पाँच दलीय गठबन्धन ब्यूँताउन जसपाको बटमलाइन- उपराष्ट्रपति – Nepal Press

पाँच दलीय गठबन्धन ब्यूँताउन जसपाको बटमलाइन- उपराष्ट्रपति

काठमाडौं । चुनावअघिको पाँच दलीय गठबन्धन ब्यूँताउने गृहकार्य चलिरहेको बेलामा जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपतिको अडान दोहोर्याएको छ । सत्ता गठबन्धनलाई समर्थन गरेपनि जसपा मन्त्रालय बाँडफाँट र उपराष्ट्रपतिको अडान राख्दै सरकारमा सहभागी भएको थिएन ।

अहिले राष्ट्रपतिको चुनावअघि गठबन्धन ब्यूँताउन कांग्रेसले सक्रियतापूर्वक भूमिका लागिरहेको छ । यही चर्चाबीच आफूहरुले राख्दै आएको उपराष्ट्रपतिको अडान नछाडेको जसपा सांसद प्रदीप यादवले बताए ।

पाँच दलीय गठबन्धन ब्यूँताउन जसपाले उपराष्ट्रिपतिको अडान राखेको हो ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘अहिले दलहरुबीच राष्ट्रपतिको विषयमा छलफल चलिरहेको छ । राष्ट्रपतिको निर्वाचनपछि मात्रै उपराष्ट्रपतिबारे प्रवेश हुन्छ । हाम्रो माग छ । फरक समुदायबाट उपराष्ट्रपति हुनुपर्छ भन्ने हाम्रो अडान हो ।’

उनले पाँच दलीय गठबन्धन चुनावअघि तोडेर एमालेसँग चुनावी तालमेल गरेको स्मरण गरे ।

उनले भने, ‘हामीले पाँच दलीय गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेका थियौं । त्यो पनि हामीले तोडिसक्यौं । हामी अहिले राष्ट्रपतिको विषयमा अहिले चलिरहेको दौडधूपलाई नजिकबाट हेरिरहेका छौं । हामी राष्ट्रपतिको निर्वाचनमा निर्णायक शक्ति होइनौं । त्यसैले अहिल्यै हामीले कुनै निर्णय गरेका छैनौँ । सबैसँग संवादमै छौं ।’

उनले संविधानअनुसार राष्ट्रपति र उपराष्ट्ररपति फरक समुदायको हुनुपर्नेमा जोड दिए ।

‘राष्ट्रपति पहाडबाट हुन्छ भने उपराष्ट्रपति मधेशबाट हुनुपर्छ । संविधानले पछि राष्ट्रपति र उपराष्ट्रपति फरक समुदायबाट हुनुपर्ने लेखेको छ । त्यसैले उपराष्ट्रपतिमा जसपाले दाबी गरेको हो’, उनले दाबी गर्दै भने ।

चुनावअघिको गठबन्धन ब्यूँताउने विषयमा दलहरुबीच छलफल सुरु भएपनि अहिलेसम्म कुनै निर्णयमा पुगेका छैनन् । वुधबार पनि प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा कांग्रेससहित शीर्ष नेताहरुको बैठक बसेको थियो । त्यसबारेमा थप छलफल गर्न आज बैठक बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *