राष्ट्रपतिबारे वैकल्पिक रणनीति बुन्दै एमाले, ओली र माधवको गोप्य भेट – Nepal Press

राष्ट्रपतिबारे वैकल्पिक रणनीति बुन्दै एमाले, ओली र माधवको गोप्य भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसहमतिबाट पछि हट्दै राष्ट्रपतिमा एमालेलाई समर्थन नगर्ने लभगभ निश्चित भएसँगै एमाले वैकल्पिक तयारीमा जुटेको छ । राष्ट्रपतिको चुनावकाे बहानामा गठवन्धन भत्काउने र अस्थिरता पैदा गर्ने गरी बाह्य चलखेल बढेपछि त्यसलाई असफल पार्न विभिन्न विकल्पमा छलफल भइरहेको पार्टी स्रोतले बतायो ।

पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नयाँ सरकार गठनलाई लिएर विभिन्न सहमति भएका थिए । त्यसमध्येको एउटा सहमति एमालेले राष्ट्रपति पाउने भन्ने थियो । तर, कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत हालेसँगै राजनीतिको कोर्स फेरिएको छ । प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने वचन दिइसकेका छन् ।

हिजो बसेको माओवादी पदाधिकारी बैठकले राष्ट्रपतिबारे अन्तिम निर्णय लिने अधिकार प्रचण्डलाई नै सुम्पियो । प्रचण्ड एमालेलाई राष्ट्रपति दिन कुनै हालतमा तयार छैनन् । कांग्रेसलाई राष्ट्रपति दिएर पुरानो गठबन्धन भत्काउने उनको भित्री अभिष्ट देखिएको छ । प्रचण्डबाट धोका पाएको एमालेसँग अर्को पार्टीको राष्ट्रपति स्वीकारेर गठबन्धनलाई निरन्तरता दिने कि सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने भन्ने दुई विकल्प मात्रै छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिन एमालेलाई सजिलो छैन । त्यो अवस्थामा उ पाँच वर्षका लागि खाली हात हुनेछ । केवल सभामुखमा चित्त बुझाउनुपर्छ । त्योभन्दा राष्ट्रपति माया मारेर भए पनि गठबन्धनलाई निरन्तरता दिने विकल्पको खोजी भएको हो ।

विभिन्न विकल्पमध्ये नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्तावित गर्ने पनि रहेको पार्टीका एक पदाधिकारीले बताए ।

‘दुई महिनामै गठबन्धन भत्किँदा जनतामा नराम्रो सन्देश जाने र अर्को राजनीतिक अस्थिरताको विजारोपण हुने भएकाले माधव नेपाललाई अघि सार्न सकिने विकल्पबारे छलफल भएको हो,’ ती पदाधिकारीले भने ।

चुनावअघिसम्म निकै तिक्ततापुर्ण सम्वन्ध रहेका एमाले अध्यक्ष ओली र समाजवादी अध्यक्ष नेपालबीच पछिल्लो समय सम्वन्धमा सुधार आउन थालेको स्रोतको भनाइ छ । दुई नेताबीच दुई दिनअघि गोप्य भेटसमेत भएको थियो । महाराजगञ्जको एउटा घरमा उनीहरुबीच राष्ट्रपति चुनावकै सन्दर्भमा भेटवार्ता भएको पार्टी स्रोतले बतायो । उक्त भेटमा ओलीले नेपाललाई राष्ट्रपति अफर गरे/नगरेको बारे स्रोतले बताउन चाहेन ।

नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बनाउनेबारे नेकपा एसमा औपचारिक छलफल अहिलेसम्म भएको छैन । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले यो विषयमा अहिलेसम्म चर्चा नै नभएको बताए । साथै, ओली–नेपाल भेट भएको विषयमा पनि उनले अनभिज्ञता प्रकट गरे ।

‘अध्यक्षज्यूले अहिलेसम्म आफू राष्ट्रपति बन्न चाहेको कुनै संकेत पार्टीभित्र गर्नुभएको छैन,’ खतिवडाले नेपाल प्रेससँग भने ।

हिजाे मात्रै राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र नेपालकाे भेटवार्ता भएकाे थियाे । उक्त भेटपछि पत्रकारहरूले नेपाललाई भावि राष्ट्पतिमा उनकाे पनि नाम आएकाे बारे साेधेका थिए । जवाफमा नेपालले भनेका थिए, ‘चर्चा त हुँदै गर्छ । जाे भए पनि राष्ट्रिय सहमति हुनुपर्छ ।´

ओलीकाे प्रस्तावमा नेपाल आकर्षित भएमा माओवादी र कांग्रेस अप्ठेराेमा पर्न सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर