म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपमा केही लिंक आयो ? खोल्यो कि फस्याे
काठमाडौं । अमेरिकामा बस्दै आएका श्याम लामा (नाम परिवर्तन)ले आफ्नो फेसबुक ह्याक गरेको पत्तै पाएनन् । जब एक साथीले ‘तिमीले भनेको बैंक खातामा ५० हजार रुपैयाँ हालेको थिएँ, केही रिप्लाई नै गरेनौं’ भनेपछि श्याम झस्किए ।
श्यामले ती साथीलाई आफूले कुनै रकम नमागेको र बैंक खाता नम्बर पनि नदिएको स्पष्टीकरण दिए । त्यसपछि काठमाडौंमा बस्दै आएका श्यामका ती साथी प्रहरीकहाँ पुगे । प्रहरीले अनुसन्धानका क्रममा श्यामको फेसबुक ह्याक भएको पत्ता लगायो ।
प्रहरीका अनुसार कास्कीको पोखरा निवासी २३ वर्षीय आशिष परियारले श्यामको फेसबुक ह्याक गरेका थिए । आशिषले एकाउन्ट ह्याक गरेर आफूलाई आपत परेको भन्दै श्यामका विभिन्न साथीहरुसँग पैसा मागेको खुल्यो ।
श्याम बनेर कुराकानी गरेका आशिषलाई अन्य साथीले पनि पैसा पठाएको पाइएको प्रहरीले जनाएको छ । ‘अमेरिकामा बसेको साथीले आपत प¥यो भनेर पैसा मागेपछि जोकोहीले पनि दिइहाल्छ । मैले पनि त्यही गरें’, प्रहरीमा उजुरी गर्न पुगेका श्यामका ती साथीले भने ।
त्यसअघि केही साताअघि पनि यस्तै घटनामा पोखराका २३ वर्षीय रोशन हमाल ठकुरी पक्राउ परेका थिए । उनले जापानमा बस्दै आएका एक व्यक्तिको फेसबुक ह्याक गरेर रोनेपालमा उनका आफन्त र साथीसँग पैसा मागेका थिए । त्यसरी पठाएको पैसा लिन रोशनले अन्य व्यक्तिको बैंक खाता र नागरिकता प्रयोग गरेर ई-सेवा खोलेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
‘विदेशमा रहेको व्यक्तिले नेपालमा पैसा माग्दा पनि सजिलै, कुनै शंका नगरी, सम्बन्धित व्यक्तिलाई एकपटक पनि सम्पर्क नगरी पठाएको देखिन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।
प्रहरीका अनुसार यी दुई घटनामा विदेशमा बसेका ती व्यक्तिहरुको म्यासेन्जरमा लिंक पठाएर युजरनेम र पासवर्ड चोरिएको थियो । रोशनले युट्युबबाट फेसबुक ह्याक गर्न जानेको र आफ्नो फ्रेन्ड लिस्टमा रहेका व्यक्तिहरुसँग साथी रहेकालाई लिंक पठाएर त्यसरी युजरनेम र पासवर्ड लिन सफल भएको बयान दिएका छन् ।
काठमाडौंमै भएको अर्को यस्तै एक घटनामा एक किशोरले साथीको फेसबुक प्रयोग गरेर विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरेको पाइएको थियो । प्रहरीले साथीलाई पक्राउ गरेपछि उनी छक्क परेका थिए । पछि प्रहरीले ती किशोरलाई पनि नियन्त्रणमा लिएको थियो ।
केन्द्रीय साइबर ब्युरोका प्रवक्ता पशुपति राय सामाजिक सञ्जालमा आएका लिंकहरु खोल्दा समस्याहरु बढेको बताउँछन् ।
भोट गर्नु भनेर पठाएको लिंकले इन्स्टाग्राम ह्याक
ललितपुरको एक कलेजमा अध्ययनरत युवतीलाई इन्स्टाग्राममा केही महिनाअघि उनकै साथीले फोटो कन्टेस्टमा भोट गरिदिनु भन्दै म्यासेज गरिन् । त्यसका लागि आफ्नो इन्स्टाग्राम आईडीमा दिइएको इमेल आईडी र मोबाइल नम्बर राखेर स्क्रिनसट पठाएमा भोट हुने लेखिएको थियो ।
