जब माइतीघरको धर्नाअगाडि बालेनको गाडी रोकियो (भिडिओ) – Nepal Press

जब माइतीघरको धर्नाअगाडि बालेनको गाडी रोकियो (भिडिओ)

बालेनको अपरिपक्वताले प्रहरी र नगरप्रहरीबीच तनाव

काठमाडौं । काठमाडौंमा हुने विभिन्नथरिका आन्दोलनको केन्द्रविन्दु बन्दै आएको स्थान हो, माइतीघर मण्डला । यहाँ दिनहुँजसो कुनै न कुनै समूहले विभिन्न नाममा प्रदर्शन गरिरहेको हुन्छ र यातायातमा अवरोध पुगिराख्छ ।

गत शुक्रबार पनि यही सदाबहार दृष्य दोहोरिएको थियो । प्रदेश १ लाई कोशी नामाकरण गरिएको विरोधमा केही व्यक्तिहरू प्रदर्शनमा उत्रेका थिए । सधैँजस्तो प्रहरीले आन्दोलनस्थलबाट सवारीसाधनहरू डाइभर्ट गर्न ब्यारिगेट बनाएर बसेको थियो ।

बिहान करिब ११ बजेतिर एउटा गाडी प्रहरीको ब्यारिगेट नजिक रोकियो । गाडीबाट दाह्री र चश्मासहित एक चिरपरिचित अनुहार आक्रोशित भावमा बाहिर निस्किए । उनी थिए, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह । बालेनसँगै उनका पीए पनि बाहिर आए ।

घटनास्थलमा रहेका एक प्रहरीका अनुसार साहले सरासर आएर जंगिँदै प्रहरी ब्यारिगेटमा लात्ती हाने । उनका पीएसओले चाहीँ सुरक्षा कमाण्ड गरिरहेका प्रहरीसँग त्यो स्थान खाली गराएर यातायात सूचारु गर्न आग्रह गरे । तर, प्रहरीले मानेन । यहाँ आन्दोलन रोक्ने अनुमति नभएको बताएपछि बालेन र पीएसओ दुवै गाडीमा चढे । गाडी त्यहाँबाट ब्याक भयो र अर्को बाटोबाट हुइँकियो ।

त्यसको करिब एक डेढ घन्टापछि महानगरपालिकाअन्तर्गतको नगर प्रहरीको गाडी त्यहाँ आइपुग्यो । नगरप्रहरीहरू गाडीबाट ओर्लेर आन्दोलनमा हस्तक्षेप गर्न थाले । उनीहरुले आन्दोलनकारीका ब्यानर खोसे । प्रहरी हुँदाहुँदै क्षेत्राधिकार बाहिर गएर नगर प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेपछि तनाव उत्पन्न भएको थियो । प्रहरी र नगरप्रहरीबीच नै मुठभेडको खतरा उब्जियो । त्यहाँ कमाण्ड गरिरहेका प्रहरी अधिकृतले माथिल्लो निकायमा सम्पर्क गरे । माथिबाट ‘जो भए पनि पक्राउ गर्ने’ आदेश प्राप्त भयो ।

त्यसपछि केहीबेर प्रहरी र नगर प्रहरीहरूबीच चर्काचर्की भएको हामीलाई प्राप्त भिडिओ फुटेजमा देखिएको छ । प्रहरीले पक्राउ गरेर लैजान चेतावनी दिएपछि नगरप्रहरी हच्किए र आफ्नो बाटो लागे । उनीहरू घटनास्थलबाट निस्किएर हुरुरु महानगरको गुडिरहेको गाडीमा चढेका थिए ।

यस विषयमा एक सुरक्षा अधिकृतले बालेनको शैलीप्रति आलोचना गरेका छन् ।

‘यहाँ दिनहुँ हुने आन्दोलनले यातायात अवरोध पुगिरहेको सत्य हो । यसलाई दिर्घकालीनरूपमा हटाउने हो भने महानगरले गृहमन्त्रालय र नेपाल प्रहरीसँग नै समन्वय गर्नुपर्ने हुन्छ । तर, उहाँले अस्वाभाविक व्यवहार देखाउनुभयो । प्रहरीले सुरक्षा दिइरहेको स्थानमा नगर प्रहरी पठाएर ‘टसल’ निम्त्याउनु मुर्खतापूर्ण हो,’ ती अधिकृतले भने ।


प्रतिक्रिया

3 thoughts on “जब माइतीघरको धर्नाअगाडि बालेनको गाडी रोकियो (भिडिओ)

  1. आन्दोलन गर्न बनाएको ठाउँ हो र त्यो😡😡 ।। जहिले पनी एउटा न एउटाले आन्दोलन गरेको छ, जाम बनाएको छ । शैली गलत भयो होला तर बालेन सहि छन् । कहिले काहीँ त एक दुईजना बसेर आन्दोलन गर्ने अनि 50 देखि 100 प्रहरीले सुरक्षा दिने अबस्था समेत देखिने गरेको छ । जनताको करबाट तलब खानेहरुलाई तमासामा घाम ताप्न पठाएको भान हुन्छ । राज्य त आन्धो छ नै सुरक्षा संयन्त्र पनि निर्लज्ज रुपमा प्रस्तुत भएको छ । आन्दोलन गर्न कि त सिंहदरबार भित्र ठाउँ देउ कि रिङरोड बाहिरको खाली ठाउँ दिएर आन्दोलन गर्ने स्थल किटान गरिदेउ । दैनिक हजारौं सवारी साधन हिड्नुपर्ने बाटोमा सधैं के को तमासा ।

  2. बालेन अपरिपक्व राजनैतिक ब्यक्ति हुन ।उनि आफ्नो अगाडि मात्रै देख्छन !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर