णय भएको बताएका थिए ।’
साइत हेर्दा कार्यक्रम विलम्ब
नेपालमा अहिले पनि साइतको सवाल आउने गर्छ । सात सालको प्रजातन्त्र घोषणामा पनि साइतले स्थान पाएको प्रसंग गणेशमान सिंहले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘त्यहाँ त्यसदिन उपस्थिति हुनुपर्ने सबै आइसकेका थिए । सबैले आ-आफ्नो स्थान ग्रहण गरिसकेका थिए । तैपनि औपचारिक रुपमा समारोह सुरु भएको थिएन । त्यसको कारण पछि थाहा भयो- साइतको समय भइनसकेकाले त्यो विलम्ब भएको रहेछ ।’
मोहनशमशेर सेनासँग आउँदा त्रिभुवन थर्र
सात सालको प्रजातन्त्र घोषणा तथा मन्त्रिमण्डलको शपथग्रहण समारोहमा मोहनशमशेर त्यो समयका सबैभन्दा शक्तिशाली सैनिक जत्था ‘बिजुली गारत’ लिएर आउँदा सबै शान्त थिए । राजा त्रिभुवन भने आक्रान्त थिए । त्यो दृश्यका प्रत्यक्षदर्शी गणेशमान सिंहले भनेका छन्, ‘मोहनशमशेरका साथ हातहतियार बोकेका बिजुली गारतका जवानहरु ग्वारग्वारती नारायणहिटी प्रवेश गरेर लगभग समारोहस्थललाई नै घेर्न पुगे पनि त्यसतर्फ कसैको गम्भीर ध्यान गएको थिएन । तर, समारोहस्थलको अग्रपंक्तिको काउचमा राज भएका त्रिभुवन भने निकै व्यग्र भएर छटपटाएको हामी सबैले प्रस्ट देख्यौं ।’
आफूले मात्रै होइन तत्कालीन भारतीय राजदूत सीपीएन सिंहले पनि त्यो देखेको कुरा जोड्दै गणेशमान सिंहले राजदूतले मोहनशमशेरको अन्तिम राजकीय सवारी भएको त्योभन्दा अरु केही होइन भनेपछि मात्रै राजा त्रिभुवन शान्त भएको भनेका छन् । १९०३ भदौ ३१ गते कोत पर्वको रक्तपातबाट उदाएका जंगबहादुरबाट स्थापना भएको राणाशासनका अन्तिम प्रधानमन्त्री मोहनशमशेर पनि समारोहमै सैनिक लिएर आएपछि त्रिभुवन आत्तिएको अनुमान गर्न सकिन्छ । विभिन्न औपचारिक समारोहमा भेला भएका भाइभारदारहलाई काटमार गरेर राणासत्ता चल्दै आएकाले त्रिभुवनमा त्यो भय भएको अनुमान गर्न सकिन्छ ।
मन्त्रीहरुलाई पालैपालो शपथग्रहण
आजकाल शपथग्रहण गर्दा मन्त्रीहरुलाई एकमुष्ठ गराइन्छ । सात सालमा भने पालैपालो भएको थियो । यसबारेमा गणेशमान सिंहले भनेका छन्, ‘राजाको सम्बोधन अथवा घोषणापछि त्यसमा लालमोहर लगाउने औपचारिकता पूरा भयो । त्यसपछि शपथप्रहणको क्रम चल्यो । शपथग्रहण समारोह सामूहिक रुपमा हुनुपर्ने हो । तर, यो सम्झौताअनुसार गठन भएको र त्यस सम्बन्धमा हामी सबैको अनुभव पनि नयाँ भएकाले राजाले प्रत्येक मन्त्रीलाई वेग्लावेग्लै शपथग्रहण गराए ।’
राजालाई नेताहरुको अभिवादनः बीपीले टाउको झुकाए, सुवर्णले आधा शरीर
शपथग्रहण एक्लाएक्लै हुँदा भएको भिन्न भिन्न तरिकाले राजा त्रिभुवनलाई अभिवादन गरिएको थियो । बीपीले टाउको झुकाएका थिए, सुवर्णले आधा शरीर । गणेशमान सिंहले भने नमस्कारमात्रै गरेका थिए । तीन नेताको तीनथरी अभिवादनलाई लिएर गणेशमान सिंहले भनेका छन्, ‘मलाई सुवर्णजीले आधा शरीर र बीपी कोइरालाजीले टाउको निहुराएको पनि मन परेको थिएन । त्यसकारण पनि मैले त्रिभुवनलाई केवल दुई हात जोरेर नमस्कार गरें- टाउको अथवा ढाड भाँचेर शरीर झुकाइँन । म त्यसमा अत्यन्तै सतर्क थिएँ ।’
राणासँग लिगेसी जोडिएका गणेशमान सिंहको परिवारमा उनीभन्दा अग्रज पुस्तामा यो कुराले समर्थन पाएन । त्यो प्रसंग ल्याउँदै गणेशमान सिंहले भनेका छन्, ‘मेरा जेठा बाजे बडाकाजी रत्नमानलाई, जो समारोहमा उपस्थित हुनुहुन्थ्यो, मन परेको रहेनछ, त्यो कुरा धेरै दिनपछि एक प्रसंगमा उहाँले मलाई भन्नुभएको थियो । उहाँलाई त्यस्तो लाग्नु स्वाभाविक पनि थियो । उहाँलाई राजाका सामु झुक्न पर्छ भन्ने लाग्नु नितान्त स्वाभाविक थियो । मेरो व्यवहारप्रतिको उहाँको धारणा कुनै पूर्वाग्रहका कारण थिएन ।’