ती युवतीले त्यसै गर्न खोज्दै थिइन् । विवरण राख्दाराख्दै उनको आईडी फेरि खोल्न भनियो । तर, विवरण राखेर खोल्न खोज्दा खुलेन । लिंक पठाउने साथीलाई फोन गरेर उनले यसबारे सोधिन् ।
तर, ती साथीले आफूले कुनै लिंक उनलाई नपठाएको बताएपछि ती युवती झस्किन् । ती युवतीको इन्स्टाग्राम म्यासेन्जरबाट पनि अन्य साथीकहाँ त्यस्तै लिंक गएर उनीहरुको पनि इन्स्टाग्राम ह्याक भएको पछि थाहा भयो ।
प्रहरीकहाँ उजुरी गरे पनि ती युवतीको इन्स्टाग्राम रिकभर हुन सकेन । साइबर व्युरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा यस्ता उजुरी दिनदिनै बढिरहेका छन् । महिनौं, वर्षौं लगाएर बढाएका फलोअर्स, संग्रहित तस्विरहरु ह्याकरको पन्जामा पर्न कति बेर पनि नलाग्ने माथिका घटनाहरुले देखाउँछ ।
साइबर ब्युरोका प्रवक्ता राय सामाजिक सञ्जालमा आएका लिंकहरु भेरिफाई गरेरमात्र क्लिक गर्न सुझाव दिन्छन् । ‘साथीहरुबाटै आएका लिंकहरु झुक्याउने हिसाबले नै विवरण राखिने भएकाले क्लिक गरिहाल्ने सम्भावना हुन्छ । तर, त्यसो गर्नुहुँदैन’, उनले भने, ‘सम्बन्धित व्यक्तिसँग अन्य माध्यमबाट एकपटक बुझ्नुपर्छ । नत्र फसिन्छ ।’
‘नेपाली गर्ल’ खोल्दा बैंकबाटै पैसा गायब
युवतीहरु उपलब्ध गराउने आसयको एप्लिकेसन ‘नेपाली गर्ल’को लिंक पठाएर बैंक खातासम्म पहुँच राख्ने गिरोह यतिबेला ललितपुर प्रहरीको नियन्त्रणमा छ ।
प्रहरीले एप्लिकेसनको सफ्टवेयरसहित कम्प्युटर बरामद भएको दाबी गरेको छ । प्रहरीका अनुसार गिरोहले ह्वाट्स एपमा नेपाली गर्लको लिंक पठाएर त्यसलाई खोल्नेबित्तिकै सम्बन्धित व्यक्तिको मोबाइलमा नियन्त्रण राख्ने गरेका थिए ।
ललितपुर प्रहरी परिसरका प्रमुख सिद्धिविक्रम शाह मोबाइलमा रहेका विभिन्न बैंकका एप्लिकेसनबाट बैंक खातासम्म पहुँच राख्ने र पैसा निकाल्ने गरेको पाइएको बताउँछन् । प्रहरीका अनुसार यस्तो घटनाबाट पीडित २० जनाभन्दा बढीले उजुरी गरिसकेका छन् । ती पीडितको बैंक खाताबाट लाखौं रुपैयाँ झिकिएको पाइएको छ ।
‘लिंक खोल्दा आउने ओके बटन थिच्नेबित्तिकै गिरोहले सम्बन्धित व्यक्तिको मोबाइल र त्यसमा भएका डाटाहरु आफ्नो नियन्त्रणमा लिने गरेको पाइएको छ’, एसएसपी शाहले भने । खोल्न वा हेर्न प्रेरित गर्ने किसिमका लिंकहरु पठाएर गिरोहले ह्याक गर्ने उनको भनाइ छ ।
यसअघि साइबर व्युरोले नेपालमा कल सेन्टरको आवरणमा खुलेका विभिन्न आईटी कम्पनीहरुले अमेरिका र युरोपमा रहेका वृद्ध मानिसको कम्प्युटरमा नोटिफिकेसन पठाएर उनीहरुको बैंक खातासम्म पहुँच राख्ने गरेको फेला पारेको थियो ।
हाल केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को नियन्त्रणमा रहेका पृथ्वीबहादुर शाहको नाममा अमेरिकाबाट आएको लाखौं अमेरिकी डलर अनलाइन ठगीकै रकम भएको दाबी गरिएको छ ।