राष्ट्रपतिमा चर्चाबारे माधव नेपालको जवाफ- वृहत् छलफलको आवश्यकता छ (भिडिओ)
पावर शेयरिङमा पार्टीको भूमिका हुनुपर्नेमा जोड
रूपन्देही । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपतिको प्रस्ताव आउनु स्वाभाविक भएपनि त्यसका लागि वृहत् छलफलको आवश्यकता रहेको बताएका छन् ।
मंगलबार दाङको भालुवाङमा पत्रकारसँग कुरा गर्दै उनले राष्ट्रपति निर्वाचनलाई पावर शेयरिङको रूपमा पार्टीको भूमिका हुनुपर्नेमा जोड दिए । राष्ट्रपतिका लागि कसैबाट ठोस प्रस्ताव नआएको दाबी गर्दै नेपालले आफू के बन्ने भन्ने बारे अझै सोचिनसकेको बताए ।
‘अहिले बजारमा हल्लाहरू धेरै छन् । चर्चा-परिचर्चाहरू धेरै छन् । कुनै टुंगो लागेको छैन । चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन । तर, पार्टीको धारणा भने पावर शेयरिङमा हाम्रो भूमिका हुनुपर्दछ ।´
उनले अरुकै लागि सधैँ बलिदान नगर्ने जिकिर गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि प्रस्ताव गर्नुभएको हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले कतिपय कुरालाई पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए ।
‘प्रेसमा आएका सबै समाचारहरू साँचा हुन्छन् भन्ने छैन । अहिले नै बोल्न हतार गर्नुहुन्न । पर्दाभित्र नै रहन दिनुपर्छ । संविधानलाई जोगाउने कुरामा हामी अत्यन्तै चनाखो हुनुपर्नेछ’, नेता नेपालको भनाई थियो ।
चुनावअघि राष्ट्रपति झलनाथ खनालको नाममा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सहमत भएको खुलासा गर्दै नेपालले खनाल चुनावमा पराजित भएकाले राष्ट्रपति काो बन्ने भन्ने विषयमा ठोस निर्णय नभएको दाबीसमेत गरे ।
नेता नेपालले नेपाली कांग्रेस, माओवादीलगायतका दलसँग शक्ति बाँडफाँटबारे पनि छलफल भइरहेको बताए ।