अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट – Nepal Press

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड विजेता भएको छ । चीनको चीन चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिष्पर्धामा नेपाली १० उत्पादक संस्थाले अवार्ड विजेता भएको बिहीवार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

बोर्डले नेपालमा उत्पादित १६ वटा चियाको नमूना परीक्षणमा पठाएकोमा १० प्रकारका चियाले विश्व गुणस्तरमा उच्च रहेको प्रमाणित भएको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले नेपालको चियाको चिनियाँ बजार राम्रो रहेको बताए । उनले बोर्डले नेपालमा उत्पादित चियाको बजार व्यवस्थापनको लागि पहल गरिरहेको बताए ।

उनले चीनमा नेपाली चियाको अनलाइन विज्ञापन शुरु भइसकेको बताए । भट्टराईले अवार्ड विजेता भएसँगै नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जाको रहेको र आर्थिक उन्नतिको लागि महत्वपूर्ण मानिने उल्लेख गरे । गत वर्षको तुलनामा नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा निर्यात ३६ प्रतिशतले बढेको छ ।

त्यस्तै,पर्ल गोल्डेन चियाका सञ्चालक रितुकान्त खनालले रासायनिक मल तथा विषादी प्रयोग विना अग्र्यानिक रुपमा चिया उत्पादन गर्नुको प्रतिफल गोल्डेन अवार्ड भएको बताए ।

विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरु चीन,भारत,केन्या,श्रीलंका जस्ता देशहरुसँग नेपाली चियाको प्रतिष्पर्धा गराइएको थियो । अवार्ड परिणामस्वरुप आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाकाको निर्यात व्यापार बढाउन सहज हुने विश्वास लिइएको छ ।

तीनजुरे चिया कृषक सहकारी संस्थाद्वारा उत्पादित पर्ल गोल्डेन चियाले गोल्डेन अवार्ड पाएको छ भने फार्मर चिया प्रशोधन उद्योगले उत्पादन गरेको एफ्टी हिमालयन गोल्डेन, साग्रिला गोल्डेन,जीटीई–गोल्डेन चिया, सिल्भर वीङ्गस, गोल्डेन टिप्स चियाले गोल्डेन मेडल अवार्ड विजेता भएका हुन् ।

त्यस्तै, नेपालका झापा, इलाम,पाँचथर,धनकुटा र तेह्रथुम जिल्लाहरुलाई चिया क्षेत्रको रुपमा २०३९ सालमा तत्कालिन राजा वीरेन्द्रले घोषणा गर्नुभएको थियो । आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्क अनुसार नेपालमा १६ हजार ९१७ हेक्टर क्षेत्रमा खेती भएर त्यसबाट २३,७४५ मेट्रिकटन उत्पादन भइरहेको छ ।

नेपालमा १७ हजार चिया कृषक र ६० हजार भन्दा बढी श्रमिक आवद्ध रहेको बोर्डले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा ३ खबए ७९ करोड ७१ लाख रुपैयाँ बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर