राष्ट्रपतिमा एकीकृत समाजवादीको औपचारिक दाबी, माधव वा झलनाथमध्ये एकलाई अघि सार्ने सहमति – Nepal Press

राष्ट्रपतिमा एकीकृत समाजवादीको औपचारिक दाबी, माधव वा झलनाथमध्ये एकलाई अघि सार्ने सहमति

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भावी राष्ट्रपतिमा औपचारिक दाबी गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपति आफ्नो पार्टीलाई पार्न पहलकदमी अघि बढाउने निर्णय लिएको हो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे ब्रिफिङ गरेका थिए । उनले बाहिर आएजस्तो ओलीले आफूलाई सोझै राष्ट्रपति अफर नगरेको बताए । तर, वातावरण मिलेको खण्डमा राष्ट्रपतिको उम्मेदवार बन्न नेपाल तयार देखिएको स्रोतको भनाइ छ ।

बैठकले राष्ट्रपतिमा को व्यक्तिलाई अघि सार्ने भन्ने चाहिँ निर्णय लिएको छैन । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि राष्ट्रपतिका आकांक्षी हुन् । पार्टीका एक नेताले नेपाल र झलनाथमध्ये एकजनालाई उम्मेदवार बनाउने आन्तरिक समझदारी रहेको बताए ।

‘झलनाथलाई हामीले पहिल्यैदेखि राष्ट्रपतिका निम्ति प्रोजेक्ट गरेका हौं । अहिले एमालेले अध्यक्षज्यूको नाम अघि सारेका कारण अलिकति असमञ्जस्य भएको छ’, ती नेताले भने ।

दुई नेतामध्ये जसको नाममा सहमति हुन्छ, उसैलाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ । पार्टीको सोही म्यान्डेट लिएर नेकपा एसका अध्यक्ष नेपाल छलफलका लागि धुम्बाराहीस्थित देउवा निवासमा पुगेका छन् ।

त्यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उक्त भेटमा ओलीले एमालेका सुवास नेम्वाङ र नेकपा एसका माधव नेपालमध्ये एकजनालाई राष्ट्रपति बनाउन प्रस्ताव गरेको स्रोतको भनाइ छ ।

ओलीले माधवलाई पनि विकल्पमा अघि सारेपछि प्रचण्ड अप्ठेरोमा परेका छन् । उनले कांग्रेसले राष्ट्रपतिमा दाबी नछाड्ने भन्दै अन्य दलहरुसँग पनि कुराकानी गर्नुपर्ने जवाफ दिएका थिए ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीबाट राष्ट्रपति उम्मेदवार बनाउन अन्य दलहरुसँग पहलकदमी गर्ने औपचारिक निर्णय भएको बताए ।

नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘यदि हाम्रो पार्टीलाई दिने सहमति भयो भने कसलाई बनाउने भन्ने निर्णय हुन्छ, अहिले व्यक्तिका विषयमा छलफल भएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर