नेपाली सेनाका उपरथीसहित तीन उच्च अधिकृतविरुद्ध सैनिक विद्रोहको आरोप


काठमाडौं । नेपाली सेनाले उपरथीसहित तीन उच्च अधिकृतविरुद्ध सैनिक विद्रोहको आरोप लगाएको छ ।
उपरथी प्रेम शाहीमाथि भएको कोर्ट अफ इन्क्वाइरीपछि थप दुई अधिकृतलाई पनि नियन्त्रणमा लिएर कोर्ट मार्सल भइरहेको छ । तीनै जनाविरुद्ध सैनिक विद्रोह गरेको आरोप लगाइएको छ । सैनिक कानूनअनुसार सैनिक विद्रोहलाई जघन्य कसुर मानिन्छ । तर उनीहरुले कस्तो किसिमको सैनिक विद्रोह गरेका थिए भन्नेबारे सेनाले केही बताएको छैन ।
यसअघि नेपाली सेनाको मुख्यालयले उपरथी शाहीलाई नियन्त्रणमा लिँदा उनीमाथि आर्थिक अनियमितता गरेको विषयमा छानबिन भइरहेको बताएको थियो ।
शाहीमाथिको कोर्ट अफ इन्क्वाइरीपछि प्राप्त प्रतिवेदनका आधारमा महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई पनि प्रतिवादी बनाउन सिफारिस भएको थियो । दुवैलाई सैनिक मुख्यालयमा उपस्थित गराउन फागुन १० गते लिखित निर्देशन भएको थियो ।
मानव अधिकार निर्देशनालयमा रहेका महासेनानी शाह र पूर्वी पृतना प्राड शाखामा रहेका प्रमुख सेनानी तिम्सिनालाई सैनिक मुख्यालयमा ल्याएर सैनिक हिरासतमा राखिएको छ । उनीहरु तीनै जनामाथि कोर्ट मार्सल भइरहेको छ । गत आइतबारदेखि सैनिक अदालतले काम सुरु गरेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
शाहीमाथिको अनुसन्धानमा शाह र तिम्सिना पनि जोडिएकाले उनिहरुसँग सैन्य अदालतले सोधपुछलगायत काम गरिरहेको उनले बताए ।
यसैबीच शाह र तिमसिनालाई गैहकानुनी तरिकाले हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ । न्यायाधिश हरिप्रसाद फुयाँलको एकल इजलासले वुधबार उक्त आदेश गरेको हो ।
यसअघि अवकाशमा जानुभन्दा १५ दिनअघिदेखि विदामा रहेका शाही अदालतको आदेश बोकेर लम्बिएको सेवामा फर्कन खोजेपछि सैनिक मुख्यालयले उनीमाथि छानबिन अगाडि बढाएको थियो । नेपाली सेनाको नेतृत्वसँगको टसलसँग यो प्रकरणलाई जोडेर हेरिएको छ ।