उपमेयर सुनिता भन्छिन्- महानगरभित्रका उद्योग व्यवसायलाई प्रोत्साहनको नीति लिएका छौं (भिडिओ)
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर भित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छन् ।
मंगलबार ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौंको ७ औं वार्षिक साधरण सभामा बोल्दै उपमेयर डंगोलले यस्तो बताएकी हुन् । उनले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नको लागि व्यवसायीहरुले आफ्नो व्यवसाय व्यवस्थित बनाउनु जरुरी रहेको बताइन् ।
उनले महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रुपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउनको लागि व्यवसाय दर्ता गर्न आग्रह गरिन् ।
उपमेयर डंगोलले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने बताइन् । उनले व्यवसाय औपचारिक रुपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिएको उल्लेख गरिन् । उनले दर्ता नभएका व्यवसायीहरुको माग सम्बोधन गर्न महानगर अन्योलमा रहेको स्वीकार गरिन् ।
डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको ५ हजार बढी रहेको पाइएको पनि बताइन् । उनले व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम फेल हुने गरेको उल्लेख गरिन् ।
‘काठमाडौं महानगर पालिकाभित्र रहेका उद्योग व्यवसायहरुलाई प्रोत्साहन गर्ने महानगरको उद्देश्य रहेको छ । व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनु जरुरी छ । अहिले कतिले अनौपचारिक रुपमा व्यापार व्यवसाय गरिरहनुभएको छ’, उनले भनिन्, ‘औपचारिक दायरामा आउनुभएको छैन । व्यवसायीहरुले महाननगर भित्र व्यवसाय गर्दा व्यवसाय दर्ता गर्नुभएको छैन भने औपचारिक दायराभित्र आउन अनुरोध गर्न चाहन्छु । धेरैलाई लाग्नसक्छ व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको भन्ने लाग्नसक्छ ।’
‘व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुन्छ तर काम गरिरहेको ५ हजार हुन्छन्’, डंगोलले थपिन्, ‘व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा हाम्रा नीति तथा कार्यक्रम फेल हुनुको मुख्य कारण हो ।’