धरानमा ग्यास लिक भएर विस्फोट हुँदा ८ घाइते, ४ जनाको अवस्था गम्भीर – Nepal Press

धरानमा ग्यास लिक भएर विस्फोट हुँदा ८ घाइते, ४ जनाको अवस्था गम्भीर

विराटनगर । सुनसरीको धरान १७ मा ग्यास चुहावट भएर आगलागी हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको धरान प्रहरीले जनाएको छ ।

धरान १७ स्थित सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास चुहावट भएर विस्फोट भएको धरान(१७ का वडाध्यक्ष मनोज भट्टराईले बताए ।

कोसी ग्यासको सिलिन्डर घरमा ल्याएर जोड्ने क्रममा दिउसो ग्यास चुहावट भएको थियो । ग्यास लिक भएपछि मानिस बोलाएर मर्मत गर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर श्रेष्ठले जानकारी दिए ।

घाइते हुनेहरूमा घरधनी २७ वर्षीय सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीय अञ्जना राई, ६५ वर्षीय रामकुमारी राई, ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्यासका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएका छन् ।

घाइते सबैको उद्धार गरी अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । ग्यास चुहावट भएर विस्फोट हुँदा घरमा भने क्षति नभएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर