`ओली बा´ को साहित्य सानिध्यता
‘यहीका डाँडाहरुमा
सतीदेवीलाई काँधमा बोकेर
शोकमग्न शिवजी
भौतारिएका थिए
यही चन्द्रागिरी हुँदै
बत्तीस सय वर्ष पहिले
गोपालीहरु
उपत्यका पसेका थिए ।’
कवितामा इतिहास छ, किंवदन्ती छ र तथ्य छ । साहित्यमा प्रेम, भावना, कल्पना, कारुणिकता जस्ता भावहरु हुन्छन् भन्ने मान्यतालाई यो कविताले खण्डित गरिदिएको छ । कवितामा किंवदन्ती, पौराणिकता, इतिहास र तथ्य पनि हुन्छ, हुनुपर्छ । यही मान्यतालाई स्थापित गर्न पूर्वप्रधानमन्त्री, सक्रिय राजनीतिज्ञ केपी शर्मा ओलीले लेखेकोे कविता हो यो ।
पौराणिक इतिहासको तथ्यलाई केपी शर्मा ओलीले यसरी पनि व्याख्या गरेका छन्-
‘म यही खर्पनमा हालेर हरदिन बेलुका
बितेको थोत्रो मैलो दिनलाई बिदा गर्छु
म यही खर्पन थापेर हरदिन बिहानै आउने
नयाँ सुकोमल दिनलाई स्वागत गर्छु ।’
विगत र आगतको साक्षी बनेर उभिएको समकालीन उचाइमा महादेवको प्रतिमूर्ति रहरलाग्दो अग्ला मृग बनेका राजनीतिज्ञ हुन् केपी शर्मा ओली । एउटा विचित्रको स्वभावका धनी उनै ओलीले सायद अँध्यारो कोठरीको ध्वाँसे प्वालबाट काठमाडौंको उर्बर गराहरुमा खर्पन भिरेर हरसाँझ गन्तव्य पहिल्याउँदै गरेका र हरबिहानी भविष्य पहिल्याउँदै गरेका मेहनती किसानलाई चिहाएर कविता कोरिरहेका थिए ।
र भनेका थिए-
‘यो खर्पन मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ
तर खर्पन बाटो पनि हो जसमा जिन्दगी हरदिन गुज्रिन्छ
यो मेरो बिहान हो, मेरो दिन हो, बेलुका पनि हो
मेरो बाल्यकाल हो खर्पन, जवानी हो र बुढौली पनि हो ।’
कवि, साहित्यकार अव्यवस्थित र लापरबाह हुन्छन् भन्ने कहावत पनि सुनिन्छ । त्यसो हैन भन्न जवाफ फर्काइरहनु पर्दैन, अब्बल र अविश्राम राजनेता केपी शर्मा ओलीको तथ्य परिवेशका सत्य शब्द संयोजनसहित बगेका हरेक शब्द, वाक्य र परिच्छेदका भावना नै काफी हुन्छन् ।
उनी कविताको प्रत्येक अक्षरमा समाज कोरिरहेका हुन्छन् । कविताको प्रत्येक शब्दमा समाज पढिरहेका हुन्छन् । कविताको प्रत्येक वाक्यमा समाज हेरिरहेका हुन्छन् र कविताको प्रत्येक अनुच्छेदमा समाज बुझिरहेका हुन्छन् ।
समय कहाँ हुन्छ र मानिससँग । त्यसमाथि सक्रिय राजनेताको समय आफैंमा एउटा परिवेश बनिरहेको हुन्छ । तर, केपी शर्मा ओलीको परिवेश समय हुने हैन, समय निकाल्ने विश्वासबाट अघि बढेको छ । त्यसैले त समयको प्रत्येक परिवेश नियन्त्रित लाग्दछ केपी शर्मा ओलीलाई । उनी कविताको प्रत्येक अक्षरमा समाज कोरिरहेका हुन्छन् । कविताको प्रत्येक शब्दमा समाज पढिरहेका हुन्छन् । कविताको प्रत्येक वाक्यमा समाज हेरिरहेका हुन्छन् र कविताको प्रत्येक अनुच्छेदमा समाज बुझिरहेका हुन्छन् ।
