रंगशाला निर्माणमा छैन ध्यान, खादा ओढाएर मात्र हुन्छ क्रिकेटरको सम्मान ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो घरेलु श्रृंखलामा क्लीन स्वीप गर्ने राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई बालुवाटारमा बोलाएर सम्मानित गरे । उनीहरूलाई जनही २ लाख रुपैयाँ पुरस्कारसहित खादा ओढाइएको थियो ।
हरेकपटक नेपालले कुनै महत्वपूर्ण प्रतियोगिता जितेपछि खेलाडीलाई नगद पुरस्कार दिने परम्परा नै बसिसकेको छ । राष्ट्रका लागि खेल्ने खेलाडीहरूलाई कुनै पनि तरिकाबाट राज्यले प्रोत्साहित गर्नु राम्रो हो । तर, योपटक चाहीँ सरकारले हचुवामै पुरस्कार घोषणा गर्यो । विश्वकप लिग २ अन्तर्गतको एउटा श्रृंखला नेपालले जितेको हो, सिंगो प्रतियोगिता होइन ।
नेपाल अझै पनि यो प्रतियोगितामा पछाडि नै छ । नेपालले ओडीआई मान्यता जोगाउन ८ मध्ये ५ खेल जित्नुपर्ने हुन्छ । यदि त्यो सफलता हासिल गरेको खण्डमा चाहीँ पुस्कार घोषणा गरेको भए बढी अर्थपूर्ण हुनेथियो । खैर, यो एउटा पाटो भयो । तर, खेलाडीलाई पटके ढंगले नगद पुरस्कार बाँडेर अनि खादा ओढाएर मात्रै देशको क्रिकेट विकास हुन्छ ? क्रिकेटरको भविष्य सुनिश्चित हुन्छ ? विल्कुल हुँदैन ।
क्रिकेट विकासको लागि पूर्वाधारको अवस्था नेपालमा अझै पनि दयनीय छ । एक दिवसीय मान्यता पाइसके पनि क्रिकेटका आधारभूत संरचनाहरू हामीसँग छैनन् । एउटा पनि अन्तर्राष्ट्रियस्तरको रंगशाला देशमा छैन । घरेलु प्रतियोगिताहरू नियमितरूपमा हुँदैनन् । राष्ट्रिय टीममा परेकाबाहेक अन्य खेलाडीहरूले गुजारा गर्ने आधार कमजोर छ । यसमा सरकारको ध्यान कहिले पुग्ने ?
क्रिकेट समर्थकहरूले एउटा अन्तर्राष्ट्रियस्तरको रंगशालाको माग गरेको लामो समय भयो । समर्थकहरूकै माग र हौसलामा सामाजिक अभियन्ता जोडी धुर्मुस र सुन्तलीले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको पहलकदमी अघि बढाए । भरतपुर महानगरपालिकासँगको सहकार्यमा धुर्मुस सुन्तली फाउन्डेसनले अघि बढाएको यो परियोजना अहिले अलपत्र अवस्थामा छ ।
जनस्तरमा निर्माण गर्ने भनिएको रंगशाला ३५ प्रतिशत काम सकिएपछि स्रोत जुट्न नसकेर रोकिएको हो । फाउन्डेसनले स्रोत जुटाउन नसकेपछि सम्झौताबमोजिम भरतपुर महानगरपालिकालाई रंगशालाको स्वामित्व हस्तान्तरण गर्न पत्राचार गरेको पनि एक वर्ष नाघिसक्यो । तर, महानगरपालिका अहिलेसम्म पनि स्वामित्व हस्तान्तरणको प्रक्रिया पुरा गरेर रंगशालालाई निरन्तरता दिन सकेको छैन । रंगशालाको स्वामित्व लिन तयार भए पनि यसमा लागेको करिब १९ करोड ऋणको दायित्व लिन महानगरले आनाकानी गरिरहेको छ । बरु सबै दोष धुर्मुसमाथि थोपरेर आफू पानीमाथिको ओभानो बन्ने चेष्टा महानगरकी मेयर रेणु दाहालले गरिहेकी छन् ।
क्रिकेट समर्थकहरूले एउटा अन्तर्राष्ट्रियस्तरको रंगशालाको माग गरेको लामो समय भयो । समर्थकहरूकै माग र हौसलामा सामाजिक अभियन्ता जोडी धुर्मुस र सुन्तलीले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको पहलकदमी अघि बढाए । भरतपुर महानगरपालिकासँगको सहकार्यमा धुर्मुस सुन्तली फाउन्डेसनले अघि बढाएको यो परियोजना अहिले अलपत्र अवस्थामा छ ।
विगतमा क्रिकेट रंगशालालाई आफ्नो महानगरकै गौरवको आयोजना भनेर जस लिन खोजेकी दाहालको अहिले रंगशालालाई सुचारु गर्न उदासीन छिन् । स्मरणीय छ कि उनी हालका प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी पनि हुन् । यो रंगशाला प्रधानमन्त्री प्रचण्डकै निर्वाचन क्षेत्रमा छ । त्यसैले यसको निर्माण पूरा गर्न उनी आफैंले अग्रसरता लिनुपर्ने हो । तर, त्यसतर्फ कुनै ध्यान छैन उनको । अनि खेलाडीलाई खादा ओढाएर आफ्नो कर्तव्य निभाएको ठानिरहेका छन् ।
काठमाडौंको मुलपानीमा निर्माणाधीन क्रिकेट रंगशालाको पनि उही अवस्था छ । एक दशकभन्दा अगाडि निर्माण सुरू भएको यो रंगशाला अझै पनि अधुरो नै छ । मुआब्जा विवाद र बजेट अभावले मुलपानी रंगशाला अगाडि बढ्न नसकेको हो ।
देशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला नहुँदा क्रिकेटको विकासमा प्रभाव परिरहेको छ । खेलाडीहरूले गुणस्तरीय मैदान र पीचमा खेल्न र अभ्यास गर्न पाएका छैनन् । दर्शकले रंगशालामा आरामदायी रुपमा बसेर खेलको मज्जा लिन सकेका छैनन् । राम्रा विदेशी टीमहरूलाई निम्त्याएर प्रतिस्पर्धात्मक क्रिकेट खेलाउन सकिएको छैन ।
गौतमबुद्ध रंगशालाको निर्माण घोषणा कार्यक्रममा भरतपुरकी मेयर रेणु दाहालले पहिलो म्याच भारत र पाकिस्तानबीच गराउने गफ दिएकी थिइन् । तर, अहिले उनी आफैं रंगशालाको दायित्वबाट टक्टकिन खोजिरहेकी छिन् ।
तपाईंहरुको केपी ओली प्रधानमन्त्री भएको भए एकै रातमा रंगाशाला बनाउथे होला !