रुस-युक्रेन युद्धको एक वर्षः टर्कीले बढायो मध्यस्थताकाे कूटनीतिक उचाइ
काठमाडौं । पश्चिमा देशका गुप्तचर र मिडियाहरुले अनुमान गरेको मिलिछाड्यो । युक्रेनको पूर्वी सिमानामा रुसले लाखौं सैनिक भेला पार्नुलाई आक्रमणको तयारीको रुपमा लिइएको अनुमान आखिर सही सावित भयो । रुसले गत वर्षको फेब्रुअरी २४ मा युक्रेनमा सैन्य हमला गर्यो । पश्चिमा देशहरुले युक्रेन हमला नाम दिएका छन् । युक्रेनले रुसी राज्य आतंकवाद भनेको छ । रुसले भने विशेष सैन्य कारबाही भन्दै आएको छ ।
रुस-युक्रेन युद्धका बाछिटाहरु संसारभर परेका छन् । ताइवानमा चीनको यस्तै आक्रमण होला भनेर चिन्ता र चर्चा बढेको छ । पश्चिमा देशहरुले नाकाबन्दी लगाए पनि भारत र चीनले रुससँग सस्तोमा तेल किनिरहेका छन् । फिनल्याण्ड, स्वीडेनजस्ता देशहरु नाटोमा जोडिन आतुर भएका छन् । अमेरिकी सुरक्षा छाता रहेको जापानले सुरक्षा बजेट बढाएको छ । दक्षिण कोरियाले थप शक्तिशाली सैन्य हार्डवेयरहरु थपेको छ ।
युद्धले न युक्रेनले सोचेजस्तो पश्चिमा निर्याणक हतियार र सहयोग पाएको छ, न रुसले सोचेजस्तो युद्धले चाँडै परिणाम ल्याएर रुसको पक्षमा माहोल नै बनाएको छ न त पश्चिमा शक्तिले गरेको नाकाबन्दीबाट उनीहरुले सोचेजस्तो रुसी अर्थतन्त्र नै धरापमा परेको छ । रुस-युक्रेन युद्धमा कसैले सोचे जस्तो भएको छैन ।
टर्कीले भने विश्वले सोचेकोभन्दा धेरै कूटनीतिक उचाइ बढाएको छ । रुस र पश्चिमा विश्व दुई कित्तामा भएपछि उनीहरुले दुई पक्षको मध्यस्थताको भूमिका गुमाएका थिए । चीन र भारतले त्यो स्थान लिन सक्ने विश्व चर्चा थियो । भारतीय र चिनियाँ मिडिया तथा सार्वजनिक बौद्धिकहरुले त्योबारेमा हल्लाखल्ला पनि गरेकै हुन् । तर, परिणाम त्यस्तो आएन । रुस-युक्रेन युद्धको मध्यस्थता गरेर कूटनीतिक उचाइ बढाउन भारत र चीनले देखिने उदाहरण पेश गर्न सकेनन् । उनीहरुले एकातर्फ युक्रेनमाथि हमला गर्नु गलत भएको भन्दै अर्कोतर्फ पश्चिमाहरुको नाकाबन्दीलाई झेल्न सजिलो हुनेगरी सस्तो रुसी तेल किनिरहे । यही मौकामा टर्कीले भने मध्यस्थताको रुपमा देखिने काम गरेको छ । युद्धमा हुँदाहुँदै दुई पक्षलाई ल्याएर केही महत्वपूर्ण ब्रेकथ्रुमा टर्कीले गोल गरेको छ । बेलायती अखबार गार्डियनले त युक्रेन-रुस मध्यस्थतामा टर्कीले कैयौं देश अगाडि अग्रणी नेतृत्व गरेको छ ।
युद्धले न युक्रेनले सोचेजस्तो पश्चिमा निर्याणक हतियार र सहयोग पाएको छ, न रुसले सोचेजस्तो युद्धले चाँडै परिणाम ल्याएर रुसको पक्षमा माहोल नै बनाएको छ न त पश्चिमा शक्तिले गरेको नाकाबन्दीबाट उनीहरुले सोचेजस्तो रुसी अर्थतन्त्र नै धरापमा परेको छ ।
अन्न निर्यातमा सहजीकरणको नेतृत्व
टर्की उत्तर एटलान्टिक सैन्य संगठन (नाटो)को सदस्य राष्ट्र हो । अहिले नाटो रुससँग अप्रत्यक्ष रुपमा युद्धमा छ । नाटो देशहरुबाट प्राप्त भएको आर्थिक भरथेगले युक्रेनी अर्थतन्त्र चलेको छ । नाटो देशका हतियारकै बलमा युक्रेनले अहिलेसम्म युद्ध लम्बाएर दुवैको जीत नभएको अवस्थामा पुर्याएको छ । त्यही नाटो सदस्य राष्ट्र भएरै टर्कीले मध्यस्थता गर्न सफलता पाएको छ । नाटो सदस्य राष्ट्रहरुले पटक-पटक दबाब दिए पनि टर्कीले युद्धका दुवै पक्षसँग सम्पर्क सूत्र हुने बाटो खुलै राख्नुपर्ने भनेर आफ्नो अडान कायम राखेको छ । त्यो अडानले काम गरेको पनि छ । सबैभन्दा पहिलो देखिने काम अन्न निर्यातमा भएको झमेला अन्त्य हो ।
युद्ध भएको पाँच महिना हाराहारीमै जुलाई २२ मा टर्कीले युक्रेनी अन्न विश्व बजारमा निर्यात गर्ने बाटो खुलाउन सम्झौता गराउन सफलता पायो । ब्ल्याक सि ग्रेन इनिसिएटिभको नाममा भएको सम्झौतापछि युक्रेनी अन्नले ब्ल्याक सिका विभिन्न बन्दरगाह भएर विश्व बजारमा प्रवेश पाएको थियो । युद्धरत पक्षहरुबीचको यो स्तरको सम्झौता गर्न टर्कीले ठूलो मेहनत गरेको थियो । दुवै देशका परराष्ट्रमन्त्रीहरुलाई टर्कीमा ल्याएर छुट्टाछुट्टै छलफल गराएर टर्कीले त्यो सफलता पाएको थियो । टर्कीका राष्ट्रपति रेसेप तैयेप इर्दोगानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेर यसबारेमा व्यापक छलफल गरेका थिए । इर्दोगानको कूटनीतिक भेटघाटको सफलता अन्न निर्यातमा युद्धरत पक्षहरु सहभागी भएर प्राप्त भएको थियो ।
युद्ध भएको पाँच महिना हाराहारीमै जुलाई २२ मा टर्कीले युक्रेनी अन्न विश्व बजारमा निर्यात गर्ने बाटो खुलाउन सम्झौता गराउन सफलता पायो । ब्ल्याक सि ग्रेन इनिसिएटिभको नाममा भएको सम्झौतापछि युक्रेनी अन्नले ब्ल्याक सिका विभिन्न बन्दरगाह भएर विश्व बजारमा प्रवेश पाएको थियो ।
युद्धबन्दी साटफेरमा नेतृत्व
टर्कीले रुस र युक्रेन सैन्य, कूटनीतिक र राजनीतिक युद्धमा ज्यादै झेलिएको समयमा केही ब्रेकथू्र गर्न सफलता पाएको थियो । त्यो हो एकअर्काका युद्धबन्दीहरुको साटफेर । गत सेप्टेम्बर २१ मा युद्धबन्दीहरुलाई रिहाइ र साटफेरको सम्झौता भएको थियो । टर्कीले नेतृत्व गरेर भएको सम्झौतालाई धेरै विश्व मिडियाले ‘सरप्राइज सम्झौता’को रुपमा चित्रित गरेका छन् । उक्त युद्धबन्दी साटफेरबाट झन्डै ३०० जनाले रिहा हुन पाएका थिए । त्यसमा १० जना विदेशी पनि थिए । १० विदेशीमा स्वीडेन, मोरक्को र क्रोएसियाका एकएक, दुई अमेरिकी र पाँच जना बेलायती थिए । रुसका ५५ जना थिए । बाँकी युक्रेनीहरु भएको बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।
कुनै बेला ‘युरोपको बिरामी’ को उपमा पाएको टर्की पछिल्लो समय विश्व मञ्चमा युरोपको भरपर्दो मध्यस्थकर्ता बन्दै आएको छ । विश्वका १२० देशमा उडान गर्ने टर्कीस एयरलाइन्सदेखि सन् २०१५ बाट अंग्रेजीमा प्रसारण सुरु गरेको विश्व च्यानल टीआरटी वल्र्डसम्म अहिले टर्कीका मुख्य सफ्टपावर हुन् । टर्किस ड्रामाहरु पनि विश्व बजारमा राम्रो चल्दै आएका छन् । ड्रोन, फाइटर हेलिकप्टर निर्माण र निर्यातमा उत्तिकै प्रगति गरेको टर्कीले हार्डवेयरमा समेत सफलता पाएको छ । यही प्रगतिलाई टर्कीले कूटनीतिक क्षेत्रमा प्रयोग गर्दै आएको छ । त्यसमा टर्की सफल देखिन्छ । विश्वका २० ठूला अर्थतन्त्रको एक सदस्य टर्कीले रुस-युक्रेन युद्धको मध्यस्थताको कूटनीतिक उचाइमा सबैभन्दा अग्रणी स्थान बनाएको छ ।