विश्व वैंकको सहयोगमा पोखराको सडक स्तरोन्नति हुँदै – Nepal Press

विश्व वैंकको सहयोगमा पोखराको सडक स्तरोन्नति हुँदै

सडकका दायाँ–बायाँ ५०-५० फिटभित्र पर्ने घर, टहरा, अस्थायी संरचना, खेतीपाती हटाउन महानगरको सूचना

पोखरा ।बर्खामा हिलो, हिउँदमा धुलो । तालचोकदेखि बेगनास तालसम्म पुग्ने सडकको हविगत हो । पुग नपुग ४ किलोमिटर त्यति सडक सुधार गर्न स्थानीयले लामो समयदेखि आवाज उठाउँदै आएका छन् । विदेशी सहयोग लिएरै सडक स्तरोन्नतिको काम थाल्ने आश्वासन पनि पटकपटक सुने । तर, सडकको बेहाल छ ।

बेहाल सडकलाई स्तरोन्नति गर्न पोखरा महानगरपालिका अबचाहिँ तातेको छ । विश्व बैंकको सहयोगमा पोखराको तालचोकदेखि बेगनास तालसम्मको सडक स्तरोन्नति हुने भएको हो । केही महिनाअघि नै ठेक्का सम्झौता भएको उक्त सडक विभिन्न कारणले रोकिएको थियो । महानगरले सर्वपक्षीय छलफलपछि सडक स्तरोन्नतिको काम तत्काल सुरु गर्न लागेको छ ।

पोखरा महानगरपालिकाले उक्त सडक स्तरोन्नति हुन लागेको भन्दै सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरको वडा नं. २७, ३० र ३१ मा पर्ने सडक खण्डका सडकको केन्द्रबाट दायाँ–बायाँ ५०-५० फिटभित्र पर्ने घर, टहरा, अस्थायी संरचना, खेतीपाती हटाउन महानगरले मंगलबार सूचना निकालेको छ । व्यक्तिगत प्रयोजनका सम्पूर्ण सामग्रीहरू १५ दिन भित्र हटाउन महानगरले निर्देशन दिएको छ ।

विश्व वैंकको सहयोगमा यो सडक स्तरोन्नति प्रक्रिया अगाडि बढाएको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बताए । ‘सडक निर्माण कार्य यसअघि नै सुरु हुनुपर्ने हो तर, केही समस्या आउँदा केही समय अल्झनु पर्‍यो । अब चाहिँ हामी तीब्र गतिमा काम सुरु गछौं,’ मेयर आचार्यले भने । विश्व बैंकको सहयोगमा पोखराका अन्य सडक निर्माण सम्झौता गर्ने मेयर आचार्यले जानकारी दिए ।

निकै लामो समयदेखि विभिन्न बाधा र अल्झनका कारण उक्त सडकमा मर्मत सम्भार हुन सकेको थिएन । विश्व बैंकको आर्थिक सहयोगमा बन्न लागेको सडकको डिपिआरसमेत पहिल्यै तयार भएको हो । ३.२८ किलोमिटरको उक्त सडक चार लेनको हुने आयोजनामा उल्लेख छ । सडक दायाँबायाँ पैदल मार्ग (फुटपाथ), व्यवस्थित नाला, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राखिने महानगरले जनाएको छ ।

सडक स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र नेपाल सहरी सुशासन र पूर्वाधार परियोजना २०२१ मार्च ५ मा सम्झौता भएको थियो । सम्झौता १५ जुलाई २०२५ सम्म कायम रहने छ । यस खण्डमा ५ वटा पुलहरू निर्माण गरिनेछ । तीमध्ये ३ वटाचाहिँ कल्भर्ट पुल हुनेछन् ।

सडकको बीचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नालीमाथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच गरिनेछ ।

सडक स्तरोन्नतिको काम गर्ने ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेभी, काठमाडौंलाई प्रदान गरिएको छ । उक्त योजनाका लागि १ अर्ब ६ करोड बजेट विनियोजन गरिएको थियो । स्वच्छन्द–सपना–वल्र्डवाइड जेभीले अनुमानित रकम भन्दा ३८.६४ प्रतिशत कम ७५ करोड ४८ लाख ६७ हजार ८७३ रुपैयाँमा ठेक्का लिएको हो । निर्माण कम्पनीसँग सम्झौता भएको मितिले ७ सय ३० दिनमा सम्पन्न गर्ने गरी २०२२ जुलाई ४ मा सम्झौता भइसकेको छ ।

तालचोक—बेगनास ताल सडकसँगै विश्व बैंकसँगकै सहकार्यमा अन्य सडक निर्माण प्रक्रिया महानगरले अगाडि बढाएको छ । पोखरा १७ बिरौटादेखि कोत्रे निस्कन गरी पृथ्वीराजमार्गको वैकल्पिक सडकमा महानगरले विश्व बैंकसँग सहकार्य गर्न लागेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *