रंगले रंगियो कञ्चन वन, यसरी खेले साधुसन्त र श्रद्धालुले होली


जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका ९ मा पर्ने कञ्चनवन आज रंगले रंगिएको छ । १५ दिने मिथिला माध्यमिकी परिक्रमामा सहभागी साधुसन्त र भक्तजनले होली खेलेपछि कञ्चनवन रंगले रंगिएको हो ।
धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान् राम र जनकपुरको अग्नीकुण्डबाट जानकीको डोलासहित ८ दिन अगाडी परिक्रमा सुरु भएको थियो । उक्त पदयात्रामा सहभागीहरु आज कञ्चनवन पुगेर होली खेलेका छन् ।
त्रेतायुगमा भगवान रामले कञ्चन वनमा होली खेलेको किंवदन्ती छ । यहाँ इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको छ । यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा हरेक वर्षजस्तै आज बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र भंगहा नगरपालिकाले होली समारोह आयोजना गरेको थियो ।
कञ्चनवनमा भगवान रामले होली खेलेको हुनाले यहाँको माटो अहिले पनि रातो छ । त्यसैले परिक्रमाका यात्रीले यहाँ हरेक वर्ष आजको दिन धुमधामसँग होली खेल्छन् ।
होली समारोह हेर्न परिक्रमावासीबाहेक छिमेकी गाउँघरबाट समेत हजारौंको संख्यामा सर्वसधारण कञ्जनवन पुगेका थिए । भगवान रामले होली खेलेको ठाउँमा आएर होली खेल्न पाउँदा अत्यन्त गौरव महसुस भएको साधुसन्त बताउँछन् ।
कञ्चन वनमा परिक्रमा यात्रीहरुले होली खेलेसँगै मिथिलामा होली (फगुवा) विधिवत सुरु भएको मानिन्छ ।
परिक्रमाका यात्रु आज कञ्चनवनमा विश्राम गरी भोली पर्वता पुग्छन् । कूल १३३ किलोमीटरको वृत्तमा यात्रा पूरा गरेपछि फागुन पूर्णिमाका दिन जनकपुरको अन्तगृह परिक्रमा पश्चात मिथिला माध्यमिकी यात्रा समापन हुन्छ ।