स्ववियु निर्वाचनकाे मुखमा दुई प्रमुख विद्यार्थी संगठनका नेतालाई खुलापत्र – Nepal Press

स्ववियु निर्वाचनकाे मुखमा दुई प्रमुख विद्यार्थी संगठनका नेतालाई खुलापत्र

प्रिय समिक बडाल र दुजाङ शेर्पाजी,

नेपालका दुई ठूला विद्यार्थी संगठनका नेतृत्वको जिम्मेवारी यहाँहरुको काँधमा आएको छ । सर्वप्रथमः यो जिम्मेवारीका लागि बधाई भनिरहँदा यहाँहरु दुवैलाई कार्यकालको समाप्तिमा पनि यसरी नै बधाई दिन पाइयोस् भन्ने कामना गर्न चाहन्छु । आज हजुरहरु दुवैजनासमक्ष अवसर र चुनौती दुवै उत्तिकै विद्यमान छन् । अवसर र चुनौती दुवैको एउटा स्वरूप संघारमा उभिएको छ- त्यो हो आसन्न स्ववियु चुनाव । यो चुनाव नेपालको लोकतान्त्रिक आन्दोलनमा सबैभन्दा ठूलो योगदान रहेको दुवै विद्यार्थी संगठनहरुलाई परीक्षाको घडी हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा जति गर्विलो इतिहास विद्यार्थी संगठनहरुको रहेको छ, उत्तिकै विकृत वर्तमान रहेको यथार्थलाई अहिलेको विद्यार्थी संगठनले स्वीकार्नुपर्छ । इतिहासमा गर्व गर्ने विद्यार्थी संगठनले आफ्नो निकट विगतलाई नियाल्न अत्यन्त जरुरी छ । २०६२/६३ को परिवर्तनपछि विद्यार्थी संगठनहरु चन्दा र दादागिरीमा मात्रै सीमित भए भन्ने आम बुझाइ र भोगाइ छ । यो बुझाइ र भोगाइ धेरै हदसम्म सत्य रहेको कुरा पछिल्लो डेढ दशकको अनुभवले देखाउँछ ।

हाम्रो पछिल्लो अनुभवले विद्यार्थी संगठनहरु राजनीतिक चिन्तन र विचारको संवाहकभन्दा पनि पार्टीको गुटको प्रतिनिधि र चन्दा असुलीको माध्यम बनेका छन् । पार्टीभित्रको एउटा फेरो समातेर नेताको कृपामा बाँच्ने अनि दादागिरी र चन्दाबाट कमाउने नियति भोगिरहेका यी संगठनहरुलाई नयाँ हुने स्ववियु निर्वाचन सँगसँगै नयाँ गति र जीवन्तता दिने दायित्व तपाईंहरु दुई जनाको काँधमा आइपुगेको छ ।

आजको अवस्थामा समिकजीलाई दुजाङजी भन्दा अलिक सहज परिस्थिति छ । समिकजी हालैमात्र सम्पन्न भएको अखिल महाधिवेशनबाट निर्वाचित भएर आउनुभएको छ । निर्वाचित हुनु र पुरस्कृत हुनुमा फरकमात्र नभई आत्मविश्वासको पनि ठूलै अन्तर आउँछ । निर्वाचित हुँदा प्राप्त हुने आत्मविश्वाससँगै दायित्व पनि सोहीअनुरुपको हुन्छ । आवधिक निर्वाचनमार्फत आफ्नो पार्टीको सर्वाेच्च नेतृत्वमा पुग्न सफल हुनुभएका समिकजीले अब आउने स्ववियु निर्वाचनमा पनि कुशल नेतृत्व क्षमता प्रदर्शन गर्दै नेपालभर नै एकैपटक शान्तिपूर्ण निर्वाचन गर्न गराउन प्रमुख भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । यसो भनिरहँदा नेविसंघ नेता दुजाङजीको भूमिका कतै सानो छैन र हुनु पनि हुन्न । आसन्न निर्वाचनलाई एकै पटक र शान्तिपूर्ण गर्नु गराउनु उहाँको भूमिका उत्तिकै महत्वपूर्ण र आवश्यक छ ।

पार्टीभित्रको एउटा फेरो समातेर नेताको कृपामा बाँच्ने अनि दादागिरी र चन्दाबाट कमाउने नियति भोगिरहेका यी संगठनहरुलाई नयाँ हुने स्ववियु निर्वाचन सँगसँगै नयाँ गति र जीवन्तता दिने दायित्व तपाईंहरु दुई जनाको काँधमा आइपुगेको छ ।

अखिल र नेविसंघको नेतृत्वले आजको दिन बुझ्न जरुरी पाटो छ त्यो के हो भने हिजोका उहाँहरुको नेतृत्वले प्राप्त गरेको सुविधा आज उहाँहरुलाई छैन । आज दुवैका माउ पार्टीमा विद्यार्थी राजनीतिका हिजोका नेतृत्वकर्ता नै मूल नेतृत्वको रूपमा क्रमशः स्थापित हुँदै गइरहेका छन् । आज मूल राजनीतिमा स्थापित हुँदै गरेका विद्यार्थी नेताहरुसँग विगतको गौरवशाली इतिहासको विरासत छ । यो देशको लोकतान्त्रिक यात्राको क्रममा गरेको बलिदानको गाथा छ । त्याग र समर्पणको इतिहास हुँदाहुँदै पनि पछिल्लो मत परिणामले दुवै दलप्रति वितृष्णा बढ्दै गएको देखिन्छ ।

तसर्थ आज स्थापित हुँदै गरेको विद्यार्थी नेतृत्वसँग अब लोकतन्त्रको संघर्षको कथा र गाथा हुन्न । अबको दिनमा व्यवस्था परिवर्तनमा भूमिकाको गर्व गर्ने ठाउँ रहन्न । किनकि हामीले आजको दिनमा लोकतन्त्रको उच्चतम शासकीय व्यवस्था अंगीकार गरेका छौं । अबको प्रश्न भनेकै व्यवस्था परिवर्तनको उपलब्धि के हो र के हुनेछ भन्ने हो ? यसको जवाफ तयार गर्न अबको विद्यार्थी राजनीति तयार हुनुपर्छ । पछिल्लो दशकमा हाम्रो लोकतान्त्रिक अभ्यास बलियोमात्र नभई सुसंस्कृत हुँदै गएको छ । मूल राजनीतिक दलहरु ठूलै राजनीतिक मुद्दाहरुमा समेत शान्तिपूर्ण र कानूनसम्मत समाधान खोज्ने दिशातर्फ अग्रसर हुनु सकारात्मकमात्र नभई भोलिको नेतृत्वलाई गरेको दिशानिर्देशन पनि हो । यो सत्यलाई आत्मसात गर्दै दुवै नेताज्यूहरुले आसन्न स्ववियु चुनाव समयमै सक्ने र शान्तिपूर्ण तरिकाले सक्ने वातावरण बनाउन जरुरी छ ।

आज मध्यम वर्गीय युवाहरुको राजनीतिप्रतिको वितृष्णालाई आकर्षणमा बदल्ने जिम्मेवारी दुई प्रमुख संगठनका नेतृत्वकर्ताका रुपमा तपाईंहरुको हो । राजनीति विचार र दर्शनले मात्र निर्दिष्ट हुन्छ भन्ने भाष्यबाट मुक्त भई व्यवहारवादी राजनीतितर्फ विद्यार्थी आन्दोलनलाई डोर्‍याउन आवश्यक छ । र, सिर्जनशील र कुशल राजनीतिक संस्कारले युवा जमातलाई राजनीतिसँग जोड्नु अत्यन्त जरुरी छ । युवा जमात राजनीतिबाट विमुख हुँदै गएको अवस्था समग्र समाज र राष्ट्र दुवैको लागि खतराको घन्टी हो । राजनीति विचारनिष्ठ र सिद्धान्तपरक हुनुपर्छ । तर, आजको विडम्बना भनेकै निर्दिष्ट राजनीतिक उद्देश्य र मार्गदर्शन भएका दलहरुको नेतृत्वमा विचार र सिद्धान्तअनुसारको आचरण र व्यवहार नदेखिनु नै हो । यो खाडल पुर्दै देश र जनताको लागि वस्तुनिष्ठ राजनीति गर्नु गराउनु हजुरहरुको उत्तरदायित्व हो ।

विद्यार्थी राजनीति मूल राजनीतिको स्रोत हो । आज पर्यन्त अब धुमिल खोलो लगेर राजनीतिको जलप्रवाहमा मिसाउने छुट हुन्न अखिल र नेविसंघलाई । धुमिल राजनीतिक पानीलाई सङ्लाएर नेतृत्वको मूल प्रवाहमा मिसाउने जिम्मेवारी मुख्य नेतृत्वका रुपमा तपाईंहरु दुई जनाको हो । आज विश्वविद्यालय र कलेजहरुको दुरावस्था देख्दा आँशु आउने अवस्था छ । अहिलेको मूल राजनीतिमात्र नभई देशको धेरै लब्ध प्रतिष्ठित स्थानमा आफ्ना पूर्वविद्यार्थीहरु पुगेको हेरिरहँदा त्रिचन्द्र क्याम्पस र अस्कलले जीर्णाेद्धार कुरेको मर्मस्पर्शी दृश्यले अबको स्ववियु नेतृत्वलाई छुनुपर्छ न कि सीमित राजनीतिक उद्देश्य र स्वार्थले मात्रै निर्दिष्ट गर्ने !

आज मध्यम वर्गीय युवाहरुको राजनीतिप्रतिको वितृष्णालाई आकर्षणमा बदल्ने जिम्मेवारी दुई प्रमुख संगठनका नेतृत्वकर्ताका रुपमा तपाईंहरुको हो । राजनीति विचार र दर्शनले मात्र निर्दिष्ट हुन्छ भन्ने भाष्यबाट मुक्त भई व्यवहारवादी राजनीतितर्फ विद्यार्थी आन्दोलनलाई डोर्‍याउन आवश्यक छ ।

आज आमजनताका छोराछोरी पढ्ने गौरवपूर्ण इतिहास बोकेका सार्वजनिक क्याम्पस केवल राजनीति र गुण्डागर्दीको थलोमा परिणत हुँदै गइरहेको नमीठो अनुभवबीच तपाईं हाम्रो अबको उद्देश्य ती संस्थाहरुको विगतको साख फर्काउने हो । विद्यार्थीको मूल मर्म र उद्देश्य पूर्ति हुने गरी हाम्रो विश्वविद्यालयलाई विश्व परिवेशमा प्रतिस्पर्धी बनाउनु आजको आवश्यकतामात्र होइन, राष्ट्र र समाजप्रति पूरा गर्नुपर्ने अहं र अनिवार्य दायित्व हो ।

पछिल्लो अनेरास्ववियुको महाधिवेशनले केही सुखद पक्षको उजागर गरेको छ । महाधिवेशनले केन्द्रीय समितिमा उच्च प्राविधिक शिक्षा हासिल गरिरहेका मित्रहरु विजयी भएका छन् । यो सुखद सुरुवातलाई दुवै विद्यार्थी संगठनले अबको राजनीतिको प्रस्थान विन्दु बनाउनुपर्छ । ‘राजनीतिलाई पेशा मान्ने संस्कार’बाट समाजलाई मुक्ति दिलाउन कम्तिमा पनि आफूलाई आर्थिक रूपमा स्वतन्त्र बनाउन सक्ने युवा जमातलाई राजनीतितर्फ अग्रसर हुन प्रेरित गर्न जरुरी छ ।

शिक्षामा अब्बल र भोलिको उज्यालो सम्भावना बोकेका विद्यार्थीहरुलाई नेतृत्वमा लैजान पहलकदमी लिन अत्यावश्यक भइसकेको छ । राजनीतिमा लाग्दा थोरै आवश्यक भएका तर उच्च कोटीको ज्ञान कौशल र तीक्ष्णता भएका युवा नेताहरुलाई अगाडि बढाउँदामात्रै भोलिको सुनौलो भविष्यको आशा गर्न सकिन्छ । तसर्थ, विगतमा जस्तो मसल र मनि पावरको बलमा अगाडि आउने प्रवृत्तिलाई रोकेर आफ्नो शिक्षामा अब्बल, सिर्जनशील र नेतृत्व क्षमताले निपूर्ण विद्यार्थी साथीहरु खोज्ने उत्तरदायित्व हजुरहरु दुई जनाको काँधमा रहेको छ । मलाई पूर्ण विश्वास छ, हजुरहरु दुवैले यो समाज र राष्ट्रलाई आशाको किरण छर्नुहुनेछ ।

(लेखक डा. खत्री नेपाल मेडिकल काउन्सिलका सदस्य हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *