आयुष्मान भन्छन्ः मम्मीको हुनेवाला श्रीमान्लाई परिवारको सदस्यका रूपमा स्वीकारिसक्यौं
काठमाडौं । नेपाली सिने क्षेत्रका चर्चित र जोडी हुन्- ‘आयंका’ उर्फ प्रियंका कार्की र आयुष्मान देशराज जोशी । विभिन्न बहानामा उनीहरू ब्याक टु ब्याक गसिपमा छाइरहेका हुन्छन् ।
व्यवसायिक र व्यक्तिगत जीवन दुवै पारदर्शीरूपमा सामाजिक सञ्जालमा सेयर गर्न नहिच्किचाउनु यो जोडीको विशेषता हो । आफ्ना पारिवारिक कुराहरू आफैंले क्यामरामा कैद गरेर युट्यूवमा भिडिओ हाल्न पनि उनीहरू पछि पर्दैनन् । अनि, सामाजिक सञ्जालमा जति गालीगलौज र आलोचना भए पनि बाल दिँदैनन् ।
आमा बन्ने क्रममा केही समय विश्राम लिएकी प्रियंका अहिले फेरि चलचित्रमा फर्किएकी छन् । उनको कमब्याक फिल्म ‘फुलबारी’ गत साता रिलिज भएर अहिले सफलतापूर्वक प्रदर्शन भइरहेको छ । फुलबारीको प्रिमियरमा प्रियंकाले आफ्नो पहिरनबाट मिडियाको ध्यानाकर्षण गर्न सफल भएकी थिइन्, जुन कार्यक्रममा उनलाई श्रीमान आयुष्मानले पनि साथ दिएका थिए ।
प्रियंका आयुष्मानको परिवार आफैंमा ‘उत्तर-आधुनिक’ छ । सामाजिक सञ्जालमा कतिपयले उनीहरूलाई ‘लाजहीन’ को संज्ञा पनि दिइरहेका हुन्छन् । केही दिनअघि मात्र आयुष्मानकी आमा तथा प्रिय्रंकाकी सासु रविना देशराज श्रेष्ठले प्रेमीसँग ईंगेजमेन्ट गरिन् । श्रीमान्सँग अलग्गिएर बसेकी पूर्वबैंकर रविनाले बेलायतका स्टुवार्ट एलेक्स एन्डरसँग लगनगाँठो कस्ने तयारी गरेकी छिन् ।
आमाको विवाह हुँदा सन्तानलाई कस्तो महसुस हुँदोरहेछ ? आयुष्मानसँगको वार्तालापमा हामीले यही प्रश्नबाट सुरू गर्यौं ।
उनले यसरी जवाफ दिए-
हो, ममीको ईन्गेजमेन्ट भएको छ । यसलाई भयंकर के-के नै भएजस्तो गर्नुपर्दैन । जीवनमा माया गर्ने मान्छे जोडिनु राम्रो कुरा हो । मायाले नै त घर चलाउने हो ।
म अरुले के भन्ला भनेर वा अरुको धारणाबाट आफ्नो जिन्दगी सोच्दिनँ । ममीले लिनुभएको निर्णयले उहाँ खुसी हुनुपर्यो । उहाँलाई सन्तुष्टि मिल्नुपर्यो । बाँकी भनेको परिवारको खुसी नै हाम्रो खुसी हो । आफ्ना जिन्दगीका कतिपय निर्णयहरू आफैं लिनुपर्छ । त्यसमा कसैले रोक्न अनि छेक्न मिल्दैन ।
म सँगसँगै मेरो भाइ पनि छ । एकदिन उसको पनि विवाह हुन्छ । उसले भोलि विवाह गर्ने समयमा हामीले ‘तँ यो केटी नहेर, यो केटीसँग विवाह गर’ भन्न सुहाउँदैन । आफ्नो लागि जीवनसाथी रोज्नु, उसको अधिकारको कुरा हो । उसले डाकु नै विवाह गर्छु भने पनि मलाई कुनै आपत्ति छैन । बस ऊ खुसी हुनुपर्यो ।
म मेरो ममीको निर्णयबाट पनि एकदमै खुसी छु । छोराछोरीको हरेक प्रगतिमा आमाबुबा रमाउँछन् भने हामी पनि उहाँहरुको खुसीमा रमाउन सक्नुपर्छ । गल्ती भनेको मानिसले नै सिर्जना गर्ने कुरा हो । त्यसैले मलाई विगत सम्झेर भविष्य ओरालो ढकल्ने काम गर्न मन लाग्दैन । विगतमा जे भएको थियो, त्यो सकिइसक्यो । वर्तमानमा जिउन सिक्नुपर्छ । रमाउन सिक्नुपर्छ ।
स्टुवार्ट एलेक्स एन्डर बेलायती नागरिक हुनुहुन्छ । उहाँ अहिले यहीँ हामीसँगै हुनुहुन्छ । हामी उहाँलाई मायाले ‘स्टु’ भनेर बोलाउँछौ । यति भनिराख्दा फेरि अर्को प्रश्न आउला-‘ड्याडी किन नभनेको ?’ उहाँलाई हामीले माया, ईज्जत र सम्मान दिइरहेका छौं । आफ्नो घरको सदस्य स्वीकारिसकेका छौं । ‘ड्याड’ भन्ने ट्याग वा टाइटल लगाउनैपर्छ भन्ने छैन ।
अस्ति भर्खरै ममी पनि बेलायत पुगेर आउनुभयो । उहाँहरू स्थायीरूपमा उतै सेटल हुन चाहनुहुन्छ या यतै बस्नुहुन्छ, त्यसबारे भने अहिलेसम्म हामीलाई उहाँहरुले केही भन्नु भएको छैन । सायद केही सोचिरहनुभएको होला ।
श्रीमती प्रियंका कार्कीबारे
मैले जिन्दगीमा उसको हरेक रंगहरू देखेको छु । ऊ रोएको, हाँसेको, डग्मगाएको, आत्तिएको, आदि ईत्यादि । जीवनमा बदलिएर आउने विभिन्न रंगहरूमा त्यहीअनुसार रंगिएको देखेको छु । उसको यस्तै रूप र जस्तो परिस्थिति आउँदा पनि सहजै स्वीकारेर अघि बढ्ने आँट र हिम्मतका कारण म उसमा हराएको हो । उसको प्रेममा परेको हो ।
अहिले रिलिज भएको चलचित्र ‘फुलबारी’ मा प्रियंकालाई एकदमै रुष्ट र कठोर बुहारीको रूपमा प्रस्तुत गरिएको छ । सो चलचित्र हेरेपछि मलाई प्रायले सोध्नुभयो ‘के प्रियंकाको यो रूप वास्तविक जीवन कहिले देख्नुभएको छ ?’ मेरो एउटै उत्तर हो- छैन । किनकी बुहारी भएपछि उसले त्यस्तो प्रकारका व्यवहारहरू देखाउनुपर्ने कारणहरु नै सिर्जना भएका छैनन् । मेरो मम्मी-बुबासँग उसले कठोर भएर बोल्नुपर्ने स्थिति आएको छैन । एक त ऊ त्यस्तो प्रवृत्ति भएको व्यक्ति पनि होइन । ऊ एकदमै शान्त स्वभाव भएको मान्छे हो । एकदमै अद्भुत व्यक्तित्व भएको व्यक्ति अनि एक अद्भुत आमा ।
छोरी आयंका कार्कीबारे
आयंकालाई हुर्काउने क्रममा हामीले उसलाई कहिल्यै पनि यो नगर, त्यो नगर भनेर बन्धनमा राखेका छैनौं । अभिभावक भएको हिसाबले उसलाई गनुपर्ने सुरक्षाहरू आफ्नो ठाउँमा छ । त्यहाँदेखि बाहेक उसलाई गर्न मन लागेको चिज उसले गरोस्, चाहे त्यो अहिले होस् या पछि ।
ऊ एकदमै इनर्जी भएको बच्चा हो । आधीँहुरी जस्तो कुद्न थालिसक्यो । त्यहीमाथि प्रियंकाजस्तो आमा भएपछि उसले के गर्ला वा के होला भन्ने कुराको चिन्ता लिनै पर्दैन ।
मलाई अधिकतम सोधिने प्रश्न हो- ‘छोरी भयो, अब एउटा छोरा चाहिन्छ जस्तो लाग्दैन ?’ म छोरा र छोरीमा खासै भिन्नता देख्दिनँ । म नारीलाई एकदमै सम्मान गर्ने मान्छे हो । २१ औँ शताब्दीमा छौं हामी । छोराले भन्दा छोरीले गरेको देखेको छु । छोराले गर्न सक्ने काम छोरीले गर्न सक्दैनन् भन्ने छैन । त्यही छोरीको कोखबाट मैले जन्म लिएको हो । एउटा छोरीको कारण नै आज म यहाँ छु । त्यसैले मलाई छोरा हुनैपर्छ भन्ने लाग्दैन ।