शिथिल विद्यार्थी आन्दोलन, स्ववियु निर्वाचन र अखिलको भूमिका – Nepal Press

शिथिल विद्यार्थी आन्दोलन, स्ववियु निर्वाचन र अखिलको भूमिका

कैलाली । कापी र कलम हुनुपर्ने विद्यार्थीको हातमा चुरोट र बियर का बोतल किन ? स्कुलमा, क्याम्पसमा हुनु पर्ने विद्यार्थीहरू जुवा तास र लागू औषधको अखडामा किन ? देशका कर्णधार भनिएका विद्यार्थीहरू धार बिनाका हतियार जस्ता किन ?

पछिल्लो समय यी र यस्तै प्रश्नहरू यत्रतत्र सर्वत्र छरिएका छन् । विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिहरू गर्भ गर्न लायक छन् । तर, किन विद्यार्थी आन्दोलन अहिले शिथिल बन्दै गइरहेको छ ? त्यसको भने विश्लेषण गर्न आवश्यक भइसकेको छ ।

२०४६ अगाडि पञ्चायती व्यवस्थामा राजनीतिक दलहरू प्रतिबन्धित रहेको सन्दर्भमा अधिकांश राजनीतिक दलले आफ्ना विचार र दृष्टिकोण समाजमा लैजाने माध्यम विद्यार्थी राजनीति थियो । त्यो भन्दा पनि करिब दुई दशक पहिले पनि विद्यार्थी आन्दोलनले सफलता प्राप्त गरिसकेको थियो ।

जयतु संस्कृतम् आन्दोलनले आरम्भ गरेको विद्यार्थी आन्दोलन २००७ सालमा राणा विरोधी आन्दोलनको नेतृत्व गर्दै बलिदानी भूमिका निर्वाह गरेको थियो ।

२०३६ सालको जनमत सङ्ग्रह पनि विद्यार्थी आन्दोलनको दबाबको कारण घोषित भयो । २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा पनि विद्यार्थीले नै महत्त्वपूर्ण योगदान दिए ।

नेपाली राजनीतिको इतिहास पल्टाउने हो भने देशमा भएका प्रायः सबै राजनीतिक परिवर्तनमा विद्यार्थी सङ्गठन र विद्यार्थी आन्दोलनको निर्णायक भूमिका रहेको पाइन्छ । राणा शासनका विरुद्ध भएको आन्दोलनमा होस् या पञ्चायत विरुद्धको आन्दोलन, चाहे २०६२–०६३ को जनआन्दोलनमा नै किन नहोस् विद्यार्थी सङ्गठनहरूको महत्त्वपूर्ण योगदान रहेको छ ।

विद्यार्थी राजनीति भनेको राजनीति कसरी गर्ने र नेतृत्व विकासको सीप सिक्ने पहिलो खुड्किलो हो । यसबाट विद्यार्थीले राजनीतिमा आउने र नेतृत्व लिने मौका पाउँछन् ।

अहिले विद्यार्थी राजनीतिको एक खुड्किलोका रुपमा हेरिएको स्ववियु निर्वाचनको सरगर्मी पनि सुरु भइसकेको छ । यसबाट विद्यार्थी राजनीतिलाई नयाँ दिशामा लैजाने एक अवसर छ । तर, चुनौती पनि उत्तिकै छ ।

नेपालका विभिन्न विश्व विद्यालयहरूले (त्रिभुवन विश्वविद्यालय चैत्र ५, मध्यपश्चिम विश्वविद्यालय चैत्र ३ र सुदूरपश्चिम विश्वविद्यालय चैत्र ८) गते ,स्ववियु निर्वाचन गर्ने तयारी भएसँगै विद्यार्थीहरू उत्साहित छन् ।

तर, विभिन्न पार्टीभित्रका गुट सङ्घर्ष पनि स्ववियु निर्वाचनमा प्रकट हुने देखिन्छ । जुन विद्यार्थी हक अधिकारका बाधक हुन् । सङ्गठन भित्रको लोकतान्त्रिक अभ्यासबाट हैन, पार्टीहरूको गुटगत अभ्यासबाट स्ववियुको उम्मेदवार बन्न आशीर्वाद थाप्ने प्रवृत्ति हाबी हुनु पनि अर्को जोखिम पक्ष हो । तर, सबै जोखिम भुलेर विद्यार्थीहरु अहिले ,स्ववियु निर्वाचनमा होमिएका छन् ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले ,स्ववियु निर्वाचनको कार्य तालिका समेत सार्वजनिक गरे पछि विद्यार्थी सङ्गठनहरू थप हौसिएका छन् ।

प्रत्येक २/२ वर्षमा हुनुपर्ने ,स्ववियु निर्वाचन पछिल्लो ६ वर्ष पछि हुँदै छ ।

यस पटक पनि निर्वाचन नहुने सम्भावना अधिक थियो । तर नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुलाई यो कुरा किमार्थ स्वीकार्य थिएन । अनेरास्ववियुको निरन्तरको दबाब र पहलकदमीका कारण आज विद्यार्थी सङ्गठनहरू ,स्ववियु निर्वाचनमा सहभागी हुँदै छन्। अहिले विद्यार्थीहरूमा उत्साह र उमङ्ग दुवै देखिएको छ ।

अनेरास्ववियु आफ्नो स्थापनाकालदेखि नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पक्षमा छ। अझ भन्नुपर्दा अनेरास्ववियुको जन्म नै स्वतन्त्र विद्यार्थी युनियनको गठनबाट भएको हो ।

विद्यार्थीहरूको समस्या पहिचान र ती समस्याहरू समाधान गर्न लागिएको देशकै एक गर्भिलो विद्यार्थी सङ्गठन अहिले निर्वाचनको पूर्व सन्ध्यामा छ ।

अनेरास्ववियुको काँधमा अहिले महत्त्वपूर्ण जिम्मेवारी पनि छ । यस जिम्मेवारीलाई पुरा गर्न र विद्यार्थी सङ्गठनको हित अनुसार अघि बढ्न पनि आसन्न निर्वाचनमा अनेरास्ववियुलाई आम विद्यार्थीहरूले एक पटक फेरी विश्वास गर्नु पर्छ ।

विद्यार्थीका हक अधिकारको सुनिश्चितता गरी उनीहरूलाई कर्तव्य र जिम्मेवारी बोध गराउन, क्याम्पस र विश्व विद्यालयको भौतिक , प्रशासनिक र अन्य सुधार गरी गुणस्तरीय शिक्षा प्राप्त गर्न अनेरास्ववियु बलियो बन्न आवश्यक छ । यसका लागि आम विद्यार्थीहरूले एक पटक फेरी विश्वास गर्नु पर्छ ।

विश्व विद्यालयका शैक्षिक क्यालेन्डरहरू समयमै सञ्चालन गर्न ( समयमा विद्यार्थी भर्ना, समयमै परीक्षा सञ्चालन, समयमै नतिजा प्रकाशन ) , नेपालीको शैक्षिक क्षेत्रमा देखिएका विकृति बिसङ्गगतिको अन्त्य गरी वैज्ञानिक, प्राविधिक, सीपमूलक र रोजगारीमूलक शिक्षा प्रणाली अवलम्बन गर्न सुरुबाटै भइरहेको पहलले केही सार्थक रूप लिएको पनि पाइएको छ । तर, अझै यसलाई मूर्त रूप दिन बाकी छ ।

विद्यार्थी सँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरू जुन विगत देखी अनेरास्ववियुका आन्दोलनका उपलब्धि हुन् तिनलाई संस्थागत गरी कार्यान्वयन (स्वास्थ्य बीमा, ४५% यातायात छुट, सर्टिफिकेट राखेर सहुलियत ऋण) मा लैजानु पर्ने छ । विद्यालय तहको शिक्षा निःशुल्क र अनिवार्य अनि विश्वविद्यालय तहको शिक्षामा समान किसिमको सबैको पहुँच पुर्‍याउने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गराउन र विश्व विद्यालयको कुशल नेतृत्व , समयसापेक्ष शैक्षिक नीति , दक्ष प्राध्यापक र प्रतिस्पर्धी प्राज्ञिक वातावरण निर्माण गर्न पनि स्ववियु निर्वाचनमा अनेरास्ववियु बलियो अवस्थामा उभिन आवश्यक छ ।

स्ववियु भनेको विद्यार्थीहरूको साझा पनि संस्था हो । यसको प्राप्ति पछाडि बलिदानको एउटा गर्विलो इतिहास छ । तसर्थ यसको ऐतिहासिक गरिमालाई जोगाउन पनि स्ववियुको निर्वाचनलाई मर्यादित बनाउनु अति आवश्यक छ । र त्यसका लागि पनि उमेर हदबन्दी एउटा दरिलो हतियार हो ।

एउटा राज्यमा जति भूमिका सरकार र संसद्को हुन्छ,त्यति भूमिका एक क्याम्पसमा स्ववियूको हुन्छ । विद्यार्थीको हक, हितको संरक्षण र संवर्द्धन गर्न, विद्यार्थीको बौद्धिक र चारित्रिक विकास गर्न, विद्यार्थीको अनुशासन कायम गर्न र क्याम्पसको शैक्षिक र संस्थागत विकास गर्न सत्ता पक्षीय भूमिका निर्वाह गर्न र क्याम्पस प्रशासनको गलत निर्णय र हेपाह प्रवृत्तिको डटेर सामना गर्दै प्रतिपक्षी भूमिका निर्वाह गर्न समेत स्ववियू आवश्यक रहेको कुरा प्रस्ट छ ।

नियमित २/२ वर्षमा स्ववियु निर्वाचन हुन नसक्दा राजनीतिको जग मानिने विद्यार्थी संघ संगठन र स्ववियुको आज औचित्य मा प्रश्न खडा हुन थालेको छ ।

नेपाली राजनीतिको मेरुदण्डको रुपमा रहेको विद्यार्थी राजनीति बिस्तारै शिथिल बन्दै गएको यथार्थलाई हामीले स्वीकार गर्नै पर्छ । पछिल्लो समय स्ववियु सञ्चालन सम्बन्धी उपयुक्त नियमावली र आचार संहिताको अभावमा विद्यार्थी आन्दोलन सुस्ताएकै हो ।

सुस्ताएको विद्यार्थी आन्दोलनलाई पुनः जागृत गराउनु आजको आवश्यकता हो । विद्यार्थी सङ्गठनहरूको लागि यो एउटा राम्रो मौका पनि हो । यसलाई हामीले सदुपयोग गर्न सकेनौँ भने विद्यार्थी आन्दोलनबाट प्राप्त ठूलो मूल्य चुकाउन पर्नेछ ।

आज हामीले २१ औ शताब्दीमा आएर ज्ञान विज्ञान र बिचारको समृद्धिकरण गर्दै अगाडि जाने विद्यार्थी राजनीति गर्नु पर्छ।

अबको शिक्षा मेडिकल, प्राविधिक र निःशुल्क हुनु पर्छ ।स्वदेशमा नै उच्च शिक्षा ,स्वदेशमै रोजगार हुनु पर्छ । नेपालको शिक्षा प्रणालीलाई हेर्ने हो भने नेपालको शिक्षा एकातिर बजार अर्को तिर छ । देश विकासको लागि र समाज परिवर्तनको लागि विद्यार्थीहरूको भूमिका एकदम महत्त्वपूर्ण हुन्छ ।

विद्यार्थीले नागरिक र राजनीतिक अधिकार, आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको वकालत तथा त्यसको समूहिकरणको लागि सङ्घर्ष गर्दै अगाडि बढ्न सक्नु पर्छ ।

क्याम्पसमा विद्यार्थी सङ्घ सङ्गठनहरूको पारदर्शिता र विधिको शासन स्थापित गर्न सदैव अग्रसरता हुनु पर्छ

लोकतान्त्रिक अभ्यास, युवा नेतृत्वको विकास, विद्यार्थीको पक्षमा वकालत गर्ने, विश्व विद्यालयको मर्यादा कायम राख्न विगत देखी नै अनेरास्ववियुले सुरु गरेका अभियानहरूले अझै निरन्तरता पाउन आवश्यक छ ।

वास्तवमा विचारको शक्ति ज्यादै ठूलो शक्ति हो । त्यस कारण विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनलाई वैचारिक र प्राज्ञिक बनाउन आवश्यक छ । निर्वाचनमा गुन्डागर्दी गर्नेलाई सबैले बहिष्कार गर्नु पर्छ । एउटा स्वस्थ र मर्यादित वातावरण बनाएर विद्यार्थी युनियनको निर्वाचन नियमित रूपमा हुने वातावरण निर्माण गर्नु पर्छ ।

स्ववियुमा उम्मेदवार हुनकै लागि वर्षौवर्ष क्याम्पस ढुक्ने प्रवृत्तिलाई सबैले निरुत्साहित गर्नुपर्छ । उल्टो बाटोमा हिँडेको स्ववियु निर्वाचनलाई सुल्टो बाटो हिँडाउने र समाजलाई आशा र भरोसा दिन अहिलेका विद्यार्थी सङ्गठन र तिनका नेताहरूले एउटा जोखिम मोल्नै पर्छ । अन्यथा स्ववियु र विद्यार्थी आन्दोलन ठूलो धरापमा पर्नेछन् ।

लेखक अनेरास्ववियु स्थायी कमिटी सदस्य हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *