सन्दीप भोलि यूएई जान नपाउने, दुवै पुनरावेदनमाथि आइतबार अग्राधिकारसहित एकमुष्ट सुनुवाइ (भिडिओ)
काठमाडौं । राष्ट्रिय टिममा रहेर भोलि यूएइ भ्रमणमा जान नपाउने भएका छन् । सन्दीपले विदेश भ्रमणको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै दिएको निवेदनमा आज अदालतले आज निर्णय नलिएपछि सो सम्भावना टरेको हो ।
सन्दीपले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइको क्रममा सरकारी पक्ष र सन्दीप दुवैको पुनरावेदनको निवेदन अग्राधिकारसहित एकै ठाउँमा राखेर आइतबार सुनुवाइ गर्ने आदेश भएको हाे ।
युएईमा नेपाल, यूएई र पपुवा न्यूगिनीबीचको त्रिकोणात्मक श्रृंखला सोमबार सुरु हुँदैछ । यसैलाई ध्यानमा राखेर सन्दीपको पुनरावेदनलाई अग्राधिकार दिइएको अदालत स्रोतले बताएको छ । आइतबारको सुनवाईले सन्दीपको प्रतिवन्ध फुकुवा गरे उनी यूएईमा हुने श्रृंखलामा भाग लिन भ्याउन सक्छन् । नेपालको राष्ट्रिय टिम भने भोलि नै यूएई प्रस्थान गर्दैछ ।
उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टीममा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन् ।
यता सरकारी वकिल पक्षले पाटन उच्च अदालतको धरौटीमा छाड्ने आदेशविरुद्ध दर्ता गरेको पुनरावेदनको आजको सुनुवाइ भने हेर्न नभ्याइनेमा परेको थियाे ।