एनएसजेएफ अवार्ड: चार विधाको मनोनयन सार्वजनिक (भिडिओ) – Nepal Press

एनएसजेएफ अवार्ड: चार विधाको मनोनयन सार्वजनिक (भिडिओ)

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार पत्रकार सम्मेलन गर्दै चार विधामा मनोनयन पर्ने सार्वजनिक गरेको हो ।

मञ्चले वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, फुटबलका अन्जन विष्ट, किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन् ।

यस्तै, महिलातर्फ भलिबल टिमकी कप्तान अरुणा शाही, क्रिकेटकी सिता राना मगर, रुबिना क्षेत्री, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेकी छन् ।

वर्षका युवा खेलाडीतर्फ फुटबलका मनिष डाँगी, प्रिती राई, बक्सिङका छिरिङ वान्ग्दी शेर्पा, ब्याडमिन्टनकी रशिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा छन् ।

वर्ष प्रशिक्षक अवार्डको मनोनयनमा फुटबलका अब्दुल्लाह अल्मुताईरी, क्रिकेटका डेभ वाट्मोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट परेका छन् ।

मञ्चका सचिव अन्जन खड्काको संयोजकत्वमा गठित छनोट समितिले मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको छनोट गरेको हो । २०७८ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित गरिएको छनोट समितिका संयोजक खड्काले बताए ।

मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन यस अघि नै सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइसको मनोनयनमा फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा रहेका छन् । पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छन् ।

स्पोर्ट्स अवार्ड काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा फागुन २३ गते आयोजना हुनेछ । यस पटकको पल्सर स्पोर्ट्स अवार्डमा ९ विधामा अवार्ड प्रदान गरिने छ ।

त्यसमा पिपल्स च्वाइस, वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ।

लाइफटाइम, स्पेशल, पारा एथलेट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ।वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ।

यसपटक वर्षका युवा खेलाडीलाई पनि मोटर साइकल प्रदान गरिने एनएसजेएफले जनाएको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर