अण्डाको म्याद कति दिनमा सकिन्छ ?


पोखरा । नेपालीको दैनिक उपभोग्य वस्तुमा अण्डा पनि पर्छ । तयार गर्न छरितो, प्रोटिनको प्रचुर स्रोत पनि पाइने भएकाले अण्डाको परिकार नेपालीको रोजाइमा परेको छ ।
नेपालीले अधिक रोजाईमा परिरहँदा र अधिक उपभोग गरिरहेको खाद्य पदार्थ अण्डा कत्तिको स्वस्थ्यकर छ ? अण्डा उत्पादन भएको कति समयसम्म खान योग्य छ ? अण्डाको म्याद कहिलेसम्म रहन्छ त ? जस्ता सामान्य प्रश्नको जवाफ पनि धेरै कमैलाई थाहा होला ।
अण्डा उत्पादन भएको मितिले १५ दिनसम्म मात्रै खानयोग्य हुने जानकारहरु बताउँछन् । कोल्ड स्टोरमा सुरक्षित राखिएका अण्डा कम्तीमा १ महिनासम्म खानयोग्य भए पनि १ महिना नाघेका अण्डा स्वास्थ्यका लागि घातक हुन् ।
उत्पादन मितिले १ महिनादेखि बिक्री नहुन्जेल महिनौंपछि प्रयोग गरिनु हुन्न । त्यस्ता अण्डा नष्ट गर्नुपर्छ । अझै, हामीले खरिद गर्ने अण्डामा त उत्पादन मिति र उत्पादनकर्ता को हो ? उत्पादन कम्पनीको विवरण नै राखिएको हुन्न ।
पशुपन्छी कल्याणको क्षेत्रमा काम गर्दै आएको ‘एनिमल नेपाल’ले बुधबार होटल व्यवसायी संघ (हान), नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान)आबद्ध व्यवसायी र सञ्चारकर्मीसँग पोखरामा अन्तक्र्रिया गरेको थियो ।
‘सबै उपभोक्ता लागेर सरकारलाई घचघच्याउनुपर्छ । बल्ल नीति परिवर्तन हुन्छ । अण्डा उत्पादन भएपछि १५ दिनसम्म मात्रै प्रयोग गर्नुपर्छ । ‘कन्जुमर फोरम’ले यसबारे कुरा उठाउनपर्छ,’ एनिमल नेपालकी कार्यक्रम प्रमुख सुलक्षणा राणाले भनिन्, ‘केही पनि नसोध्ने चलन छ ।’
दर्ता नभई चलेका पोल्ट्री व्यवसायीलाई दर्ताको दायरामा ल्याएर उत्पादन गरिएका सामग्रीको उत्पादन मिति अनिवार्य राख्नुपर्ने शर्त हुनुपर्ने व्यवसायी कमल थापाले बताए । व्यवसायीले क्यारेट अण्डा किन्दा पहिले नै यति बिग्रको छ भनेर छुट्याएर राख्नुपर्ने होटल सञ्चालक थापाले सुनाए ।
‘पहिले नै यति सामान बिग्रिएको छ भनेर मेनुको मूल्य बढाउनुपर्ने हुन्छ । यसले मेनु पनि बढेको छ । १६ देखि १७ प्रतिशत त पहिले नै बिग्रको छ भनेर छुट्याउनुपर्छ,’ उनले भने, ‘यसले मेनुको मूल्य बढाउनुपर्ने बाध्यता आइलाग्यो ।’
अन्तक्र्रियामा स्वथ्यकर अण्डाका लागि कुखुरालाई पिँजडामा खजमज्याएर राख्न नहुने विषय पनि उठेको थियो । कुखुरालाई पिँजडामा कोचेर राख्दा त्यसले दिने उत्पादन समेत स्वथ्यकर नहुने एनिमल नेपालकी कार्यक्रम संयोजक मधु कट्टेलले बताइन् ।
‘कुखुरालाई केजमा कोचेर राख्नु राम्रो होइन । यसले गर्दा राम्रो अन्डा उत्पादन हुन सक्दैन,’ उनले भनिन्, ‘स्वस्थ्य अन्डा उत्पादनका लागि केजमा होइन, कुखुरालाई खुला छोड्नुपर्ने हुन्छ ।’ संयोजक कट्टेलले अण्डा दिन छोडेका कुखुरा र पिँजडामा थुनेका कुखुरा थुन्न नहुने सुझाइन् । अण्डा उत्पादन मिति सोधेर १५ दिन नाघेका अण्डा उपभोग नगर्नुपर्ने समेत उनले थपिन् ।
व्यवसायी शिव अर्यालले अण्डा उत्पादन गर्ने कुखुराको वर्गिकरण गर्नुपर्ने बताए । व्यवसायी विकल तुलाचनले पशुपन्छि अधिकारका लागि उपभोक्तालाई सूसुचित गर्नुपर्ने बताए । जनस्तरमा चेतना नफैलिएसम्म यस्ता कार्यक्रम उपलब्धिमूलक नहुने उनको भनाइ थियो ।
उपभोक्ता अधिकार मञ्ज गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले संसारभर नै सबैभन्दा बढी उपभोग हुने खाद्यपदार्थमा कुखुराको मासु र अण्डा पर्ने बताए ।
‘कुखुराको मासुमा एन्टिबायोटिकको औषधी दिँदा त्यो बढी एन्टिबायोटिकको असर उपभोक्ताको मुखसम्म आइपुगको छ ।यति धेरै असर हुन्छ कि मानव शरीरलाई चाहिने भन्दा ८ गुणा बढी,’ उनले भने, ‘कुखुराको मासु र अण्डामार्फत मानव शरीरमा प्रवेश गरेको हुन्छ । त्यो भएर कुखुरलाई चाँडो हुर्काएर नाफा निकाल्न खोज्दा मानव स्वास्थ्यमा ठूलो हानी पुगेको छ ।’