कांग्रेसका हेभिवेट सबै नेता मन्त्रीको दौडमा- पूर्णबहादुरलाई रोजेको, शशांकलाई खोजेको मन्त्रालय ! – Nepal Press

कांग्रेसका हेभिवेट सबै नेता मन्त्रीको दौडमा- पूर्णबहादुरलाई रोजेको, शशांकलाई खोजेको मन्त्रालय !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुनावअघिकै गठबन्धनमा फर्काउन सफल भएपछि नेपाली कांग्रेसले सरकारमा जाने गृहकार्य अघि बढाएको छ । एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनअघि नै सरकार पुनर्गठनको तयारी गरेका छन् ।

कांग्रेसमा पनि सरकारमा जाने छलफल भएपछि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबाहेक अधिकांश हेभिवेट नेताहरु नै सरकारमा जान आतुर देखिएका छन् ।

आठ दलीय गठबन्धनमा कांग्रेसले बढीमा ९ मन्त्रालय पाउने देखिएको छ । पार्टीभित्रका अधिकांश शीर्ष नेताहरु नै सरकारमा जान हतारिएपछि पार्टी सभापति शेरबहादुर देउवालाई मिलाउन हम्मेहम्मे परेको छ ।

तर, कांग्रेस प्रवक्ता प्रकाशशरण महत अहिलेसम्म सरकारमा सहभागी हुनेबारे छलफल नभएको दाबी गर्छन् ।

उनले नेपाल प्रेससँग भने, ‘हामी अहिले राष्ट्रिपतिको निर्वाचनमा केन्द्रित छौं । एमाले सरकारबाट बाहिरिएपछि परिस्थिति फरक बनेको छ । त्यसका लागि प्रधानमन्त्रीले पहल गर्नुहोला । अब सत्ता समीकरणको विषयमा गठबन्धन दलहरु बसेर छलफल हुन्छ ।’

उनले प्रधानमन्त्रीलाई विश्वासको मत चाहिएको बेलामा अब कांग्रेसले साथ दिने बताए ।

एमाले बाहिरिएपछि अब कांग्रेसलाई सरकारमा जाने ढोका खुल्यो होला नि ? भन्ने नेपाल प्रेसको प्रश्नमा प्रवक्ता महतले भने, ‘सरकारमा जाने ढोकाबारे अब छलफलपछि मात्रै थाहा हुन्छ । प्रधानमन्त्रीले त्यस विषयमा सल्लाह सुझाव लिनुहोला । राष्ट्रपतिलाई समर्थन पाएपछि प्रधानमन्त्रीलाई सहयोग गर्न तयार छौं ।’

चुनावअघिको गठबन्धन ब्युँताएको जस लिने होडमा रहेका उपसभापति पूर्णबहादुर खड्का पनि सरकारमा जान तयार छन् । उनी प्रचण्डलाई नै प्रधानमन्त्री दिएर भए पनि पुरानो गठबन्धन जोगाउने पक्षमा थिए । तर, पार्टीभित्र देउवा निकट नेताहरुबीच कुरा मिल्न नसक्दा उनको त्यतिबेलाको प्रयास सफल हुन सकेन ।

पुस २६ गते प्रधानमन्त्रीलाई रणनीतिक रुपमा विश्वासको मत दिएर ढोक्सा थापेपछि पनि उपसभापति खड्का निरन्तर प्रचण्डसँग संवादमै थिए । प्रचण्डलाई कांग्रेसकै कित्तामा ल्याउन निर्णायक भूमिका खेलेका खड्का प्रचण्डका पनि रुचिका पात्र भएकाले कांग्रेसबाट रोजेको मन्त्रालय पाउनुपर्ने पक्षमा छन् ।

खड्का महत्वपूर्ण मन्त्रालय लिएर कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेर जाने पक्षमा छन् । यद्यपि उनको मन्त्रालय कुन हुने भन्ने टुंगो छैन । तर, अहिले प्रचण्डलाई एमालेबाट फर्काएर पुरानै गठबन्धनमा ल्याउन रामचन्द्र पौडेलकै जति भूमिका खड्काको छ ।

माओवादी केन्द्रले गृह मन्त्रालय राखेमा कांग्रेसले अर्थ पाउँदा उनको सम्भावना छ । तर, उनले त्यसबाहेक अन्यमा जान चाहे पनि देउवा दिन तयार छन् । खड्काबाहेक देउवा निकटका प्रकाशशरण महत र ज्ञानेन्द्र कार्की,उदय शमशेर जबरा पनि अर्थमन्त्रीका दाबेदार छन् ।

यसपटक शशांक कोइराला पनि मन्त्रीको लबिङमा छन् । २०६४ सालदेखि निरन्तर जितेका उनी यसअघि मन्त्री हुन चाहेका थिएनन् । अहिले प्रधानमन्त्री हुने लक्ष्यका साथ चुनाव लडे पनि अन्तिम समयमा आएर मन्त्रीमै भए पनि चित्त बुझाउने पक्षमा छन् कोइराला ।

पार्टीको १४औं महाधिवेशनबाटै देउवालाई साथ दिएकाले कोइरालाले खोजेकै मन्त्रालय दिन देउवा राजी रहेको उनी निकट नेताहरु बताउँछन् । कोइरालाले आफू मन्त्री बन्न इच्छुक रहेको सार्वजनिक रुपमै बताइसकेका छन् ।

पार्टी सरकारमा जाँदा शेखर-गगन समूहले ४० प्रतिशत दाबी गर्नेछ । त्यस्तो अवस्थामा अहिले महत्वपूर्ण मन्त्रालय पाए इतर समूहको नेतृत्व गरेका नेता डा. शेखर कोइराला आफैं सरकारमा जाने दौडमा छन् ।

प्रदेश १ बाट शेखरबाहेक देउवा निकट रहेकी सांसद सीता गुरुङको पनि बलियो सम्भावना छ । उनी कांग्रेसबाट प्रत्यक्ष चुनाव जित्ने एकमात्र महिला हुन् । प्रदेश १ बाटै मन्त्रीका सम्भावित पात्र महामन्त्री विश्वप्रकाश शर्मा हुन् । तर, उनले सरकारमा जान रुचि देखाएका छैनन् ।

मधेसबाट देउवाको कोटामा रमेश रिजाल मन्त्री बन्नसक्छन् । तर, गठबन्धन ब्युँताउन पछिल्लो समय दौडधूपमा लागेका समानुपातिक सांसद विमलेन्द्र निधि पनि मन्त्रीका आकांक्षी छन् ।

बागमती प्रदेशमा सरकारमा जाने आकांक्षा राख्नेको लर्को नै छ । महाधिवेशनबाट देउवा निकट रहेका कृष्णप्रसाद सिटौला समूहका प्रमुख दाबेदारका रुपमा रहेका प्रदीप पौडेलको भूमिका अहिले प्रस्ट छैन । संसदीय दलको चुनावमा गगन थापालाई साथ दिएका पौडेल अहिले कुन गुटका हुन् भन्ने नखुलेको नेताहरु बताउँछन् ।

त्यसैले अहिले सिटौलाले पौडेललाई सिफारिस नगर्न सक्छन् । अहिले सिटौलाको कोटाबाट मन्त्री बन्न कतिपय सांसदले लबिङ गर्न थालिसकेका छन् ।

यस्तै देउवालाई पछिल्लो समय साथ दिँदै आएका प्रकाशमान सिंह, उदयशमशेर राणा पनि मन्त्रीका आकांक्षी छन् । राणा अर्थमन्त्रीका बलियो दाबेदार हुन् । बागमती प्रदेशबाट सिन्धुपाल्चोकका मोहन बस्नेत पनि मन्त्रीको दौडमा छन् । उनी देउवा निकटका हुन् ।

गण्डकीबाट उपसभापति धनराज गुरुङ आफैं सरकारमा जान तयार छन् । उनीबाहेक देउवा निकट शंकर भण्डारी र राजेन्द्र बजगाईंको पनि चर्को दाबी छ ।

लुम्बिनीबाट शेखर-गगन समूहका सञ्जय गौतम, शशांक निकटका दीपक गिरी, देउवा निकटका सहमहामन्त्री किशोरसिंह राठोर मन्त्रीका आकांक्षी छन् । देउवाले चन्द्र भण्डारीलाई मन्त्री बनाउन चाहे पनि अहिले स्वास्थ्य अवस्थाको कारणले सम्भव छैन ।

कर्णालीबाट उपसभापति खड्का र सुदूरपश्चिमबाट वीरबहादुर बलायर, सहमहामन्त्री बद्री पाण्डे र एनपी साउद मन्त्री बन्ने सम्भावना छ । त्यसो त प्रचण्ड नेतृत्वकाे सरकारमा देउवा पत्नी आरजु राणा देउवा नै सहभागी हुने सम्भावना पनि रहेको नेताहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर