वाणिज्य बैंकहरुको साढे दुई खर्ब लघुवित्तमा, राष्ट्र बैंक भन्छ- ऋण ‘तिर्दिनँ’ भन्न मिल्दैन
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा एकपछि अर्को समस्या देखिएको छ । एकातिर वाणिज्य बैंकहरुको अचाक्ली ब्याजदरको विरुद्धमा ऋणी सडकमा उत्रिएका छन् अर्कोतिर अति विपन्न वर्गको लागि ससानो पूँजी प्रवाह गर्ने लघुवित्तका ऋणीहरु पनि संघर्षमा छन् ।
लघुवित्तले गाउँ-गाउँमा पुगी प्रलोभनमा पारेर ऋण दिएको र ऋण असुल्दा भने आम्दानी नहेरी तनाव दिएको आरोप ऋणीको छ । लघुवित्तले प्रवाह गरेको ऋण कहाँ गएको छ भन्ने अनुगमन गर्दैनन् । मनपरी ऋण प्रवाह गर्दा लघुवित्तहरु अहिले आफैं संकटमा पर्न थालेका छन् । ऋणीले ऋण नतिर्ने भनिरहेका छन् ।
लघुवित्तले शोषण गरेको भन्दै गाउँ-गाउँमा आन्दोलन चर्किएको छ । समूह नै गठन गरेर आन्दोलनमा उत्रिएका उनीहरुले लघुवित्तबाट लिएको ऋणको साँवा-ब्याज नतिर्ने र लघुवित्त संस्थाहरु नै खारेज गर्नुपर्ने माग गरिरहेका छन् । यस्ता ऋणीहरुमा धेरैजसो मिटरब्याजको ऋण तिर्न लघुवित्तमा जोडिएकाहरु देखिएका छन् ।
यता नियमन निकाय नेपाल राष्ट्र बैंकले लघुवित्तबाट लिएको ऋण तिर्दिनँ भन्दैमा नछोडिने बताएको छ । राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्तको समस्या कसरी समाधान गर्ने भनेर स्टेक होल्डरसँग छलफल गरिरहेको बताए ।
‘ऋण लगेपछि जसरी पनि तिर्नुपर्छ । बरु मिनाहा होइन, केही समय डिफर गर्न सकिन्छ’, उनले भने, ‘तर, तिर्नु चाहिं जसरी पनि पर्छ ।’
उनका अनुसार लघुवित्तहरुले बैंकहरुबाट साढे २ खर्ब लिएर ऋण प्रवाह गरेका छन् । ‘जुन तपाईं हामीले बैंकमा जम्मा गरेको ससानो पूँजी हो । छाक काटेर बचत गरेको पैसा ऋणीले फिर्ता नदिए बचतकर्ताले कसरी बचत फिर्ता पाउँछन् ?’, उनको प्रश्न थियो ।
यद्यपि असाध्यै गरिब र तिर्नै नसक्ने अवस्था भएकाहरुलाई भने ग्राहक सुरक्षा कोषबाट केही सहज बनाइदिन सक्ने कार्यकारी निर्देशक नेपालको भनाइ छ ।
‘ऋण तिर्न नसकेका ऋणीको व्यवसाय विस्तारमा सघाएर भए पनि लघुवित्तले त्यस्ता ऋणीको ऋण असुल्छ’, उनले भने ।
लघुवित्तको समस्याकै विषयमा बुधबार राष्ट्र बैंकले लघुवित्तका सरोकारवाला तथा ऋणीहरुलाई बोलाएर छलफल गरेको थियो । लघुवित्त सुधारका लागि उसले ८ बुँदे निर्देशनसमेत जारी गरेको छ ।
‘लघुवित्तका कारण सामाजिक भाइचारा खल्बलियो’
लघुवित्तविज्ञ डा. भरतसिंह थापा लघुउद्यम विकासका लागि खुलेका नेपालका लघुवित्तहरु बैंक जस्तै बनेको बताउँछन् । ‘बैंकले ऋण दिन्छ, असुल गर्छ । उसले ऋण असुलीको लागि ऋणीको सामाजिक पक्ष, पारिवारिक परिवेश, आर्थिक अवस्था, व्यक्तिगत तथा मनोवैज्ञानिक अवस्था केही हेर्दैन, मात्र पैसा हेर्छ’, उनले भने, ‘अहिले लघुवित्तमा पनि त्यस्तै प्रवृत्ति देखियो ।’
लघुवित्तका कारण सद्भाव, एकता, भाइचारा नै खल्बलिएको उनको जिकिर थियो । समाज यसरी खल्बलियो भने लघुवित्तको अहिलेको मोडलले काम नगर्ने उनको भनाइ छ ।
सामान्यतया लघुवित्त भनेको विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलालाई सदस्य बनाइ तिनीहरुबाट नियमित बचत संकलन गरेर सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विनाधितो लघुकर्जा प्रवाह गर्ने संस्था हो । आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरुको बचत संकलन गर्ने काम यसले गर्छ ।
२०५० सालपश्चात ग्रामीण बैंक बंगलादेशको अनुशरण गर्दै ४७ वित्तीय मध्यस्थताको कार्य गर्ने गैरसरकारी संस्थाहरु नेपाल राष्ट्र बैंकमा दर्ता गरी लघुवित्त कार्यक्रम सुरु भएको थियो । हाल नेपालमा ६४ लघुवित्त वित्तीय संस्था छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले पनि लघुवित्तको समस्याको विषयमा बोलेका थिए । बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्न र एउटा ऋणीले एउटामात्र संस्थाबाट ऋण लिन पाउने व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराए । राष्ट्र बैंकले निर्देशिकामार्फत एक व्यक्तिले एक लघुवित्तबाट मात्र ऋण लिन पाउने व्यवस्था बुधबार नै गरेको छ ।