८ करोडभन्दा बढीको लुटपाट दाबी गरेका मोबाइल पसलेले पेश गर्न सकेन विवरण, कर कार्यालयलाई प्रहरीको पत्र – Nepal Press

८ करोडभन्दा बढीको लुटपाट दाबी गरेका मोबाइल पसलेले पेश गर्न सकेन विवरण, कर कार्यालयलाई प्रहरीको पत्र

काठमाडौं । यातायात मजदुरको प्रदर्शनबीच नयाँ बसपार्कस्थित ल्होत्से मलमा भएको मोबाइल पसल लुटपाटको अनुसन्धानका क्रममा प्रहरीले कर कार्यालयसँग विवरण माग गरेको छ ।

मोबाइल पसल सञ्चालकले ८ करोडभन्दा बढीको मोबाइल लुटपाट भएको दाबी गरेका थिए । तर, हालसम्म लुटिएको भनिएका १४ वटामात्र मोबाइल बरामद भएको छ । मोबाइल पसलले बिक्री गर्न राखेका मोबाइलको आईएमई नम्बरलगायतका विवरण पेश गर्न सकेको छैन ।

मोबाइल पसल सञ्चालकले ८-९ महिनाअघिको खरिदका बिल पेश गरेपछि प्रहरीले कर कार्यालयसँग विवरण माग गरेको छ । ‘साउनमा किनेका मोबाइलहरु अहिलेसम्म बाँकी थिए भन्ने आधार देखिँदैन । त्यसैले कति मोबाइल बिक्री भए र कति स्टकमा थियो भन्ने कर कार्यालयको रेकर्डबाट थाहा हुन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

यातायात मजदुरको प्रदर्शनका क्रममा भएको आगजनी सम्बन्धमा बालाजु वृत्त र मोबाइल पसल लुटपाट सम्बन्धमा महाराजगञ्ज वृत्तले अनुसन्धान गरिरहेका छन् । लुटिएका भन्दा केयौं गुणा बढीको दाबी गरिएको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

‘लुटिएको भन्ने प्रमाणबाट देखिएसम्म हामीले हेर्ने हो । रेकर्डमा नआउने कुराको हिसाब हुन्न’, अनुसन्धान अधिकारी भन्छन् । प्रहरीले आगजनी र लुटपाटमा ६० जनाभन्दा बढीलाई पक्राउ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर