को-को परे प्रज्ञा प्रतिष्ठानको दाेहाेराे सुविधा कटौतीमा ?
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ कार्य समितिले राज्यको दोहोरो सुविधा लिइरहेका आजीवन सदस्यहरूको लिइरहेको सेवा सुविधा कटौती गर्ने निर्णय गरेसँगै नौ जना आजीवन सदस्यहरूको सदस्यता संकटमा परेको छ ।
मासिक ५१ हजार ४७४ रुपैयाँ सुविधा लिइरहेका नौ जना आजीवन सदस्यहरूको सुविधा कटौती हुने भएको हो ।
कवि तथा संस्कृतिविद् तुलसी दिवस एकेडेमीको आजीवन सदस्यको साथसाथै पद्मकन्या क्याम्पसबाट पनि प्राध्यापकको पेन्सन लिइरहेका छन् । यसकारण पनि उनले एकेडेमीबाट लिइरहेको सुविधा कौटती हुने एकेडेमीका एक प्राज्ञ परिषद् सदस्य बताउँछन् ।
त्यस्तै, टीयुबाट अवकाशप्राप्त प्राध्यापक प्रा.डा चुडामणि बन्धुको पनि एकेडेमीबाट लिइरहेको सुविधा कटौती हुनेछ । पद्मकन्या क्याम्पसबाटै अवकाश्प्राप्त प्राध्यापक तथा नाट्यकर्मी अशेष मल्ल पनि दोहोरो सुविधा लिइरहेका कारण एकेडेमीबाट कटौतीमा पर्नेछन् ।
टीयुबाटै अवकाशप्राप्त प्राध्यापक डा. योगेन्द्रप्रसाद यादव, प्राध्यापक वासुदेव त्रिपाठी, प्राध्यापक मञ्जु तिवारी काँचुली, विश्वभाषा क्याम्पसबाट अवकाशप्राप्त प्राध्यापक गंगाप्रसाद उप्रेती, पूर्व सचिव आरडी प्रभास चटौतको पनि राज्यबाट दोहोरो सुविधा लिइरहेका कारण एकेडेमीले सुविधा कटौती गर्ने भएको छ । कवि तोया गुरुङ पनि नेपाल बैंकको जागिरे भएका कारण कटौतीमा पर्नेछिन् ।
त्यस्तै, आख्यानकार ध्रुवचन्द्र गौतमले पनि प्राध्यापकतर्फबाट र एकेडेमीतर्फबाट दोहोरो सुविधा लिएका कारण एकेडेमीले कटौती गर्ने तयारी गरेको छ । तर, को-को आजीवन सदस्यहरूले दोहोरो सुविधा लिइरहेका छन्, अध्ययन गरिरहेकाले धेरै आजीवन सदस्यहरूको सुविधा कटौती हुनसक्ने सदस्य प्रा.डा. सचीव धनप्रसाद सुवेदीले बताए ।
उनले भने, ‘हामीले निर्णय मात्रै गरेका हौं । अब अध्ययन गरेर रिपोर्ट तयार गरेपछि एक्सन लिन्छौं ।’
सुविधा कटौतीबारे कूलपति भूपाल राईले भने, ‘आजीवन सदस्यबाट आधा मात्रै रकम बचाउन सकियो भने त्यो रकम प्राज्ञिक क्षेत्रमा राम्रो ढंगले काम गर्न सकिन्छ ।’