प्रचण्डप्रति ओलीको टिप्पणी : जनयुद्धका सिपाहीलाई धोका दिनेले मलाई दिनु कुन ठूलो कुरा ? (भिडिओ)
‘मसँग काम गर्दा काले काले मिलेर खाउँ भाले हुन सक्दैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादीले जनयुद्धको नामले हिंसात्मक यात्रा सुरु गरेको बताएका छन् ।
ओलीले नेपालमा ठूला-ठूला आन्दोलन भएको र पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्डले हिंसाको बाटो हिँडेर हजारौंको क्रुरतापूर्वक हत्या भएको बताए ।
उनले प्रधानमन्त्री प्रचण्डले युद्धका बेलाका साथी, सिपाहीलाई धोका दिएको जनतालाई धोका दिएको उल्लेख गर्दै आफूलाई धोका दिनु ठूलो कुरा नभएको बताए । शहीद परिवार तथा विभिन्न आन्दोलनमा घाइते भएकाहरुलाई सम्मानमा आयोजित कार्यक्रममा ओलीले यस्ताे बताए ।
‘जनतालाई धोका दिनुभो, सहयोद्धालाई धोका दिनुभो, जनतालाई धोका दिनुभो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभो भने मलाई धाेका दिनु कुन ठूलो कुरा ?’, ओलीले प्रश्न गरे ।
‘हिजो उहाँले भन्नुभो, दुई महिना कस्तो गाह्रो भएको थियो । साँच्चै गाह्रो भएको थियो उहाँलाई । हरियो देख्नै नहुने दाम्लो छिनाउन खोजेर जान खोज्ने मैले राेक्दिने अनि तान्दिएपछि गाह्रै भएको थियो । मलाई थाहा थियो । उहाँ टिक्न सक्नुहुन्न । उहाँका गतिविधि ठीकठाक चलुन् । मसँग काम गर्दा काले-काले मिलेर खाउँ भाले हुन सक्दैन । जहाँ हुन्छ त्यहाँ जानु,’ ओलीले भने ।
ओलीले ठूलाे कचाैरामा दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै भइहाल्छ भन्दै कटाक्ष गरे ।