शान्ति मिसनमा संसारभर देखिने नेपाली सेना टर्की र सिरिया भूकम्प उद्धारमा किन गयल ?
नेपाली सेना भारतीय सेनाभन्दा अत्यन्तै सानो छ । संयुक्त राष्ट्रसंघको शान्ति स्थापनामा खटिने विश्व सेनामा भने नेपाली सेना भारतीय सेनाभन्दा ठूलो हो । सन् २०२२ को अन्तिमसम्मको शान्ति मिसनमा खटिएका सेनाको आँकडा हेर्दा नेपाल विश्वको दोस्रो ठूलो शान्ति सेना प्रदायक देश हो । भारत नेपालभन्दा एक कदम पछि तेस्रो ठूलो शान्ति मिसनमा खटिएको सेना हो ।
नेपाली सेना अहिले विश्वका १३ देशमा शान्ति स्थापना गर्न खटेको छ । खटिएका देशहरुमा अफ्रिका र एसियाका छन् । शान्ति मिसनमा भारतले भन्दा धेरै सैनिक पठाउन सक्षम नेपाली सेनाले हालसालै सिरिया र टर्कीमा आएको भूकम्पको राहत र उद्धारमा भने कुनै पनि टोली पठाएको छैन । सिरियामा संयुक्त राष्ट्रसंघको यूएनडीओएफमा ४१६ सैनिक खटिएको तथ्यांक नेपाली सेनाकै छ । त्यही सिरियामा गएको भूकम्पको राहत र उद्धारमा नेपाली सेनाको आफ्नै अगुवाइमा कुनै टोली गएन । प्रधानसेनापतिज्यू, नेपाली सेनाले संयुक्त राष्ट्रसंघको व्यानरमा भन्दा पर गएर विश्वमा राहत र उद्धारमा पुग्ने दक्षता गुमाएको हो ?
आज भेनेजुयला र क्युबा जस्ता देशले किस्ता किस्तामा सिरियामा डाक्टर तथा नर्सहरु पठाएका छन्, उद्धारकर्ता पठाएका छन् । अमेरिकी नाकाबन्दी झेलेका ल्याटिन अमेरिकी देशहरुले यस्तो मानवीय उद्धारमा उपस्थिति देखाउँदा अमेरिका, भारत र चीनसँग संयुक्त अभ्यास गर्न सक्ने सन्तुलित नेपाली सेना किन गयल छ ? भारतीय सेनाले अस्पताल खोलेर टर्की र सिरियामा धेरैलाई उपचार गरेका छन् । टर्कीसँग राजनीतिक मुद्दामा बेमेल भए पनि भूकम्पमा भारतले राम्रो प्रभाव पारेको छ । त्यही भारतकै नजिक भएर टर्कीसँग सुमधुर सम्बन्ध भएको नेपालले यस्तै फिल्ड अस्पताल खोलेर नेपाली सेनालाई सेवा गराउन केले रोक्यो ? नेपाली सेनासँग पर्याप्त डाक्टर र नर्स थिएनन् भने सहयोग गर्न तयार निजी क्षेत्रका डाक्टरहरु थिए, नर्सहरु थिए । त्यो सबैलाई सेनाले नेतृत्व गर्न किन सकेन ?
सिरियामा संयुक्त राष्ट्रसंघको यूएनडीओएफमा ४१६ सैनिक खटिएको तथ्यांक नेपाली सेनाकै छ । त्यही सिरियामा गएको भूकम्पको राहत र उद्धारमा नेपाली सेनाको आफ्नै अगुवाइमा कुनै टोली गएन । प्रधानसेनापतिज्यू, नेपाली सेनाले संयुक्त राष्ट्रसंघको व्यानरमा भन्दा पर गएर विश्वमा राहत र उद्धारमा पुग्ने दक्षता गुमाएको हो ?
नेपाल र टर्कीको सीधा हवाई सेवासमेत छ । नेपालले दिएका केही टन राहत सामग्री पाउँदा टर्कीका राजदूतले नेपाली भाषामै धन्यवाद ज्ञापन गरेका थिए । टर्कीमा नेपाली सेना पुगेर स्थलगत सहयोग गरेको भए राजदूतले मात्रै होइन सिंगो समुदायले धन्यवाद भन्ने थियो । यतिका सेवाका अवसरहरु हुँदाहुँदै नेपाली सेना सहयोग गर्न टर्की पुग्न सकेन । नेपालभन्दा जनसंख्यामा सानो देश अजरबैजान टर्कीको भूकम्पपछिको उद्धारमा पुग्ने अग्रपंक्तिका देशहरुमाध्ये एक बन्यो । ३२ वर्ष अगाडि मात्रै स्वतन्त्रता पाएको अजरबैजानको सेनाले उद्धारमा नेतृत्व लियो ।
नेपाली सेनाले शिवरात्रीका दिन २६०औं स्थापना दिवस मनाएको छ । प्रधानसेनापतिज्यू, २६० वर्ष पुरानो सार्वभौम देशको सेनाले ३२ वर्ष पुरानो सार्वभौम सेना जतिको पनि सैन्य कूटनीति गर्न किन सकेन ?
नेपाली सेनाको इतिहास गौरवमय छ । भरअभरको सहयोगमा नेपाली सेना अब्बल छ । गोर्खा फौज भएर विभिन्न देशका सेनाको मेरुदण्ड भएका नेपाली अनुहारहरुले आफ्नो राष्ट्रिय सेनाबाट समेत धेरै सुन्दर सहयोगहरु गरेका छन् । १९औं शताब्दीमा सन् १८५७ मा लखनउमा भएको सिपाही विद्रोहमा अंग्रेजलाई समस्या हुँदा नेपाली सेनाले नै सहयोग गरेको थियो । प्रधानमन्त्री जंगबहादुर राणा आफैंले सैन्य टुकडीको नेतृत्व लिएर सहयोग गरेका थिए । २०औं शताब्दीमा भएको पहिलो विश्वयुद्धको समयमा नेपाली सेनाले भारतमा रहेका अंग्रेजको सीमा रक्षामा सहयोग गरेको थियो । सहयोगमा प्रधानमन्त्री चन्द्रशमशेरको निजी टुकडीका सदस्यहरुसमेत समावेश थिए । नेपालका १६ हजार ५४४ सैनिकले बेलायत अधिनस्थ भारतका उत्तर पश्चिम क्षेत्रको सीमा सुरक्षा गरेका थिए ।
भारत स्वतन्त्र हुँदाको नेपाली सेनाको सहयोग झनै ऐतिहासिक छ । भारतमा फैलिएको दंगा नियन्त्रण र हैदरावादलाई भारतमा गाभ्न नेपाली सेनाले सक्रिय सहयोग गरेको थियो । तत्कालीन प्रधानमन्त्री मोहनशमशेर पुत्र शारदाशमशेरकै नेतृत्वमा भारत गएर सहयोग गरेको थियो नेपाली सेनाले । सन् १९४९ मार्चमा आठ महिना भारतमा सफल मिसन सकाएर नेपाली सेनाको टोली स्वदेश फर्किएको थियो । यसरी बेलायती अधिनको भारतदेखि स्वतन्त्र भारतसम्मलाई भरअभरमा सहयोग गरेको इतिहास छ नेपाली सेनाको । प्रधानसेनापति ज्यू, राणा युगमा विश्व शक्तिलाई अभर पर्दा सहयोग गर्ने नेपाली सेना ‘रिपब्लिक’ युगमा टर्की र सिरियामा सहयोग गर्न नसक्ने अवस्थामा कसरी पुग्यो ?
नेपाली सेनाले शिवरात्रीका दिन २६०औं स्थापना दिवस मनाएको छ । प्रधानसेनापतिज्यू, २६० वर्ष पुरानो सार्वभौम देशको सेनाले ३२ वर्ष पुरानो सार्वभौम सेना जतिको पनि सैन्य कूटनीति गर्न किन सकेन ?
नेपाली सेनाले बौद्धिक क्षेत्रको दर्पण मानिने रिसर्च जर्नल प्रकाशन गरेको छ । हालसालै ‘युनिटी जर्नल’को चौथो संस्करण आएको छ । सेनाले अक्षरमा बौद्धिक काम थालेको छ । २०० थरका जवानहरु सहभागी हुनु सेनाको समावेशिताको नमुना हो । प्रधानसेनापतिज्यू, सेनाले थालेको बौद्धिक ग्रन्थ प्रकाशन र समावेशिताको अभ्यासकै स्तरको नीतिलाई विस्तार गरेर टर्की र सिरियामा उद्धारमा जान केले छेक्यो ?
काठमाडौंमा नेपाली सेनाबाट धेरै असन्तुष्ट छन् । जनताको मैदान टुँडिखेल सेनाले मुकाम बनाएर हड्पेको उनीहरु ठान्छन् । शिवरात्रीमा पड्कने गोलाबारुदले तर्सिएका जङ्गी अड्डा आसपासका स्थानीय सेनासँग खुशी छैनन् । धेरैले नेपाल जस्तो गरिब देशमा सेनाको संख्या अनावश्यक रुपमा धेरै भएको भनेर आलोचना गर्दै आएका छन् । टर्कीले ‘शताब्दीको विपत्त’ भनेर व्याख्या गरेको भूकम्पमा नेपाली सेनाले ‘बुद्धको जन्मभूमिबाट सहयोग’ भन्ने अर्थ आउने ब्यानरमा उद्धार र सहयोग गरेको थियो भने काठमाडौंवासीले सेनाले टुँडिखेल कब्जा गरेको बिर्सिन्थे, दिल कब्जा गरेको सम्झन्थे । शिवरात्रीमा पड्कने गोलाबारुद बिर्सन्थे । सेनाले सार्वजनिक गरेका सामाजिक सञ्जालमा मानवीय सहायताका प्रिय दृश्यहरुमात्रै सम्झन्थे । प्रधानसेनापति ज्यू, सेना र सर्वसाधारण दुवैलाई खुशी बनाउने यस्तो कदम चाल्न लाख हाराहारी संख्याको शक्तिलाई केले अघि बढ्न दिएन ?
नेपाली सेनालाई व्यापारमा लागेको गुनासो जनताको छ । ठेक्कापट्टामा लागेको आरोप छ । ‘जता पैसा, उता सेना’ भन्ने आरोप छ । विश्व शान्तिमा खट्दा पनि पैसा पाइन्छ । टर्की र सिरियाकाे भूकम्पमा मानवीय सहयोग गर्दा पैसा आउँदैन, उल्टै खर्च हुन्छ । नेपालमा विपत सामना गरेको अनुभव लिएर सेनाले अन्य देशमा आएका यस्तै विपतमा सहयोग गर्दा पनि पैसा आउँदैन । पैसाले नकिन्ने कुराहरु भने धेरै आउँछ । नेपालको नाम आउँछ, नेपाली झण्डा आउँछ । नेपालको इज्जत आउँछ, माया आउँछ र धन्यवाद आउँछ । यी सबै प्रिय कुरा आउनेमा दशगजापारि पुगेर सेनाले ध्यान दिएको देखिन्न । प्रधानसेनापतिज्यू, पैसा आउने शान्ति मिसनमा सहभागी नेपाली सेना पैसा नआउने मानवीय मिसनमा किन गयल छ ?