‘सरसर्ती संसार’ र ‘देशदेशावर’: नेपाल बोक्दै वैश्विक सफर – Nepal Press
किताबी कुरा

‘सरसर्ती संसार’ र ‘देशदेशावर’: नेपाल बोक्दै वैश्विक सफर

काठमाडौं । नेपालमा एउटा प्रचलित भनाइ छ । लक्ष्मी र सरस्वती सँगै बस्दैनन् । यो भनाइको अर्थ हो धन र विद्या सँगसँगै बस्दैनन् । वैदिक सनातनी परम्परामा लक्ष्मी धनकी देवी हुन्, सरस्वती विद्याकी ।

जीवा लामिछानेका दुई यात्रा निबन्ध ग्रन्थलाई खोतल्दा यो भनाइ गलत देखिन्छ । पब्लिकेसन नेपालयले छापेको ‘सरसर्ती संसार’ र फाइन प्रिन्टले ल्याएको ‘देशदेशावर’ हेर्दा यस्तो महसुस हुन्छ । लेखक जीवा लामिछाने बहुसंख्यक यात्रा आकाशमा गर्छन् । तर, कुरा भूईंको गर्छन् । बहुसंख्यक यात्राको थालनी आफ्नो मुकाम रहेका रुस (२०१४ अगाडिसम्म) देखि जर्मनी (२०१४ पछि) केन्द्रविन्दू बनाएर विश्वका विभिन्न महादेश र त्यहाँका देशहरुमा गर्छन् । तर, कुरा भने नेपालकै जोड्छन् ।

‘सरसर्ती संसार’का २९ निबन्धबाट दर्जनौं देश घुमाएका छन् । यस्तै ‘देशदेशावर’का २० निबन्धबाट पनि उत्तिकै धेरै यात्रा गराउँछन् लामिछाने । यस्तो लाग्छ कि उनले पहिलो किस्ताको यात्रालाई दोस्रोमा जोडेका छन् । उदाहरणका लागि पहिलो पुस्तक सरसर्ती संसारमा उनले चेक रिपब्लिक र जर्मनीको बियर प्रतिस्पर्धाको रोचक कुरा गरेका थिए । चेक रिपब्लिकको ‘बडवाइज’ नामको गाउँबाटै अमेरिकाको चर्चित बियर ‘बडवाइजर’ बनेको स्थानीय चर्चा गरेका लामिछाने दोस्रो पुस्तक देशदेशावरमा जर्मनीको म्युनिखको अक्टोबर फेस्टमा आफैं पुगेर थप जानकारी दिन्छन् ।

वीरेन्द्र बियर बनाउने स्विस उद्यमीसम्म पुगेर उनले बनाउने मौसमी बियरको एक सिजनको नाम वीरेन्द्र राखेको तर नेपालस्थित स्विस दूतावासको दबाब आएपछि बन्द गरेको जस्ता रोचक किस्सा लामिछानेले उप्काएका छन् ।

हरेक निबन्धका च्याप्टरलाई वेग्लावेग्लै विमर्श गर्न सकिने स्तरको जानकारी, अनुभव र अध्ययन लामिछानेका निबन्धहरुमा छन् ।

पहिलो ‘सरसर्ती संसार’मा युक्रेनबाट घुम्न स्विट्जरल्याण्ड आएका रामेश कोइरालालाई दोस्रो पुस्तकको चै पाण्डुलिपि पढ्ने अनुहारको रुपमा उनले उभ्याएका छन् । यीबाहेक पनि पहिलो खण्ड पढेकालाई थप जानकारी हुने अरु रोचक प्रसंगहरु दोस्रो खण्डमा आएका छन् । गाउँ नै पिच्छे बच्चा जन्माउने सेसेल्सका संस्थापक राष्ट्रपति फ्रान्स अल्बर्ट रेनेदेखि युगाण्डाका नरभक्षी पूर्वराष्ट्रपति दादा इदी अमिनसम्मका कुरा लामिछानेले आफ्नो पुस्तकमा अटाएका छन् ।

लामिछानेले मान्छेका कथामात्रै भनेका छैनन्, जनावरका कथालाई पनि मार्मिक व्याख्या गरेका छन् । श्रीलंकाको युद्धमा घाइते र अंगभंग निर्दोष हात्तीहरुदेखि केन्याको मासाई मारा राष्ट्रिय निकुञ्जमा सिंहले आफू अघाएपछि सामुन्नेको अर्नालाई पनि आक्रामण नगरेको दृश्यसम्मलाई सुन्दर ढंगले लेखेका छन् ।

पोल्याण्डमा भएको पाकेटमार आंतक, जर्मनीमा गरिएको टिप्स मोहदेखि खुशी सूचकांकमा विश्वको एक नम्बर भएर पनि मदिरा सेवनबाट आत्महत्यादर धेरै भएको फिनल्याण्डका रोचक विरोधाभास उल्लेख गरेका छन् । आफू सोभियत संघको विद्यार्थी हुँदा बर्लिनमा सामान खरिद गर्न आउँदा साथीको चेकजन्य गल्तीले एकछिन प्रहरी नियन्त्रणमा पुगेको रोचक कुरा उनले लेखेका छन् ।

हरेक निबन्धका च्याप्टरलाई वेग्लावेग्लै विमर्श गर्न सकिने स्तरको जानकारी, अनुभव र अध्ययन लामिछानेका निबन्धहरुमा छन् । यहाँ दुई पक्षको चर्चा गरिन्छ ।

नेपाली हुनुको दुःख- नेपाली हुनुको सुख

लामिछानेले नेपाली हुनुको फाइदा र घाटा दुवै भोगेका छन् । बुद्धको देशको नागरिक भएकाले उनले श्रीलंका यात्रामा खास मानमनितो पाए । रुस गणराज्य दागेस्तानमा पुग्दा त्यहाँका महाकवि रसुल गाम्जातोभले सन् १९७० को दशकमा नेपालमा घुमेर निकालेका ग्रन्थ उनी पुलकित हुन्छन् । यस्तै जर्मनीको प्रमुख व्यापारिक शहर फ्याङ्कफर्टबाट ३५० किलोमिटरको दूरीमा रहेको भिसेन्ट गाउँमा बनेको नेपाल–हिमालय मण्डप पुग्दा उनी उत्तिकै खुशी हुन्छन् ।

आइसल्याण्डको पठन संस्कृतिबारेमा लामिछानेले आफ्ना गाइडलाई प्रश्न गर्छन् । गाइडले भन्छन्, ‘यहाँका १० प्रतिशत जनता आफ्नो जीवनमा कम्तीमा एउटा पुस्तक प्रकाशन गर्छन् । अब तपाईंहरु कल्पना गर्नुस्, यहाँका मानिस फुर्सदमा के गर्छन् ।’

नेपाली हुनुको दुःख पनि उनले पाएका छन् । जापानको एक कम्पनीसँग व्यापारिक साझेदारी यात्रामा उनी पुग्दा उनलाई सस्तो होटल भनिन्छ । गरिब देशको भएकाले तिर्न सक्दैनन् भनेर यस्तो गरिएको उनले लेखेका छन् । यस्तै नेपालको राहदानी भएकैले युगाण्डाले अन अराइभल भिजा दिएन । नेपाली भएकैले केही तनाव भए पनि नेपालीहरु अफ्रिका, जापान, अस्टे«लियाको उच्च ओहदामा पुगेको कुरा ती देश पुगेर लामिछानेले लेख्न छुटाएका छैनन् । यस्तै विनोद चौधरीले श्रीलंका र अफ्रिकी देशमा गरेको लगानीका कुरा उनले ल्याएका छन् ।

किताब, कविता, पठन र पर्यटन

लामिछानेले फगत सतही यात्रामात्रै गरेका छैनन् । उनले यात्राको गन्तव्य मुुलुकको इतिहास, भूगोल र राजनीतिक गहिराइ र उचाइ पनि नापेका छन् । उनले यात्रा गर्ने क्रममा उक्त देशको आवश्यक दस्तावेज डाउनलोड गर्ने, पुस्तक पढ्ने र युट्युब हेर्ने गरेका छन् । यी सबैका अतिरिक्त गन्तव्य मुलुकका गाइड, स्थानीय नेपाली र अरु मान्छेहरुसँग कुराकानी गरेर विषयगत बुझाइ बलियो बनाएका छन् ।

उदाहरणका लागि उनी रुसको गणराज्य दागेस्तानको लगानी सम्मेलनको निम्तालु हुँदा त्यो देशका महाकवि रसुल गाम्जातोभका नेपालबारेका पुस्तकहरु जीवित देवी कुमारी, जीवन चक्र र मेरो दागेस्तान पढिसकेर पुग्छन् । पहिलो पुस्तकको आफ्ना कुरामै मेनरी भान डाइकका कविता साभार गरेका उनले ठाउँठाउँमा किताव, कविता, दर्शन आदि जोडेका छन् । जस्तै उनी ग्रिस पुग्दा सुकरात, एरिस्टोटल, प्लेटो, आर्किमिडिज, पाइथागोरस आदि सम्झन्छन् । क्रोएसियाको साल्जबर्ग पुगेर त्यसको दृश्य बयान गर्दा कैयौं वर्ष अगाडि सोही रुटको यात्रा गरेर बयान गरेका लैनसिंह बाङ्देलको पुस्तक स्पेनको सम्झनाको कुरा गर्छन् ।

अध्ययन र लेखनका कुरा जोड्न लामिछानेले कतै छोडेका छैनन् । सबैभन्दा रोचक र प्रेरणादायी प्रसंग चैं आइसल्याण्डको छ । सबैभन्दा धेरै पढ्ने जनता भएको देशको रुपमा धेरैले चिन्ने आइसल्याण्डको पठन संस्कृतिबारेमा लामिछानेले आफ्ना गाइडलाई प्रश्न गर्छन् । गाइडले भन्छन्, ‘यहाँका १० प्रतिशत जनता आफ्नो जीवनमा कम्तीमा एउटा पुस्तक प्रकाशन गर्छन् । अब तपाईंहरु कल्पना गर्नुस्, यहाँका मानिस फुर्सदमा के गर्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *