काठमाडौं महानगरपालिकाले थप पीडा दिएको भूमिहीनहरूको गुनासो (भिडिओ) – Nepal Press

काठमाडौं महानगरपालिकाले थप पीडा दिएको भूमिहीनहरूको गुनासो (भिडिओ)

काठमाडौं । भूमिहीनहरूले काठमाडौं महानगरपालिकाले आफूहरूलाई थप पीडा दिएको गुनासो गरेका छन् । विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृङ्खला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेललगायतले आफूहरूको बस्तीमा डोजर आतंक फैल्याएर काठमाडौं महानगरपालिकाले झनै पीडा दिएको बताएका हुन ।

थापाथलीस्थित सुकुम्वासी बस्तीमा बस्दै आएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका आफूहरूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झनै उठिबास लगाउन खोजेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले आफूहरूमाथि अन्याय नगर्न पनि काठमाडौं महानगरपालिका र संघीय सरकारलाई आग्रह गरिन् ।

गरिबको पक्षमा सबै तहका सरकारले काम गर्नुपर्नेमा दुःख दिएको उनको दुखेसो थियो ।

उनले भनिन्, ‘गरिबिको भोगाई छ । भोकको पीडा छुट्टै छ । महामारी, सरकारको दिएको यातना । यी सबैको पीडा हामीले भोग्नु परेको छ । हामीमाथि नै काठमाठौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि डोजर चलाएर आतंकित पारेका छन् । उनी आएपछि त झन् हामीले पीडा भोग्नु परेको छ ।’

 

यता, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त नवराज प्याकुरेलले भने भूमिहीनहरूको समस्या समाधानका लागि आफूहरू सम्बन्धित पक्षसँग सहकार्य गरेर अघि बढ्न लागि परेको दाबी गरे । उनले त्यसका लागि ठोस योजना ल्याउन स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण समेत गराए । विकास आयुक्त प्याकुरेलले काठमाडौं उपत्यका भित्र सामाजिक न्याय स्थापित हुने गरी पीडितहरूको माग सम्बोधन गराउने काममा आफूहरूले काम काम गरिरहेको पनि बताए ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले सबैको बस्न पाउने अधिकारलाई सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको पनि विकास आयुक्त प्याकुरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *