गण्डकीले आविष्कार केन्द्रलाई दिएन १० करोड, पोखराको २८ रोपनी जग्गा बेच्दै महावीर पुन – Nepal Press

गण्डकीले आविष्कार केन्द्रलाई दिएन १० करोड, पोखराको २८ रोपनी जग्गा बेच्दै महावीर पुन

पोखरा । गण्डकी विश्वविद्यालयमा विभिन्न किसिमका साना कृषि औजारहरु बनाउने काम भइरहेका छन् । त्यसका लागि महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले सहकार्य गरेको छ ।

पुनले गण्डकी प्रदेशमा आईसीटी इनोभेसन सेन्टर खोल्ने भनेर सिम्पानीमा पनि काम गरिरहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिम्पानीमा दिएको एउटा घर छ । त्यसमा मर्मतलगायतको काम सुरु भइसकेको छ ।

पोखरा भ्यालीमा आईसीटी पढेका विद्यार्थीले केही गर्न चाहन्छ भने उनीहरुलाई वातावरण बनाइदिने उद्देश्य हो । आवश्यक किसिमका तालिमको व्यवस्था गर्ने उद्देश्यले उक्त कार्यक्रमको थालनी गरिएको थियो ।

आविष्कार केन्द्रले गण्डकी प्रदेशका ६ वटा अस्पतालमा बिरामीको सबै किसिमको हेल्थ रेकर्डहरु कम्प्युटरमा राखेर जहिले चाहिन्छ, त्यतिवेला उपलब्ध गराउने किसिमको सिस्टम लागू गर्ने उद्देश्यले इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टमको काम पनि सुरु गरिसकेको छ ।

यी सबै काम गण्डकी प्रदेशले दिने भनेको अनुदानबाट गर्ने गरी आविष्कार केन्द्र अगाडि बढेको थियो । गण्डकी प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तनका लागि भन्दै राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रुपैयाँ दिने गरी चालू आर्थिक वर्षको बजेटमा विनियोजन गरेको छ । तर, अहिलेसम्म उक्त अनुदान नपाएको गुनासो आविष्कार केन्द्रले गरेको छ ।

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनुदानबाट काम गर्ने गरी योजना सुरु गरे पनि अहिलेसम्म नपाएको बताए । ‘यी सबै काम गर्ने भनेको गण्डकी प्रदेशले दिने १० करोडको अनुदानले हो । तर, पैसा आएन । उनीहरुको मुख हेरेर बस्यो भने यो आउन निकै ढिलो हुने भयो’, पुनले भने ।

गण्डकी सरकारले कार्यविधि पूरा गर्दागर्दै अहिलेसम्म अनुदानको रकम नदिएको पुनले सुनाए । ‘सरकारले अहिलेसम्म पूरा गर्न सकेका छैनन् । कार्यविधि पूरा गर्ने भन्छन्, छिटोछिटो गर्ने भन्छन् । तर, यत्रो महिना भयो, आएको छैन’, पुनले गुनासो गरे ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तोयनाथ लम्सालले आविष्कार केन्द्रको प्रस्ताव आएको र छलफलकै क्रममा रहेको बताए । ‘उहाँहरु (आविष्कार केन्द्र) को प्रस्ताव आएको छ, प्रस्ताव छलफलकै क्रममा छ । टुंगिसकेको विषय होइन’, प्रवक्ता लम्सालले भने ।

सरकारले दिने भनेको अनुदान दिन ढिला गरेपछि आविष्कार केन्द्रका अध्यक्ष पुनले पोखरामा रहेको आफ्नो जग्गा बेच्न लागेका छन् । उनले ५ वर्षअघि आविष्कार केन्द्रलाई दिएको २८ रोपनी जग्गा बेच्न लागेका हुन् । योजनाका काम सुरु भइसकेको र उक्त योजना चलाउन आफ्नो जग्गा बेच्न लागेको पुनले बताए ।

उनी भन्छन्, ‘राजनीतिक परिवर्तनले गर्दा यिनको पछि लाग्दालाग्दै दिक्क लाग्यो । दिए दिन्छन् । नदिए हामी आफैंले जग्गा बेचेर गर्ने हो ।’

आविष्कार केन्द्र तथा अन्य सामाजिक कामका लागि खर्च गर्ने भन्दै जग्गा बिक्री गर्न लागेको पुनले बताए । पुनले ५ वर्षअघि आविष्कार केन्द्रलाई उक्त जग्गा दान गरेका थिए । ‘यो जग्गा मेरो नाममा छ । तर, ५ वर्षअघि नै मैले राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको हो’, पुनले भने ।

उनले त्यसबाट आएको रकम वीरगञ्जको कृषि औजार कारखाना र यो वर्ष गण्डकी प्रदेशमा गर्ने भनिएको कामहरुमा प्रयोग गरिने सुनाए । पोखराको ठूलाकोटमा रहेको जग्गाबाट पोखराको अन्तर्राष्ट्रिय विमानस्थल, बेगनास ताल, हिमाल, फेवाताल देखिने उनले बताए ।

फेसबुकमा स्टाटस लेख्दै पुनले पोखरा २८ माझठानामा रहेको २८ रोपनी जमिन बिक्री गर्न चाहेको सूचित गरेका छन् । ‘पोखरा नजिकैको २८ रोपनी जग्गा बिक्रीमा छ । इच्छा र पैसा हुनेले किन्नुहोस् । यो जग्गा बेचेर आएको पैसा वीरगञ्जको कृषि औजार कारखानामा र यो वर्ष गण्डकी प्रदेशमा गर्ने भनिएको कामहरुमा प्रयोग हुनेछ । जसरी भए पनि नबेची नछाड्ने हो’, उनले लेखेका छन् ।

डाँडाको टाकुरामा रहेको जमिन होटेल/रिसोर्ट खोल्न, आश्रम बनाउन, ध्यान केन्द्र बनाउन, मनोरञ्जन पार्क बनाउन वा शान्त ठाउँमा प्राइभेट घर बनाएर जिन्दगी बिताउने उपयुक्त हुने पुनले बताएका छन् । ‘जग्गाको मूल्य त्यो क्षेत्रमा चलेको दरभाउ हुनेछ । मैले सुनेअनुसार त्यो क्षेत्रमा मोटामोटी एक रोपनीको ३० देखि ५० लाख रुपैयाँ जति छ रे’, पुनले लेखेका छन्, ‘त्यो जग्गाबाट पोखराको अन्तर्राष्ट्रिय विमानस्थल, बेगनास ताल, हिमाल, फेवाताल देखिन्छ । यो जग्गा भएको ठाउँको नाम ठूलाकोट हो । जग्गासम्म पीच बाटो गएको छ र बिजुली छ ।’

यो विषयमा कसैले पनि होच्याएर र हावा कुरा गरेर खिल्ली नउडाउन पुनले अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर