बज्यैले भाेगेकाे ‘जारी जीवन’ जब मिरुनाले पर्दामा उतारिन् (भिडिओ)
काठमाडौं । अभिनेत्री मिरुना मगरको आमाकी फुपूले दोस्रो विवाह गर्दा जारी तिर्नुपरेको थियो । अघिल्लो श्रीमानको तर्फबाट दुई जना बच्चा भइसकेको थियो । र पनि मिरुनाकी बज्यैलाई के सुर चल्यो वा केमा चित्त बुझेन, उनले श्रीमान्लाई छाडिदिइन् । अर्कै ठाउँ विवाह गरिन् । मिरुनालाई लाग्छ, सम्भवतः बज्यैलाई श्रीमान् चित्त बुझेको थिएन । अर्को ठाउँ विवाह गरिन् ।
खस–आर्य समुदायमा जारले नै अघिल्लो श्रीमान(साधु)लाई गाउँ पञ्चायतले तोकेबमोजिम जारी तिर्नुपर्थ्यो । तर, लिम्बू समुदायमा भने माइतीले नै जारी तिरिदिन्छन् । मिरुनाकी बज्यैको जारी पनि परिवारले तिरिदिए । अघिल्लो श्रीमानबाट छुटकारा पाइन् । नयाँ जीवन सुरु गरिन् । त्यतै सानदार सृष्टि चलाइन् । केही समयअघि संसार त्यागेर सदाका लागि गइन् ।
लेखक, निर्देशक उपेन्द्र सुब्बाले ‘जारी’ फिल्मको स्क्रिप्ट थमाइदिएपछि धरान पुगिन् मिरुना । पाँचथरमा हुने सुटका लागि केही दिनअघि नै काठमाडौंबाट धरान हिँडेकी थिइन् । आमा पनि बेलायतबाट आएकीले केही दिन धरान बसेर पाँचथर जाने योजनामा थिइन् । बज्यै धरानमै थिइन् ।
मिरुना बज्यै सम्झँदै सुनाउँछिन्, ‘मैले आमा र बज्यैलाई यस्तो कथामा काम गर्दैछु भनें । मैले स्क्रिप्ट पनि सुनाएँ । स्क्रिप्ट सुनेपछि बज्यै त आँसुआँसु हुनुभयो ।’
०००
अहिले तिनै बज्यैले वास्तविक जीवनमा भोगेको कथालाई काँचको पर्दामा टपक्क टिपेर आएकी छन् मिरुना । तर, बज्यैको पुस्ताले भोगेको समाज र चेतना अनि अहिले मिरुनाको पुस्ताले भोगेको समाज र चेतनामा धेरै बदलाव आइसकेको छ ।
मिरुनाको पुस्ताले जारी त तिर्दैन । तर, भयानक परिस्थितिको सामना गरिरहेको विभिन्न रिपोर्टहरुले देखाउँछ । चाहे त्यो विवाहको सवालमा होस् या सम्बन्धको सवालमा वा प्रेमको सवालमा, डरलाग्दो परिस्थिति छँदैछ । सँगसँगै आफ्नो निर्णय आफैंले गर्ने क्षमता पनि अहिलेको पुस्तामा भएको मिरुनाको भनाइ छ ।
उनी थप्छिन्, ‘अहिले हामी सेल्फ डिपेन्डेन्ट छौं । आफ्नो जीवनको निर्णय आफैंंले गर्न सक्छौं । तैपनि यसका केही जटिलताहरु अवश्य छन् । त्यसलाई न्यूनीकरण गर्दै जानु नै हाम्रो पुस्ताको विवेकपूर्ण निर्णय हुन्छ ।’
जारी तिर्नुपर्ने समयमा डिभोर्सको कानूनी प्रक्रिया थिएन । गाउँ पञ्चायत नै सबथोक थियो । आफ्नो रोजाइभन्दा परिवारको रोजाइले विशेष स्थान पाउँथ्यो । साथै सानै उमेरमा विवाह हुन्थ्यो । उमेर बढ्दै गएपछि अरु नै कोही मनर्पथ्यो । मान्छेहरु जारी तिर्थे, आफूलाई मन परेको लैजान्थे वा मन पराएको मान्छेसँग जान्थे ।
राज्यले २०३४ सालमा जारी प्रथा उन्मूलन गर्यो । नत्र त १९९० सालको मुलुकी ऐनले जार काट्नेसम्मको सुविधा दिएको थियो । कति त मनपरेको मान्छे लिएर जाँदा काटिए पनि । पछि मुलुकी ऐनको संशोधन भयो । जार काट्न नपाइने, जारी तिर्नुपर्ने ऐन आयो । यस्तो ऐतिहासिक विरासत बोकेको जारीप्रथामाथि बनेको फिल्म ‘जारी’ ५० को दशक वरिपरिको कथामा आधारित रहेको बताउँछिन् मिरुना ।
साढे चार दशकअघि उन्मूलन भइसकेको जारीमाथि बनेको सिनेमा हलमा आउँदै गर्दा अहिलेको पुस्तालाई कसरी कनेक्ट गर्ला ?
‘कथा र इतिहासको हिसाबले दर्शकलाई कनेक्ट गर्न सक्ला । अहिलेको पुस्तालाई हाम्रो कतिपय प्रचलनबारे थाहा नहुनसक्छ । तर, नवीन सुब्बाको ‘नुमाफुङ’बाट धेरैलाई ज्ञान भइसकेको भन्ने बुझेको छु । ‘जारी’मा प्रेमकथा छ, भावनात्मक कुरा छन् । इतिहास पनि छ’, आत्मविश्वासी देखिन्छिन् मिरुना, ‘अहिले जुन खालका सिनेमाहरु आइरहेका छन्, त्यसले दर्शकलाई चित्त बुझाउन नसकेको सुनिन्छ । अहिलेका दर्शक धेरै लिटेरेट हुनुहुन्छ । सिनेमा भनेको फाइट, लभस्टोरी अनि मनोरञ्जनमात्रै होइन भनेर उहाँहरुले प्रमाणित गरिसक्नुभएको छ । उहाँहरुले नेपाली समाजभित्रै रहेको कथा खोजिरहनुभएको छ । त्यसैको सिलसिला हो ‘जारी’ । यसले दर्शकलाई कनेक्ट गर्ने खुबी राख्छ ।’
०००
लिम्बू समुदायमा हिजो अस्तित्वमा रहेको जारी प्रचलनलाई महिलाले आफ्नो स्थान र हैसियत पाउने अवस्थाको रुपमा पनि लिन्छिन् मिरुना । महिलाले आफ्नो रोजाइको मान्छेसँग जान पाउने सुविधाको रुपमा पनि बुझ्छिन् ।
उनको भनाइ छ, ‘एकजना महिलाले विवाह गर्दा जार काट्ने चलन हुँदा पनि पुरुषलाई नै काटिने रहेछ । पछि जारी तिर्दा पनि पुरुषले नै तिर्नुपर्ने रहेछ । केटीको रोजाइ नै निर्णायक हुने रहेछ । झनै लिम्बू समुदायमा त महिलाको परिवारले नै जार तिर्छ । छोरीको रोजाइ भएपछि माइतीले तिर्नुपर्ने भन्ने रहेछ । अर्को गज्जबको कुरा के रहेछ भने महिलाले अर्को बिहे गरे पनि परिवारले उसलाई कन्या नै मान्दो रहेछ । यो त सम्मानित कुरा हो नि !’
पछि जारीप्रथा उन्मूलन भयो । यसको कारण भनेको कसैको रोजाइसँग सर्तहरु जोडिनु हुँदैन भनेरै हो कि भन्ने लाग्छ मिरुनालाई । कसैले केही छनोट गर्छ भने त्यो उसको अधिकारको कुरा भयो । त्यसमा जारी थप्दा स्वतन्त्रता साँघुरिँदै जाने भयो । कसैले कसैलाई रोज्नु भनेको अधिकारभित्र पर्यो । त्यसैले समाज चेतनाको हिसाबले विकसित हुँदै जाँदा जारी प्रथा उन्मूलन भयो कि लाग्छ उनलाई ।
०००
मिरुनाकी प्रायः आफन्त सबै लिम्बू छन् । उनकी आमा पनि लिम्बू नै हुन् । अहिले पनि लिम्बू समुदायसँग औधी अपनत्व महसुस गर्छिन् उनी । टिपिकल लिम्बू समुदायमा जुन खालको खुलापन छ र जुन तरिकाले खुला हृदयले मान्छेलाई स्वागत र सत्कार गर्छन्, त्यसले हुरुक्कै बनाउने बताउँछिन् ।
‘जारी’ फिल्म एकातर्फ लिम्बू संस्कृतिको मियोमा निर्माण भएको छ । अर्कातर्फ यसलाई व्यवसायिक तवरबाट पनि हेर्छिन् मिरुना । एउटा समुदायको कथा, संस्कृति, इतिहासलाई काँचको पर्दामा उतारिएको बताउँछिन् । त्यसैले ‘जारी’मा संस्कृति, समुदाय, प्रेम, इमोसन सबै छ, सँगै यसले व्यवसायिकता पनि बोकेको छ ।
मिरुनाले सुरुमा ‘लालपुर्जा’ गरिन् । यसपछि अन्य फिल्म हुँदै ‘कबड्डी’ सिरिजसम्म खेलिन् । सबै खालका कलाकारसँग सहकार्य गरिन् । मूलधारले स्टार भनिएका कलाकारसँग सिनेमा गरिन्, स्टार नभनेका कलाकारसँग पनि । थिएटरबाट आएका कलाकारसँग काम गरिन्, एकैपटक सिनेमामा आइपुगेका कलाकारसँग पनि । उनलाई लाग्छ, आफूले काम गर्दैगर्दा सधैं मूलधारका स्टारहरुसँग मात्रै काम गर्नुपर्छ भन्ने छैन । कलाकार हो, जे जस्तो काम आउँछ, त्यसका लागि सधैं तयारी अवस्थामा रहनुपर्छ । यस्तो दृष्टिकोण निर्माण हुनुमा संगतहरुले पनि ठूलो भूमिका खेलेको मिरुनाको बुझाइ छ ।
भन्छिन्, ‘मैले सुरुवातमै सौगात, विपीन दाइहरुसँग काम गरें, मेनुका प्रधान दिदीहरुसँग काम गरें । सबैको सामुन्ने काम गर्दा कलाप्रति सम्मान बढेर आयो । अनुप बराल दाइहरु पनि यो क्षेत्रमा प्यासनेट भएर काम गरिरहनुभएको छ । जोजोसँग काम गरें, सबै प्यासनले भरिपूर्णमात्रै भेटिनुभयो । त्यसले मलाई एकदमै प्रभावित पार्यो ।’
०००
भनिन्छ, राम्रो कथामाथि नेपालमा सिनेमा नै बन्दैन । हलुका कथाहरु टिपेर कमसल तरिकाले सिनेमा बनिरहेका छन् । तर, मिरुनालाई भने त्यस्तो लाग्दैन । कथाहरु आइरहेका छन् । आएका कतिपय कथाहरु कहिलेकाहीं चल्दैन ।
उनलाई लाग्छ, उसको पछाडिको कारण भनेको दृष्टिकोण नै हो । कति दर्शकले मनोरञ्जनका लागि मात्रै हेरिदिन्छन् । कतिले निर्देशक, कलाकार मन परेर हेरिदिन्छन् । कतिले मेकिङ शैली हेर्नलाई हेर्छन् । तर, नयाँ कथा, फरक शैली चलेन भन्दैमा हतोत्साही हुनुपर्ने चाहिँ देख्दिनन् । भन्छिन्, ‘आशावादी हुने ठाउँ प्रशस्त छन् । तर, दर्शकलाई नेपाली फिल्मलाई माया गरिदिनुस् चाहिँ भन्दिनँ । आफूले पैसा तिरिसकेपछि केका लागि फिल्म हेर्ने भन्ने नै हो । जे उद्देश्यका लागि टिकेट काटेर हेरिएको छ, त्यो त फिल्मले पूरा गरिदिनुपर्छ ।’
कथा ल्याउने सवालमा, कथासँगै संस्कृति र मौलिकता ल्याउने सवालमा नेपाली मेकरले खेपिरहने आरोप हो, ‘संस्कृतिको नाममा भद्दा मजाक भो । गहिरो विषयलाई पनि सतही रुपमा ल्याए ।’
कहिलेकाहीं मिरुनालाई पनि त्यस्तै महसुस हुन्छ । साथीभाइ बीचमा पनि कुराकानी गरिरहन्छिन् । भन्छिन्, ‘लिम्बू, मगर भाषाको टोनलाई कमेडीको रुपमा मात्रै काम गरिएको रहेछ । भाषा, संस्कृतिलाई जोकको हिसाबले मात्रै हेर्नुहुँदैन । ‘जारी’ले चाहिँ त्यस्तो गल्ती गरेको छैन । सम्मानका साथ संस्कृतिलाई बोकेको छ ।’