अरु नेताहरुले साहित्यलाई कसरी बुझे थाहा छैन, केपी शर्मा ओलीले साहित्यलाई समयको खुला तर आँडिलो पटाङ्गिनी बनाएका छन् । उनी समयको त्यही साहित्यिक पटाङ्गिनीमा अन्तरआत्माको सत्य पस्किरहेका हुन्छन् किंवदन्ती, पौराणिकता, इतिहास र तथ्यको रङ्ग पोतेर ।
अनौठो लाग्छ उनको स्वभाव । राजनीतिलाई जाल, झेल र तिकडमको प्रयोग विम्ब बुझेका केपी शर्मा ओली यसैको चक्रब्यूहमा जकडिएर पनि सहजै साहित्यको पटाङ्गिनीमा शब्दको फुर्मास र समयको बचत गरिरहेका हुन्छन् ।
उनलाई न मृत्युको भय छ न त राजनीतिको प्रेसर । २०७९ फागुन ११ गतेको बिहानी राजनीतिक रुपमा केपी शर्मा ओलीको परीक्षणको समय बनेर आएको थियो । उनी त्यो परीक्षणमा हार्ने निश्चित थियो । तर, उनको त्यो दिनको खुशीमा परीक्षणको त्यो समयले अलिकति पनि मथिङ्गल खलबलाउन सकेन । ९० कटेका आफ्नो पिताजी मोहनप्रसादसँग केक साटेर आफ्नो ७२औं जन्मदिन मनाउन अभ्यस्त केपी शर्मा ओलीले आम साहित्यकारलाई लेखनको ताजा र अनौठो टनिक दिए त्यस दिन । फागुन १२ गते उनी हारेका छन् राजनीतिको तिकडमसँग । तर, जितेका छन् समयसँग साहित्यको खुशी-
‘परिर्वतनशील दुनियाँमा सधैं बाँचेको को छ र
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।’
जीवनसँग वेपर्वाह केपी शर्मा ओली मृत्युसँग पटक्कै डराउँदैनन् । उनको अभिष्ट यतिमात्र छ, उनी मरेपछि पनि सपना देख्न चाहन्छन् विकास र समृद्धिको, संस्कार र संस्कृतिको, कला र किंवदन्तीको । चण्डाल मृत्यु यमराजको आदेश र चित्रगुप्तको लेखनीलाई लत्याउँदै केपी शर्मा ओलीको जीवनसँग पटक-पटक सम्झौता गर्छन् । किनभने मृत्युलाई न जीवनको आश छ न त समाधिको त्रास । केपी शर्मा ओलीको साहित्यिक पटाङ्गिनीमा शब्दको सप्तरङ्गी होलीसँग लतपतिँदै गर्दा मृत्युले मृत्यु नै भुलेको छ ।
उनको अभिष्ट यतिमात्र छ, उनी मरेपछि पनि सपना देख्न चाहन्छन् विकास र समृद्धिको, संस्कार र संस्कृतिको, कला र किंवदन्तीको । चण्डाल मृत्यु यमराजको आदेश र चित्रगुप्तको लेखनीलाई लत्याउँदै केपी शर्मा ओलीको जीवनसँग पटक-पटक सम्झौता गर्छन् ।
कोक्रोमा हल्लिँदै गर्दा सर्पको त्राससँग मुस्कुराउँदै पहिलो पटक मृत्यु जितेका केपी शर्मा ओलीले हेलिकप्टरमा उडिरहँदा पाँच हजार फिटमाथिबाट एक्कासि खसेर झण्डै ११ सेकेण्ड मृत्युसँग स्पर्श गरिरहे । एपेन्डिसाइटिसले सुटुक्क कक्राएको समयमा मृत्यु नजिक पुगेका उनलाई राजनीतिक युद्धको क्रममा कारागार सार्ने बहाना बनाइ फेरि एकपटक मृत्युसँग साक्षात्कार गराउन खोज्दा एक जना प्रहरी अधिकृत रक्षाकवच बनिदिए । पछिल्लो समय दुई पटक मृगौला प्रत्यारोपण गर्दासमेत सायद मृत्यु उनको वरिपरि झुत्तिरहेको थियो कि !
मृत्युलाई जित्ने केपी शर्मा ओलीको संयोग नियति हैन आत्मबलको नियमितता हो । नत्र एउटै कुरामा पटक-पटक संयोग नियति टुप्लुक-टुप्लुक पुग्ने जादुमयी ताविज उनको शरीरमा पक्कै थिएन ।
केपी शर्मा ओलीले कतै भनेका छन्- म मृत्युबारेमा खासै धेरै सोच्दिनँ । किनकि मर्नलाई कुनै योजना बनाउनु पर्दैन । मर्नु भनेको अन्धकारले छोप्नु जस्तै हो । मर्नु अज्ञानता जस्तै हो, अज्ञानी हुन कुनै मेहनत गर्नु पर्दैन । ज्ञानी हुनुलाई पो मेहनत गर्नुपर्छ । मृत्युले कहिले नजिकैबाट झम्टिएको भान दिन्छ । तर, त्यसले जितिसकेको हुँदैन ।
सत्य यही हो, केपी शर्मा ओलीलाई मृत्युले कहिले नजिकैबाट झम्टिएको भान दिइरहेको हुन्छ । तर, त्यसले जितिसकेको हुँदैन । उनी हरेक पटक मरेर पनि बाँचिरहेका छन् । साहित्यमा शब्दका तीर चढाउँदै खुला र आँडिलो पटाङ्गिनीमा ढेप्सिएर तिकडमका चक्रब्यूह तोड्न अक्षर–अक्षर जोडिएको तिखा र धारिला शब्द बाणको राजनीति खेल्न ।
हैन भने मध्यरातमा राजधानीको चकमन्नतालाई तोडेर एलओडीको साङ्गीतिक रसरङ्गमा हराउँदै राजनीतिक विश्राम लिने नेता को होला ? टेबलटेनिसको मसिनो तोड र फुटबलको भारी प्रहारमा लय मिलाउने नेता को होला ? सारङ्गीमा औलाका दौड गराएर कम्मर मर्काउँदै सङ्गीतलाई साथ दिने नेता को होला ?
केपी शर्मा ओलीलाई मृत्युले कहिले नजिकैबाट झम्टिएको भान दिइरहेको हुन्छ । तर, त्यसले जितिसकेको हुँदैन । उनी हरेक पटक मरेर पनि बाँचिरहेका छन् ।
केपी शर्मा ओलीको सर्मथकमात्र हैन कडा आलोचक पनि छन् धेरै । आलोचकमध्येकै एक जनाले भन्दै थिए- केपी शर्मा ओली अहिले ३० वर्ष जतिको हुनुपर्ने थियो ! मैले आश्चर्य मानेर सोधें किन र ? तपाईं त उहाँको कडा आलोचक हैन ? उनको सहज तर सत्य जवाफ आयो- समकालीन राजनीतिज्ञमा केपी शर्मा ओली जति सक्रिय, रचनात्मक र दूरदर्शी नेता को छ र नेपालमा ! उनको उमेर जति लम्बियो सत्य र साहसको अन्य सम्झिएर नेपालीको मन प्रत्येक पल कुँडिनेछ ।
हो त, खुला आकाशमा चकमन्न अन्धकारबीच हरेक रात चम्किरहने त्यही तारा बनेका छन् केपी शर्मा ओली । समुन्द्रको कैयन छालहरुसँग लाप्पा खेल्दै तिखारिएर उज्यालिएको मोती बनेका छन् केपी शर्मा ओली । खर्पनलाई साथी बनाएर किसानको मनमस्तिष्कमा रमाइरहेका केपी शर्मा ओलीले त्यसै भनेका हैनन्-
‘मेरो जीवनको दियो जलाउने बाती हो खर्पन
मेरो जीवनको सबभन्दा लामो साथी हो खर्पन
मान्छेहरुसँगको मेरो जी हजुर, तँ तँ म म सबै सम्बन्धहरु हो खर्पन
मेरो घर, मेरो घाट, मेरो बजार, मेरो हाट जे भने पनि हुन्छ खर्पन ।’
कविताको प्रत्येक अक्षर र शब्दसँग तनाव र पीडा पोख्दै विचार र व्यवहारमा राष्ट्रियता उभिने केपी शर्मा ओलीको भावनालाई सलाम ! मृत्युको सत्यलाई विचारको उपयोगमा तथ्य अङ्गाल्ने केपी शर्मा ओलीको कठोरतालाई सलाम !! आक्रोशको आगोलाई कोमलताको साहित्यमा पगाल्ने केपी शर्मा ओलीको साहसलाई सलाम !!!